१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

यसरी सुरक्षित बनाऔं वैदेशिक रोजगारीलाई

नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले अहिलेको नेपालको वैदेशिक रोजगारी सन्दर्भलाई आफ्नो विगतसँग जोडेर एउटा लेख हालै नागरिकमा लेखेका छन्। नेपाली परिवार अहिले वैदेशिक रोजगारीमा रहँदा पिता, पति वा अन्य व्यक्तिसँग टाढा हुनुपर्ने नमिठो अवस्थाको चित्रण उनले गरेका छन्।

आज कोरिया विकसित मुलुकमा अनुदित भइसकेको छ। वैदेशिक रोजगारीमा गइरहेका परिवारका सदस्यले कहिले राजदूत पार्कले जस्तै विगत अनुभवलाई सम्झिँदै लेख्न सक्लान्? वैदेशिक रोजगारीमा गएका वा जान चाहनेले पाइरहेको दुःख भने अझै अकल्पनीय छ। त्यो दुःख कम गर्न यसलाई व्यवस्थित पार्नु आवश्यक छ।

देशमा रोजगारीका अवसर नभएपछि दैनिक हजारौं युवा वैदेशिक रोजगारीका लागि जान बाध्य छन्। देशकै मेरुदण्ड मानिने युवाशक्ति दिन प्रतिदिन विदेश जानु विडम्बनापूर्ण अवस्था हो।

केहीका लागि वैदेशिक रोजगार रहरको विषय भए तापनि अधिकांशका लागि यो बाध्यता बन्न पुगेको छ। बाध्यतावश चर्को व्याजमा ऋण लिएर विदेश जान चाहेका र जानु परेका युवा वैदेशिक रोजगारी र श्रम स्वीकृतिको प्रक्रिया थाहा नहुँदा ठगिएका र दुःख पाएका छन्। वैदेशिक रोजगारीमा महिला पनि पुरुषसरह जाने गरेका छन्। वैदेशिक रोजगारीले स्वदेशको अर्थतन्त्रमा ठुलो योगदान दिए पनि यसका थुप्रै समस्या छन्। समस्या समाधानमा सरकारलगायत सरोकारवालाको पहल पुगेको छैन। वैदेशिक रोजगारी तत्कालका लागि उपयुक्त देखिए पनि दीर्घकालका लागि यो उपयुक्त र सकारात्मक नभएको विज्ञहरू बताउँछन्।

वैदेशिक रोजगारीमा समस्या परेपछि उद्धार र सहयोगका लागि हारगुहार आउनुपूर्व नै वैदेशिक रोजगारी र श्रम स्वीकृतिबारे जनचेतना जगाएमा वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित हुन्छ। वैदेशिक रोजगारीको अवस्था, श्रम स्वीकृति प्रक्रिया, यसमा सुधार तथा विदेश जानुपूर्व, गइसकेपछि र फर्केपछि थाहा पाउनुपर्ने विषयहरू धेरै छन्। अवैधानिक रूपमा वैदेशिक रोजगारी रोक्न सरकारले जतिसुकै नीति बनाए पनि ती व्यावहारिक रूपमा प्रयोगमा नआउँदा समस्या पर्ने गरेको पीडितहरूको गुनासो छ।

अहिलेका युवापुस्तामा वैदेशिक रोजगारीको आकर्षण बढ्दो छ। यसमा जति आकर्षण छ, त्यति नै जोखिम पनि रहेको छ। विदेशमा जाने कामदारमध्ये ७० प्रतिशतले जोखिमपूर्ण काम गरिरहेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेती बताउँछन्।

वैदेशिक रोजगारीका क्रममा केही बुझ्ने नेपाली पनि ठगीमा पर्छन् भने केही बुझ्दै नबुझेका कारण ठगीमा पर्ने गरेको उनको अनुभव छ।

‘विदेश पठाउने म्यानपावर कम्पनी पनि आधिकारिक छन् कि छैनन् भन्नेबारे बुझेर मात्र रोजगारीमा जान सकिन्छ,’ उनले भने, ‘कुनै म्यानपावर शंकास्पद लागेमा वैदेशिक रोजगार विभागमा सम्पर्क गर्न सकिन्छ। कतिपय म्यानपावर इजाजत पाएर पनि कारबाहीमा परेका हुन सक्छन्। रोक्का भएका म्यानपावरबाट वैदेशिक रोजगारीमा जानुहुँदैन। कुनै म्यानपावर खारेजीमा पनि परेका हुन सक्छन्। यस्तो सामान्य जानकारी युवावर्गमा हुनु जरुरी छ।’

सूचना अधिकारी उप्रेतीका अनुसार वैदेशिक रोजगारीमा जानेले आफ्नो पासपोर्टको मिति, भिसा लागे नलागेको र श्रम स्वीकृति भए नभएको हेर्नुपर्छ। व्यक्तिगत र संस्थागत गरी दुई किसिमका श्रम अनुमति जारी हुन्छन्। पहिलेको श्रम स्वीकृति म्याद नाघेको वा नयाँ देश वा कम्पनीमा वैदेशिक रोजगारमा पुनः जाँदा अनिवार्य रूपले नवीकरण गराउनुपर्छ। करार अवधि सकिएपछि पनि स्वीकृतिबिना गैरकानुनी तरिकाबाट भिसाको म्यादभन्दा बढी समय विदेशमा बस्न नहुने उनले जानकारी गराए।

‘म्याद सकिएपछि कुनै देशमा बसिएको छ भने त्यहाँको कानुनअनुसार कारबाही भोग्नुपर्ने हुन्छ। हरेक कामदारले आफ्नो राहदानीको म्याद समयमै नवीकरण गर्नुपर्छ। रोजगारीमा जानुअघि श्रम स्वीकृति लिनुपर्छ। श्रम स्वीकृति नलिए दलालहरूले भारतीय विमानस्थल हुदैं विभिन्न देश पुर्‍याउन सक्छन्। त्यसको घाटा आफैलाई हो। त्यसैले यी विषयमा सचेत रहनुपर्छ। अहिले विभागको वेबसाइट वा ‘वैदेशिक रोजगार’ नामक मोबाइल एपबाट पनि आफ्नो श्रम स्वीकृति भए–नभएको सजिलै हेर्न सकिने उप्रेतीले बताए।

विदेश जानुभन्दा पहिले राम्रोसँग अभिमुखीकरण तालिम दिई सम्बन्धित कार्यअनुसार नै सिपको विकास गराएर मात्र विदेश पठाउने व्यवस्था भएमा अवश्य पनि वैदेशिक रोजगारीमा हुने जोखिम कम हुन्छ।

वैदेशिक रोजगारीका लागि सम्झौता गरेअनुसार पारिश्रमिक नदिने, सुविधाबारे पूर्वजानकारी नगराउने, बिमा नगरी काममा लगाउनेजस्ता समस्या देखिएका छन्। वैदेशिक रोजगारीमा जानुपूर्व सम्बन्धित देशको धर्म, भाषा, संस्कृति, कामको प्रकृति, हावापानी, कम्पनीको नियम–कानुन, सेवासुविधा आदिबारे स्पष्ट हुनुपर्छ। यसका लागि नियमबमोजिम श्रम सम्झौता गर्ने, तोकिएको काम पूरा गर्न सक्ने सिप सिकेर जाने हो भने जोखिम न्यूनीकरण गर्न सकिन्छ।

वैदेशिक रोजगारीका लागि श्रम इजाजत भएको देशमा मात्र जानुपर्छ, तब मात्र सम्झौताबमोजिम कार्य गर्ने अवसर प्राप्त गर्न सकिन्छ। लुकीछिपी गलत प्रक्रियाबाट बिदेसिने युवाले झनै पीडादायी अवस्थाको सामना गर्नुपर्ने देखिन्छ।

 विदेश जानु आफ्नो परिवार र राज्यको पनि हितमा रहन्छ। अनेकौं कारणले विदेशमा श्रमकै सिलसिलामा मृत्यु भएका नागरिकको दैनिक रूपमा तीन जनाको शव आउने गरेको दयनीय अवस्था छ। यसबाट वैदेशिक रोजगारी एकदमै जोखिमपूर्ण छ भनेर थाहा पाउन सकिन्छ। सुरक्षित र भरपर्दो रोजगारीका लागि राज्य बढी जिम्मेवार बन्नुपर्छ भने कामदार स्वयम् सतर्क बन्नुपर्छ। सबै कुरा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानु उपयुक्त हुन्छ।

त्यसैगरी वैदेशिक रोजगारीलाई अझ थप व्यवस्थित र मर्यादित बनाउन राज्यले थप प्रभावकारी कार्य गर्नुपर्ने देखिन्छ।

धेरै जसोलाई विदेश जानुअघि आधारभूत कुराको ज्ञान नहुँदा वैैदेशिक रोजगारीमा गइसकेपछि समस्या पर्ने वा ठगिएर विदेश जानै नपाउने अवस्था आउन सक्छ। भविष्यमा ठुलो दुःख पाउने सम्भावना हुन्छ। त्यसैले आफ्नो वैदेशिक रोजगार यात्रालाई सुरक्षित र सुखद बनाउन कामदार आफै पनि सचेत हुनुपर्छ ।

विदेशमा रोजगारीका लागि सिप सिकेर मात्र जाने, श्रम सम्झौता गरेर भरपर्दो म्यानपावरबाट मात्र कार्य गर्नेजस्ता पक्षमा ध्यान दिनुपर्छ। सम्झौताअनुरूपको तलब, सेवासुविधा र सुरक्षा प्रत्याभूति गर्ने जस्ता कुरामा विशेष ध्यान दिनुपर्छ। तसर्थ, वैदेशिक रोजगारीमा जानुभन्दा पहिले यस्ता कुरामा ध्यान दिन सकियो भने वैदेशिक रोजगारीमा देखिएका समस्यालाई न्यूनीकरण गर्न सकिन्छ। वैदेशिक रोजगारीमा पहिलो प्राथमिकता सिप हो। बिनासिप विदेश जानु जोखिमपूर्ण छ। ‘अधिकांश नेपाली गाउँबाट सहर आई १/२ महिना सिप सिकेर गाउँतिरैका एजेन्ट वा सहरिया एजेन्टलाई सिधै पासपोर्ट बुझाएर विदेश जान पाइन्छ भन्ने भ्रममा हुन्छन्,’ वैदेशिक रोजगारी संघका अध्यक्ष राजेन्द्र भण्डारीले भने।

‘सिप सिकेर विदेश जाँदा तलब पनि राम्रो पाइन्छ। सिप नभएपछि विदेशी कम्पनीहरूमा ‘यो काम, ऊ काम हुन्छ’ भन्छन्,’ उनले भने, ‘तर, आफूसँग काम गर्ने विशेष सिप छैन भने गाह्रो खालको काम गर्नुपर्छ। त्यस्तो काम गर्दा आम्दानी पनि सोचेजस्तो हुँदैन। सिकेको सिप खेर जाँदैन। कुनै कारण विदेश जान नसके वा मन नलागे त्यही सिपलाई नेपालमा पनि प्रयोग गर्न सकिन्छ।’

एजेन्टलाई त्यतिकै विश्वास गर्दा प्रायः व्यक्ति घर न घाटका भएका छन्। वैदेशिक रोजगारीमा जाँदा संस्थागत श्रम स्वीकृति लिनुपर्छ। तर यहाँ वैदेशिक रोजगारीमा एजेन्टसँग जोडिनु भनेको चर्को शुल्कमा पर्नु हो। त्यो कुरा थाहा पाउँदा पाउँदै पनि एजेन्टको भर पर्दा राम्रो देश र टन्न पैसा कमाइन्छ भन्ने सोच हुने गरेको अध्यक्ष भण्डारीले बताए।  

एजेन्टको भर परेर अवैधानिक रूपमा विदेश जानु भनेको भविष्यमा ठुलो समस्यामा पर्नु हो। आफू अप्ठेरोमा परिन्छ कि भन्ने भोलिको दिन प्रायः कसैले सोचेका हुँदैनन्। ‘म्यानपावर छानेर, राम्ररी बुझेर, माग हेरेर मात्र विदेश जानुपर्छ। नेपाल सरकारका नीतिनियम बुझेर विदेश जाँदा जोखिममा पर्ने युवा कम हुन्छन्। कन्सल्टेन्सी फर्म, ट्राभल एजेन्सी, मनी ट्रान्सफर, दलाल, एजेन्ट वा अन्य कुनै पनि संस्थालाई वैदेशिक रोजगारीमा पठाउने अधिकार नहुने हुँदा यस्ताको भरमा रोजगारीमा जानु राम्रो होइन,’ संघका अध्यक्ष भण्डारीले सुझाव दिए।

‘सबैभन्दा बढी नेपाली मधेसबाट बिदेसिएका छन्। मधेशका युवा गाउँका एजेन्टका भरमा विदेश जान्छन्। यस्ता एजेन्टलाई सरकारले मान्यता दिएको छैन। युवाहरू छिटो काम गर्न एजेन्टको भर पर्छन्,’ भण्डारी भन्छन्, ‘मेनपावर कम्पनीमा गई माग हेरेर कुरा गर्ने र सबै जानकारी लिने हो भने ठगिने सम्भावना हुँदैन।’

उनले थपे, ‘ठगिनुको दोस्रो कारण एजेन्टलाई कुनै लिखित प्रमाणबिना पैसा दिनु हो। बैंकमार्फत् दिने वा नगदै दिँदा पनि ५ जना जति साक्षी राखेर दिने हो भने फिर्ता लिन सजिलो हुन्छ। यहाँ त विश्वासका भरमा एजेन्टलाई नै दुई–तीन लाख रूपैयाँ दिन्छन्। पछि एजेन्टले प्रमाण देखाऊ भन्छ।’

‘सोझै मेनपावर कम्पनी नभएर एजेन्टकहाँ जानु ठगिनुको तेस्रो कारण हो। वैदेशिक रोजगारीमा जाने युवाको संख्या सबैभन्दा धेरै मधेश प्रदेशमा भए पनि यहाँ मेनपावर कम्पनी छैनन्। यसकारणले पनि युवाहरू एजेन्टका भरमा पर्छन्। एजेन्टहरूले माग नआई प्रमाणबिना पैसा लिन्छन्। यसो गर्दा युवाहरू ठगिन्छन्,’ संघका अध्यक्ष भण्डारीले भने। पैसा बुझाउँदा बैंकमार्फत प्रयोजन खुलाएर मात्र गर्नुपर्ने उनले बताए।

अध्यक्ष भण्डारीका अनुसार वैदेशिक रोजगारीका लागि कुन देश र के काममा जाँदै छु भन्ने विषयमा पनि कामदारलाई स्पष्ट जानकारी हुनु आवश्यक छ। देश, कम्पनी, काम गर्ने पद, पेसा, तलबभत्ता, अन्य सुविधा र सेवासर्तबारे चित्त बुझेमा मात्र विदेश जानुपर्छ। आफू संस्थागत जाँदै हो वा एजेन्टमार्फत बिदेसिँदै गरेको हो भन्नेबारे पनि राम्रो ज्ञान आवश्यक छ।

म्यानपावर कम्पनीले विदेश पठाउन पासपोर्ट मागेमा कामका लागि कति अवधिभित्र र कति लागतमा पठाउने भन्ने यकिन गरी भर्पाई गराएर मात्र सक्कल पासपोर्ट बुझाउनुपर्छ। खुकुलो तरिकाले पासपोर्ट दिएमा पछि समस्या पर्न सक्ने उनले जानकारी दिए। त्यस्तै आफू जान लागेको देशको भाषा, संस्कृति, रहनसहन, चालचलन, रीतिरिवाज र कानुनबारे साथीभाइ र अग्रजसँग जानकारी लिनुपर्छ।

साथै गुगल वा अन्य सर्च इन्जिनबाट पनि त्यस विषयमा सर्च गरेर अध्ययन गर्न सकिन्छ। त्यस्तै आफू जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना, अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरूको फोन र फ्याक्स नम्बर डायरीमा टिपेर साथैमा राख्नुपर्छ। समस्या परेका बेला त्यसले निकै सहयोग पुग्ने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी गराए।

वैदेशिक रोजगारीमा जानुअघि सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराउनुपर्छ। सरकारले तोकेको बिमा कम्पनीमा करार अवधिअनुसार जीवन बिमा गराउनुपर्छ। बिमाका लागि रकम बुझाएर रसिद लिनुपर्छ र त्यस्तो रसिद सुरक्षित राख्नुपर्ने भुसालले बताए।

‘आफूसँग काम गर्ने विशेष सिप छैन भने गाह्रो खालको काम गर्नुपर्छ। त्यस्तो काम गर्दा आम्दानी पनि सोचेजस्तो हुँदैन। सिकेको सिप खेर जाँदैन। कुनै कारण विदेश जान नसके वा मन नलागे त्यही सिपलाई नेपालमा पनि प्रयोग गर्न सकिन्छ,’ वैदेशिक रोजगारी संघका अध्यक्ष राजेन्द्र भण्डारी भन्छन्।

‘वैदेशिक रोजगारीमा जानुअघि अभिमुखीकरण तालिम अनिवार्य छ। यसले विदेशमा पर्ने समस्याहरूसँग जुध्न सिकाउँछ,’ उनले भने, ‘सरकारले तोकेको संस्थामा अनिवार्य रूपमा दुईदिने अभिमुखीकरण र जाने मुलुकको श्रम कानुनसम्बन्धी जानकारी लिनुपर्छ। अभिमुखीकरण तालिमबाट आफू जाने देशको भौगोलिक अवस्था, हावापानी, ट्राफिक नियम, श्रमसम्बन्धी सामान्य कानुनी प्रावधान लगायत विषयमा पर्याप्त जानकारी हुन्छ ।’

वैदेशिक रोजगारीमा जाँदा प्रतिबन्धित वस्तु बोक्नु आफैलाई हानि गर्नु हो। कसैले साथीलाई पठाएको सामान वा आफैलाई गिफ्ट दिएको सामान छ भने पनि त्यसलाई विमानस्थलबाट लैजान पाइन्छ कि पाइँदैन बुझ्नुपर्छ। यस्ता सामान बोक्दा विदेश जाँदा होस् वा आउँदा, पक्राउ परिने श्रम मन्त्रालयका सूचना अधिकारी भुसालले जानकारी दिए। भुसालका अनुसार ठगीमा सक्रिय दलालहरूले विभिन्न बहानामा भारत वा अन्य विदेशी विमानस्थलबाट लैजाने प्रलोभन देखाउन सक्छन्।

वैदेशिक रोजगारीमा जान अनिवार्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोग गर्नुपर्छ। लुकीछिपी विदेश जाँदा ठगिने, कानुनी कारबाही हुने, अलपत्र पर्ने, दुर्घटना हुने, सम्झौताबमोजिम काम नपाउने, उद्धार पाउन कठिन हुने र नेपाल सरकारले दिने कल्याणकारी कोष, बिमा कम्पनीबाट प्राप्त हुने सेवा सुविधाबाट बञ्चित हुने अवस्था आउँछ।

 ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा चौबीसै घण्टा सञ्चालन हुने गरी कल सेन्टर तथा वैदेशिक रोजगार सम्बन्धी गुनासो सुनुवाइ कक्षको सुविधा छ,’ उनले भने, ‘श्रमिकहरूको हकहितलाई ध्यानमा राखी नयाँ श्रम गन्तव्य मुलुकको खोजी र श्रम सम्झौताको नवीकरण गर्ने कार्य अगाडि बढेको छ। वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई बिनाझन्झट आधुनिक प्रविधिमार्फत सहज र सरल तरिकाबाट सेवाप्रवाह हुन थालेको छ।’

भिजिट भिसामा विदेशमा काम गर्न जानु अवैधानिक हो। यस्ता व्यक्तिको सेवा, सुविधा र सर्त सम्बन्धमा वैदेशिक रोजगार ऐन र नियमावली आकर्षित नहुने हुँदा अलपत्र परेमा र दुःख पाएमा स्वयम् व्यक्ति नै जिम्मेवार हुनु हो। त्यसैले भिजिट भिसामा काम गर्न विदेश जानु राम्रो होइन। वैदेशिक रोजगारीमा जान चाहने र जानेले श्रम स्वीकृतिका साथै वैदेशिक रोजगारीका प्रक्रियाबारे थाहा पाउन आवश्यक छ। विदेश जान चाहने व्यक्ति १८ वर्ष पूरा भएको अवस्थामा मात्र वैदेशिक रोजगारीको प्रक्रिया अवलम्बन गर्नुपर्छ।

वैदेशिक रोजगारीमा जानेक्रममा झुटा विवरण वा कागजात पेश गर्नुहुँदैन। वैदेशिक रोजगारसँग सम्बन्धित गुनासाहरू नआउने गरी काम गर्न म्यानपावर व्यवसायी, अभिमुखीकरण संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, आमनागरिक र कर्मचारी सबैले आआफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्छ। वैदेशिक रोजगार व्यवसायीले नाफाभन्दा पनि सेवाभावले तोकिएको रकम मात्र लिनुपर्छ।

‘कुनै म्यानपावर शंकास्पद लागेमा वैदेशिक रोजगार विभागमा सम्पर्क गर्न सकिन्छ। कतिपय म्यानपावर इजाजत पाएर पनि कारबाहीमा परेका हुन सक्छन्। रोक्का भएका म्यानपावरबाट वैदेशिक रोजगारीमा जानुहुँदैन। कुनै म्यानपावर खारेजीमा पनि परेका हुन सक्छन्। यस्तो सामान्य जानकारी युवावर्गमा हुनु जरुरी छ।’

कामदार विदेश पठाएपछि नेपाल फर्केर नआएसम्म वा श्रम स्वीकृतिको म्यादसम्मको नैतिक जिम्मेवारी म्यानपावर कम्पनीले लिनुपर्छ। आफूले पठाएका कामदारको अवस्था के कस्तो छ भनी समय समयमा जानकारी लिनुपर्छ। विदेशमा बिचल्ली भएमा वा दुःख पाएमा आकस्मिक रूपमा उद्धार गर्नुपर्छ। गैरकानुनी काममा नलागी सरकारको नियमअनुसार पेसागत मर्यादा र नैतिकतामा रहेर म्यानपावर कम्पनीले काम गर्नुपर्ने हो। कानुन विपरीत कार्य गरेमा म्यानपावरलाई आकस्मिक कानुनी दाएरामा ल्याउने जिम्मा हाम्रो रहेको विभागका सूचना अधिकारी उप्रेतीले बताए।  

देशमा रोजगारी नपाएर महँगो ब्याजदरमा ऋण काढेर विदेशमा जान लागेका दाजुभाइ दिदीबहिनीको सेवा गर्न पाउनुलाई कर्मचारीले अवसर ठान्नुपर्ने उनले बताए।

‘विदेश जान बाध्य दाजुभाइ दिदीबहिनीहरूले निजका परिवारलाई पठाएको रकमको उपभोग गर्दा मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, भन्सारलगायतका अप्रत्यक्ष कर सरकारलाई प्राप्त भएको छ। कतिले रेमिट्यान्सबाट व्यापार व्यवसाय गरेर आयकर पनि तिरेका छन्। त्यही राजस्वबाट तलब खाएका छौं भन्ने कुरालाई कर्मचारीले सदैव हेक्का राख्नुपर्छ,’ सूचना अधिकारी उप्रेतीले भने।

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरूलाई सम्मान तथा पुरस्कार पनि दिने गरेको छ। यसकारण स्वदेश फर्किएपछि आफ्नै गाउँठाउँमा उद्यम व्यवसाय गरी बस्नुपर्छ। वैदेशिक रोजगारीमा जान चाहनेलाई सही सूचना दिई सहजीकरण गर्नुपर्ने सबैको उत्तरदायित्व रहेको उप्रेतीले बताए।

वैदेशिक रोजगारको क्षेत्रमा भएका थुप्रै बेथितिको अन्त्य सरकार एक्लैको प्रयासले मात्र सम्भव हुँदैन। वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारले गरिरहेको पहलमा सर्वसाधारण, म्यानपावर कम्पनी, अभिमुखीकरण संस्था, स्वास्थ्य परीक्षण संस्था, सञ्चारमाध्यम एवम् सरोकारवाला सबैले साथ दिनुपर्ने देखिन्छ।

अन्त्यमा वैदेशिक रोजगारीमा जानेहरूका निम्ति राजदूत पार्कले लेखेका यी वाक्य प्रेरक छन्-‘घरायसी आर्थिक अवस्था सुधारका लागि पिताजीले खाडी मुलुकमा बिताउनुभएका पलहरू स्मरणमा छन्। सञ्चार माध्यमको विकास नभइसकेको अवस्थामा चिठीपत्रको आदानप्रदान, पिताजीको आवाज सुन्नका लागि क्यासेट टेपमा रेकर्ड भएको उहाँको आवाज आज पनि कानमा गुन्जिरहन्छ। हामी सानो छँदा समीपमा नै रमाउन चाहन्थ्यौं तर बाध्यताले हामीलाई छुट दिएन ।’

‘सरकारले भरोसा दिन नसक्दा कामदारले जोखिम मोलेका हुन्’,

-सरु जोशी,वैदेशिक श्रम मामिला विज्ञ

वैदेशिक रोजगारीका सिलसिलामा कामदार किन ठगिन्छन्?

वैदेशिक रोजगारीलाई पहिलो विकल्प मान्दै कामदारले एक खालको मानसिकता बताएका हुन्छन्। तिनले आफू ठगीमा परिन्छ कि भन्ने सोच राख्दैनन्। स्वदेशमा केही गर्न सकिन्न भन्दै विदेश जाने हेतु हुन्छ। यहाँ आफ्नै आफ्नाबाट ठगीमा पर्ने गरेका छन्। जहाँ आफन्तसँग शंका कम गरेसँगै सहजै विश्वास गर्छन्। शिक्षा प्रणालीमा विदेश जानुपर्छ भन्ने चेतना सिकाए पनि विदेश जाँदा केके जोखिम आउन सक्छ भन्ने पाठ नपढाउने कारण पनि एक हो।

यसलाई रोकथाम गर्ने दायित्व कसको हो?

पहिला केन्द्रीय स्तरमा सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको थियो भने २०७२ देखि यो दायित्व स्थानीय सरकारमा पनि सरेको छ। पहिला नेपालीको ठगीको मुद्दा केन्द्रले मात्र हेर्ने गरेको थियो भने अहिले हरेक जिल्ला कार्यालयले हेर्ने गरेको छ। वैदेशिक रोजगारीमा ठगी नहुनका लागि पहिलो दायित्व भनेकै वडा कार्यालयको हो। वडाले थाहा छैन भन्दै वडाबाट नगरपालिका, जिल्ला हुँदै प्रदेशलाई देखाउने काम भएको छ।

प्रदेशले यस्तो ठगीको कुरा कि तल हुन्छ कि त माथि भन्दै पन्छ्याउने गरेको छ। स्थानीय सरकार सुशासन ऐन २०७४ बमोजिम यो अधिकार स्थानीय सरकारलाई पनि आएको छ। ठगिने व्यक्तिहरू एकदम तयार छन् तर त्यसलाई निर्मुल गर्ने निकायहरू हाम्रो दायित्व होइन भन्दै पन्छिएका छन्। समन्वयन र सहकार्य कम भएपछि ठगी बढेको छ। यसको रोकथाम सरकारको हो। अर्को ठुलो ठगीको रोकथाम गर्ने दायित्व वैदेशिक रोजगार विभागको पनि हो। कसरी वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने भन्ने पहिलो दायित्व सरकारको हुनुपर्छ। गाउँगाउँमा रोजगार दिलाउनुप¥यो।

बिदेसिँदै गरेका कामदारका दायित्व के के हुन्?

विदेश जाँदै गरेको व्यक्तिको सबैभन्दा ठुलो दायित्व हुन्छ। विदेश जानुपूर्व ठगीमा पर्ने, विदेशमा पुगेपछि अलपत्रमा पर्ने जस्ता कार्यमा प्रत्यक्ष संलग्न स्वयम् कामदार नै हुने हुँदा विदेश जाने व्यक्तिको ठुलो भूमिका हुन्छ। सरकारको संरचना परिवर्तन हुँदै गएको छ। तर, त्यसले नागरिकहरूलाई भरोसा भने दिन सकेको छैन। नेपाल सरकारका नीतिनियम पालना गरी विदेश जानुपर्छ।

पटकपटक यस्तो हुन्छ भन्ने थाहा हुँदा पनि किन ठगिन्छन् नेपाली?

सरकारले भरोसा दिन नसक्दा कामदारले जोखिम मोलेका हुन्। जोखिममै परेर भए पनि विदेश जाने युवाको सोच भएकै कारण पटक पटक ठगीमा पर्ने गरेका छन्। गरिबी र देशको आर्थिक अवस्था कमजोर भएपछि जसरी पनि विदेश पुग्नुपर्ने प्राथमिकता बनाएका हुन्छन्। वैदेशिक रोजगारीमा जानेले गरिबीसँग लड्ने रणनीति बनाएका हुन्छन्। नियमपूर्वक वैदेशिक रोजगारीमा जानुपर्छ भन्ने ज्ञान सबैलाई हुन्छ। तर, एजेन्टबाट विदेश जाँदा राम्रो देश र धेरै तलब हुने आश्वासनमा पटक पटक ठगिन्छन्। प्रत्यक्ष रूपमा विदेश जाने कामदार आफै सक्रिय हुनु जरुरी छ।

प्रकाशित: १३ आश्विन २०८० ०१:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App