२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

हत्यारा नसमाते निर्माण कार्य ठप्प

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे मुलुकभर विकास निर्माणका काम बन्द गर्ने चेतावनी दिएका छन् ।

महासचिव देउजाले बुधबार साँझसम्म हत्यारालाई पक्राउ गर्न सरकारलाई समय दिएको बताए । उनले हत्यामा संलग्नलाई पक्राउ नगरिएसम्म त्रिवि शिक्षण अस्पतालमा राखिएको गौचनको शव पनि नबुझने जानकारी गराए । महासंघका अध्यक्ष गौचनको सोमबार दिउँसो काठमाडौं, शान्तिनगरस्थित घरबाट निस्कनेबित्तिकै गोली हानी हत्या गरिएको थियो ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा महासचिव देउजाले अध्यक्ष गौचनको हत्यासँगै महासंघका अन्य पदाधिकारीलाई पनि नम्बर नखुलेका टेलिफोनबाट धम्कीपूर्ण शैलीमा पैसा माग्ने काम भइरहेको बताए । उनले महासंघका अन्य पदाधिकारीको सुरक्षा प्रबन्ध गर्न पनि सरकारसँग माग गरे ।
यसैबीच नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनका हत्यारालाई जतिसक्दो छिटो पक्राउ गर्न सरकारसँग माग गरेकी छिन् । ‘सरकारले तत्काल हत्यारालाई पक्राउ गरी कारबाही गर्ने र व्यवसायीलाई गरिखाने वातावरण तयार गर्नुपर्छ,’ मंगलबार नागरिकसँग अध्यक्ष राणाले भनिन्, ‘महासंघलगायत सम्पूर्ण निजी क्षेत्र हत्याको विरोधमा एकबद्ध छ ।’ राणाले सरकारी अधिकारीले चुस्त सुरक्षा प्रबन्ध मिलाएको दाबी गरेको राजधानी सहरमा दिनदहाडै एउटा व्यवसायीको हत्या हुनुबाट भनाइ र गराइमा मेल नखाएको बताइन ।
निजी क्षेत्रसँग सम्बद्ध अन्य संघसंस्थाले पनि निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या घटनाको विरोध गरेका छन् । उनीहरू हत्यारालाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) ले मंगलबार विज्ञप्ति प्रकाशित गरी गौचनको हत्या घटनाको भत्र्सना गरेको छ ।
लामो समयदेखि व्यावसायिक क्षेत्रलाई चन्दा आतंकले प्रताडित बनाइरहेको अवस्थामा पछिल्लो समयमा भएको यो घटनाले उद्योगी व्यवसायीलाई थप आतंकित बनाएको एनबिआईले जनाएको छ । उसले तत्काल हत्यारा पत्ता लगाई कारबाही प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पनि विज्ञप्तिमार्फत निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या घटनाको  विरोध गरेको छ । एसोसियसनले गौतमको हत्या सिंगो निजी क्षेत्रमाथिको सांघातिक हमला भएको ठहर गरेको छ । ‘मुलुकमा विस्तारै बन्दै गएको लगानीको वातावरणमा समेत यो घटनाले असर पु¥याएको छ । र व्यवसायीहरू पनि असुरक्षित भएका छन्,’ विज्ञप्तिमा उल्लेख छ । एसोसिएसनले पनि हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

राजधानीको व्यस्त सडकमा दिनदहाडै एउटा व्यवसायीको हत्या भएको दुई दिन बित्न लाग्दा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै सांसदले गृहमन्त्रीको राजीनामासमेत माग गरेका छन् ।


नेपाल विद्युतीय व्यवसायी महासंघले पनि हत्याको विरोध गर्दै यस्ता घटनाले निजी क्षेत्रका उद्यमी व्यवसायी भयभित हुनपुगेको जनाएको छ । यस किसिमको दुःखद घटना दोहोरिन नदिन एवं हत्यारालाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न महासंघले माग गरेको छ ।
मुलुकमा स्थानीय चुनाव सम्पन्न भई व्यवसायमा सकारात्मक सन्देश प्रवाह भएका बेला भएको गौचनको हत्याले भविष्यप्रति आशंका पैदा भएको व्यवसायीहरूको भनाइ छ । प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको मुखमा भएको यस घटनाले अन्योलको वातावरण सिर्जना गरेको उनीहरूको धारणा छ ।
गौचनको हत्या भएकै दिन निर्माण व्यवसायी महासंघ र निजी क्षेत्रका तीन ठूला छाता संगठनले घटनाको निन्दा गरेका थिए । उनीहरूले यो घटनाले राजधानीको सुरक्षा व्यवस्था  फितलो पुष्टि भएको बताएका थिए । उनीहरूले हत्यारालाई तत्काल कारबाही र  देशभरका निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन माग गरेका छन् । व्यवसायीहरूले यी संगठनहरुले देशभित्र उद्योगी दर व्यवसायीको सुरक्षा नहुँदा वैदेशिक लगानीसमेत प्रभावित हुने जनाएका छन् ।
गौचनलाई सहिद घोषणा गर्न माग
राससका अनुसार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न महासंघले सरकारसँग माग गरेको छ ।
महासंघका पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर गौचनलाई सहीद घोषणा गर्न, हत्यारालाई तत्काल खोजी कारबाही गर्न र निर्माण व्यवसायीलाई सुरक्षा प्रत्याभूति दिन माग गरेका हुन् । गौचनको हत्यासँगै महासंघका अन्य पदाधिकारीलाई विभिन्न फोन नम्बरबाट धम्की आएकाले सुरक्षा प्रबन्ध मिलाउन महासंघले प्रधानमन्त्रीसमक्ष अनुरोध गरेको महासंघका महासचिव रामशरण देउजाले बताए ।
 भेटमा प्रधानमन्त्री देउवाले निर्माण व्यवसायीलाई सुरक्षा दिन सरकार तयार रहेकाले हतोत्साहित नहुन आग्रह गरेको जानकारी महासचिव देउजाले दिए । ‘प्रधानमन्त्रीज्यूले व्यवसायीको सुरक्षाका लागि सुरक्षा प्रमुखसँग कुरा गरेको छु भन्नुभएको छ,’  देउजाले भने ।
महासंघले अध्यक्ष गौचनको निधनमा तीन दिन निर्माणका सबै काम बन्द गर्ने निर्णय गरेको छ । मंगलबार महासंघको कार्यालयमा बसेको आकस्मिक बैठकले अनिश्चितकालका लागि बोलपत्रमा सहभागी नहुने निर्णयसमेत गरेको छ । यसअघि महासंघका पदाधिकारीले सोमबार राति गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखलाई भेटेर गौचनका हत्यारालाई तत्काल कारबाहीको दायरमा ल्याउन माग गरेका थिए ।

 

प्रकाशित: २४ आश्विन २०७४ २३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App