२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तनहुँ सदरमुकाम दमौली डेंगी ‘हटस्पट’ बन्दै

दिनमै एकसय जना संक्रमित

तनहुँ सदरमुकाम दमौली क्षेत्र। यो क्षेत्रमा अहिले दिनमा एकसय जनामा डेंगी संक्रमण पुष्टि हुने गरेको छ। फाइल तस्बिरः नागरिक

तनहुँको सदरमुकाम दमौली पछिल्लो समय डेंगीको ‘हटस्पट’ बन्दै गएको छ। पछिल्लो साता दिनमा कम्तिमा एकसय जनामा डेंगी संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ। डेंगी संक्रमित भएका अधिकांश बासिन्दा सदरमुकाम दमौली बजारभित्रका बासिन्दा हुन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। तनहुँमा यो वर्ष अहिलेसम्म डेंगी संक्रमितको संख्या १७ सय १४ पुगेको छ।  

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार दिनमा कम्तिमा एकसय जना डेंगीका बिरामी थपिएका छन्। ‘दिनमा कम्तिमा एकसय जना संक्रमित फेला परेका छन्। अधिकांश बिरामी सदरमुकाम दमौली बजारभित्रका बासिन्दा हुन,’ अधिकारीले भने, ‘हरेक दिन बिरामी थपिने क्रम बढेको छ। नियन्त्रण हुने अपेक्षा थियो, तर, झनै बढ्दै गएको छ।’  

तनहुँमा डेंगीका कारण योवर्ष एकजनाको ज्यान पनि गइसकेको छ। गण्डकी प्रदेशमा अहिलेसम्म सबैगरि २३ सय ४८ जनामा डेंगी संक्रमण पुुष्टि भएको छ। सदरमुकाम समेत रहेको ब्यास नगरपालिकाको १, २,३ र ४ नम्बर वडाका बासिन्दामा संक्रमण बढी रहेको उनले बताए। ‘करिब ९० प्रतिशत बिरामी सदरमुकाम क्षेत्रका छन। बाँकी आसपासका गाउँका बासिन्दा हुन्,’ उनले भने, ‘अस्पतालमा लक्षण सहित परीक्षणमा आएका ९० प्रतिशत बिरामीमा डेंगी पुष्टि भएको छ। डरलाग्दो अवस्था बनेको छ ।’ बिरामी बढेपछि अस्पतालमा समेत शैया अभाव हुने देखिएको उनले बताए।

दिनमा एकसय जनाको हाराहारीमा बिरामी फेला परिरहँदा नियन्त्रणमा हम्मेहम्मे भएको उनले बताए। अधिकारीका अनुसार भदौ २५ पछि निकै नै डेंगी संक्रमण बढेको हो। भदौ २५ अघिको तुलनामा त्यसपछि दिनहुँ थपिने संक्रमितको संख्या बढिरहेको अधिकारीले बताए। ‘यो साता त अधिक नै संक्रमण बढ्यो, सदरमुकाम दमौलीको ब्यास नगरपालिकाभित्रकै बासिन्दा अधिक संक्रमित छन,’ अधिकारीले भने, ‘नियन्त्रणको प्रयासका लागि सबैतिर जुटेका छौ।’  

अधिकारीका अनुसार तनहुँका निजी र सरकारी गरि ४७ वटा प्रयोगशालामा डेंगी संक्रमणको परीक्षण हुन्छ। अधिकारीका अनुसार उपचारमा स्वास्थ्यकर्मी अभाव हुने अवस्था आएपछि नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीलाई समेत अस्पतालमा उपचारका लागि परिचालन गरिएको छ।  

खुला क्षेत्रको सरसफाई गरेर डेंगी फैलाउने लामखुट्टे नियन्त्रणमा सम्भव नभएपछि घरघरमा लामखुट्टे ‘सर्च एण्ड डिस्ट्रोय’ गर्ने अभियान चलाएको उनले बताए। ‘नगरपालिका, स्थानीय प्रशासन, रेडक्रस, स्वास्थ्य कार्यालय सहित सबै निकाय यो बेला परिचालन गरेर सरसफाई अभियान संचालन गर्ने र लामखुट्टेको लार्भा नियन्त्रण अभियान चलाईरहेका छौं,’ उनले भने, ‘डेंगी नियन्त्रणको एकमात्र विकल्प भनेको लामखुट्टे नियन्त्रण हो। त्यसका लागि टिम नै परिचालन भईरहेको छ।’  

अहिले डेंगी फैलिएको ब्यासको १ नम्बर भादगाउँ हो । त्यस्तै २, ३ र ४ नम्बर वडा सदरमुकाम दमौलीको मुख्य बजार क्षेत्र पर्छ। नगरपालिकाभित्रै ग्रामिण क्षेत्रमा भने संक्रमण कम रहेको उनले बताए। सदरमुकाम क्षेत्रभित्र ग्यारेज, कार्यालय, व्यावसायिक क्षेत्र, गाडी पार्किङ रहेकोले पनि संक्रमण बढी फैलिएको उनले बताए। ‘पानी जम्नेगरि ठाउँठाउँमा ट्यांकी राखिएको छ। टायर, ग्यारेज पनि उत्तिकै छरपष्ट छन,’ उनले भने, ‘बेलैमा व्यवस्थापन गर्न नसके अवस्था झनै डरलाग्दो हुनसक्छ।’

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. नारायण श्रेष्ठ डेंगीको संक्रमण अबको केही समय अझै बढिरहने बताउँछन्। कात्तिक महिनाभर डेंगीको संक्रमण बढ्ने उनले बताए। दिनहुँजसो पानी पर्ने र घाम लाग्ने हुँदा डेंगी फैलाउने लामखुट्टेका लागि उपयुक्त मौसम तयार हुने हुँदा संक्रमण फैलाउन सक्ने उनले बताए। डेंगी संक्रमणको ‘पीक सिजन’ नै साउनदेखि कात्तिकसम्म रहेको श्रेष्ठको भनाई छ।

उनका अनुसार वर्षायामको सिजन भएको र यो बेला पानी जम्ने गरेकोले डेंगी संक्रमण गराउने लामखुट्टे फैलाउन सहज हुने गरेको छ। ‘साउनदेखि कात्तिकसम्म अधिक मात्रामा संक्रमण फैलने गर्छ। यो समयलाई पीक सिजन नै भने पनि हुन्छ,’ श्रेष्ठले भने, ‘तर, अरु महिनामा पनि गण्डकी प्रदेशमा डेंगीका धेरथोर बिरामी फेला परिरहेका छन्। बाहै्रमास नै डेंगीको त्रास छ। संक्रमितको संख्या धेरै र थोरै भन्ने मात्र हो।’ 

चिसो मौसममा डेंगी संक्रमण घट्ने गरेपनि शुन्यमा भने झरेको थिएन। तनहुँमा बिरामी बढेपछि उपचारका लागि अस्पतालमा शैया अभाव भएको समेत श्रेष्ठले बताए। अस्पतालको एउटै बेडमा २–३ जनासम्म राखेर पनि उपचार गरिरहेको उनले जानकारी दिए।  

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो। त्यो संक्रमण २०२० मा १५९, २०२१ मा ९५ र २०२२ मा २३ सय ८० जनामा देखिएको थियो। फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम रहने स्वास्थ्यकर्मीको भनाई छ।

खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा लामखुट्टेले फुल पार्छ। त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्। चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।

प्रकाशित: ८ आश्विन २०८० ०९:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App