४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

खाली सिलिण्डर भेटिएपछि ‘कोशी ग्यास’ लाई २ लाख जरिवाना

मोरङको बुढीगंगा गाउँपालिका–४ मा रहेको कोशी ग्यास उद्योगलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले जरिवाना तिराएको छ।

विराटनगरका एक उपभोक्ताले खरिद गरेको सिल प्याक कोशी ग्यासको सिलिण्डरमा ग्यास नभएको पाइएपछि उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हो।

विराटनगर–९ की अञ्जना सिंहले खरिद गरेको कोशी ग्यासको सिलिण्डरमा तौल अनुसारको ग्यास नभएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जरिवाना गरेको जनाएको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त प्रमुख हितेश बस्नेतका अनुसार ग्यासको सिलिण्डरमा ग्यास नभएको गुनासो आएपछि गरिएको अनुगमनका क्रममा ग्यासमा कैफियत भेटिएको हो। उनले ग्यासमा कैफियत भेटिएपछि उपभोक्ता ठगी ऐन अन्तर्गत कारबाही गर्दै २ लाख रुपैयाँ जरिवाना गरिएको बताए।

सिलिण्डरको तौल बाहके १४ केजी २ सय ग्राम ग्यास हुनुपर्नेमा सिलिण्डरमा ग्यास नभएको भेटिएको हो। २ महिनाअघि सिंहले विराटनगर–१० स्थित कोशी ग्यासको डिलर न्यू हिमाल मार्केटिङबाट ग्यास खरिद गरेकी थिइन्। २ महिनाअघि एकै पटक ३ वटा सिलिण्डर लिएको बताउँदै, सिंहले भनिन्, ‘२ वटा सिलिण्डर सकिएपछि यो सिलिण्डर जोड्ने बेलामा ग्यास नभएपछि अचम्म परे। सिलिण्डरमा कम्पनीले लगाएको सिल जस्ताको त्यस्तै रहेको छ।’

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय मोरङ, गुणस्तर तथा नापतौल कार्यालयले संयुक्त रुपमा कोशी ग्यासको उद्योगमा अनुगमन गरेको थियो। अनुगमनको क्रममा उद्योगमा कैफियत भेटिएपछि २ लाख रुपैयाँ जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त प्रमुख बस्नेतले बताए।

उद्योगबाट उपभोक्ता कहाँ ग्यास सिलिण्डर पठाउँदा पूरै जाँच गरेर मात्रै पठाउने गरेको बताउँदै, कोशी ग्यास उद्योगका प्रबन्धक सचितकुमार उपाध्ययले भने, ‘सधैँ उद्योगबाट बाहिर पठाउँदा सिलिण्डर चेकजाँच हुन्छ। उद्योगबाट कुनै गलत भएको छैन। कसरी बजारमा खाली सिलिण्डर भेटियो हामीले छक्क परेका छौं।’ हाम्रो उत्पादनलाई बदनाम गराउनका लागि बजारमै कसैले गलत गरेको हुनुपर्छ’ उपाध्यायले भने।

प्रकाशित: ७ आश्विन २०८० १४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App