१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अमेरिका हिँडेका नेपाली पाँच महिनादेखि फिलिपिन्समा बन्धक

विदेशिनेको कथा

‘बाबा ! मलाई एउटा साइकल किनिदिनुस् न।साथीहरूको बाबाले केके किनिदिनुहुन्छ।मलाई साइकल मात्र चाहिएको हो बाबा !’ फिलिपिन्समा पाँच महिनादेखि बन्धक संखुवासभाका टासी शेर्पा छोरीका यिनै शब्द सम्झीसम्झी भक्कानिन्छन्, ‘छोरीले के नै मागेकी थिइन् र ? त्यही साइकल नकिनीकन मैले अमेरिका जाने प्रलोभनमा परेर दलाललाई ३५ लाख बुझाएँ ।’  

आश्रय दिइरहेका होटल मालिकले शेर्पालाई कोठाबाट निकालेको शुक्रबार एक साता पुगेको छ।अहिले भर्याङको चिसो भुइँमा बसिरहेको बताउँदै उनले भनेका छन्, ‘खानेबस्ने ठेगान छैन।दिन हो कि रात, थाहा हुन्न ।’  

भिडियोमार्फत उनले भनेका छन्, ‘म जहाँ छु, यो ठुलो अपार्टमेन्ट हो।बाहिर कहीँ जान पनि मिल्दैन।खानेकुरा नखाएको धेरै दिन भयो।शौचालयको पानी खाएर बाँचिरहेको छु।यहीँबाट हाम फालेर मरूँ झैं लाग्छ।तर छोराछोरी सम्झेर मर्न पनि सक्दिनँ।बालबच्चा सानै छन् ।’

उनी नेपालमा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए।मलेसियामा १६ वर्ष पसिना चुहाएर कमाएको पैसा स्वाहा भएको उनले बताए।उनी वैशाखमा मात्र अमेरिका जाने भन्दै घरबाट निस्किएका थिए।त्यसअघि काठमाडौंमा बस्दा एक दिन ‘पठाओ’ चढेका बेला पठाओवालाले ‘अमेरिका जाने ?’ भनी सोधेको उनले बताए।

आफूसँग अमेरिका पुर्याउने मान्छे चिनजान भएको र तिनले मान्छेले २/३ सय नेपालीलाई अमेरिका पठाइसकेको भन्दै पठाओवालाले कमल तामाङसँग आफ्नो चिनजान गराएको शेर्पाले बताए।भेट बाक्लिँदै जाँदा शेर्पा एजेन्ट तामाङको कुरामा मग्न हुँदै गए।

तामाङको भनाइ उद्धृत गर्दै शेर्पाले भने, ‘हाम्रो मेन मान्छे हस्त गौतम हो।उसले अहिलेसम्म कैयौँ मान्छे अमेरिका पठाइसकेको छ।तपाईं पनि चाँडै पैसा जुटाउनुस्, १५ दिनमै अमेरिका पुग्नुहुन्छ।त्यसपछि स्वर्गको आनन्द पाउनुहुन्छ ।’ एजेन्ट तामाङको गफ सुन्दा शेर्पाले अहिले भोगिरहेको पीडाको परिकल्पना गरेकै थिएनन्।अमेरिकामा महिनाको ५/६ लाख सजिलै कमाउन सकिन्छ भनेर घरसल्लाह गरेरै हिँडेको तर फिलपिन्समा आएर बन्धकमा परेको उनले बताए।‘म यहाँ बन्धकमा परेको छु।अब विदेश जाने कल्पना पनि गर्नु छैन।स्वदेश आउन सके त गिटी कुटेरै परिवार पाल्थें।भारी पनि बोक्थें ।’

नेपालबाट भारतको दिल्ली, त्यसपछि सिंगापुर हुँदै फिलिपिन्स पु¥याई बन्धक बनाइएका शेर्पाले भने, ‘सिंगापुर आएलगत्तै मलाई हस्त गौतम लिन आयो।तपाईंको अमेरिका जाने काम हुँदै छ।यताउता कामकुरो मिलाउनुपर्छ।साथमा भएको पैसा दिनुहोस् भन्दै २४ सय डलरसँगै सबै कागजपत्रलगायत पासपोर्ट लिएर गएको हस्तसँग फेरि भेट भएको छैन ।’ जसरी भए पनि नेपाल फर्काइदिनू भन्दै फिलिपिन्समा बन्धकमा रहेका शेर्पाले अपिल गरेका छन्।‘नेपाल आउने क्रममा सास रहला कि नरहला, त्यो त थाहा छैन।बरू मलाई पैसा चाहिँदैन,’ उनले भने, ‘अन्तिम पटक परिवारसँग भेट्नु छ।जसरी भए पनि मलाई स्वदेश फर्काइदिनुहोला।यो मेरो अन्तिम इच्छा हो ।’

हस्त गौतमले लाखौंलाख कुम्ल्याएर शेर्पालाई जस्तै धेरै नेपालीलाई अलपत्रमा पारेका छन्।गौतमको इसारामा चल्ने अर्का एक एजेन्ट फिलिपिन्समा रहेको पीडितको भनाइ छ।८ हजार डलर तिरे मात्रै पासपोर्ट दिने भनेको शेर्पाले नागरिकलाई बताए।यसरी दलालीको चंगुलमा परेर विभिन्न कष्ट भोग्दै लाखौं रकम खर्चेर नेपालबाट अमेरिका जाने चलन पछिल्लो समय व्यापक बनेको छ।यसरी कमल र हस्तले अमेरिका पठाउने भन्दै १३ नेपालीलाई फिलिपिन्समा मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको मानव बेचबिखन अनुसन्धान ब्युरोले बताएको छ।

ब्युरोका अनुसार दलालहरूले भनेजस्तो चोर बाटोबाट अमेरिका पुग्न सहज छैन।अमेरिका पुग्न महिनौं लाग्छ।अनेक देशमा लोकल दलाल र तिनका एजेन्ट हुन्छन्।कुनै एक ठाउँमा सेटिङ बिग्रियो भने कुरो बिग्रियो।अनि बाटैमा अलपत्र पर्ने सम्भावना पनि हुन्छ।खल्तीमा पैसा भए त ठिकै छ, भएन भने वा दलालहरूले छाडेर भागे अपरिचित देशमा गुमनाम मृत्यु कुर्नुबाहेक अरू विकल्प नहुने ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवन श्रेष्ठले बताए।

‘चोरबाटोबाट लाखौं खर्चेर यात्रा गर्नेलाई केही थाहा हुन्न।उनीहरू अन्तर्राष्ट्रिय संगठित अपराधका सदस्य बन्दै गरेका हुन्छन्,’ उनले भने, ‘ह्युमन स्मगलिङलाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय संगठित अपराधका रूपमा पहिचान गरेको छ।यो त सजिलै थाहा हुन्छ कि एक नेपाली चोर बाटोबाट अमेरिका प्रवेश गर्न एउटा देशका मात्र दलाल सहभागी हुँदैनन्, कैयौं देशका दलाल त्यसमा सहभागी हुनुपर्छ ।’ चोर बाटोबाट अमेरिका पुग्न विमान, गाडी र डुंगाको यात्रा गर्नुपर्ने एसएसपी श्रेष्ठले बताए ।

अमेरिका पठाइदिने भनी मानव बेचबिखन गर्ने गिरोहका नाइके भनिने हस्त गौतमले विभिन्न प्रलोभन देखाई अमेरिका पठाइदिने भनी नेपाली नागरिकलाई दुबई, थाइल्यान्ड, फिलिपिन्स, जाम्बिया, सिंगापुर, हङकङलगायत देशमा पु¥याई अलपत्र पारेको ब्युरोको भनाइ छ।गौतमले पीडितबाट राहदानी, मोबाइलसमेत लिई ठुलो मात्रामा पैसा माग्ने गरेको, एजेन्टले भनेजति पैसा नदिए शारीरिक–मानसिक यातना दिने गरेको श्रेष्ठले बताए।नेपाली नागरिकलाई अलपत्र पार्ने कार्यमा गौतमसहित अन्य व्यक्तिविरुद्ध मानव बेचबिखन, ओसारपसार तथा संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको उनको भनाइ छ।

अमेरिका पुग्न सबै देशको यात्रा बिनाभिसा लुकिछिपी सेटिङ मिलाएर गर्नुपर्ने भएकाले जोखिम उत्तिकै हुने गरेको एसएसपी श्रेष्ठले बताए।‘ती नेपाली कुनै पनि देशमा समातिन सक्छन्।मेक्सिको पुगेपछि भने अमेरिकाको सँघारमै आइपुगियो भन्ने हुन्छ,’ उनले भने, ‘मेक्सिको र अमेरिकाको सीमामा ठुल्ठुला पर्खाल लगाइएका छन्।तर तस्करहरूले सुरुङ खनेर बनाएको बाटोबाट होस् कि प्रहरीको आँखा छलेर होस्, अमेरिकी भूमिमा छिराउने गरेका छन् ।’

एसएसपी श्रेष्ठका अनुसार चोरबाटोको रुटमा पर्ने विभिन्न देशमा धेरै नेपाली अलपत्र अवस्थामा छन्।‘सबैले लाखौं खर्च गरेका छन्।कतिले चर्को ब्याजमा ऋण लिएका होलान्।उनीहरूको स्थिति के होला ? कल्पना गर्दा पनि डर लाग्छ,’ श्रेष्ठले भने।

मृदुल पनि भनिने गौतमले सयौं नेपालीलाई पुर्याइसकेको खुल्न आएको बताइएको छ।पूर्वी रुकुम जन्मस्थान भए पनि हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका ५२ वर्षीय गौतमलाई रूपन्देहीको बेलहियाबाट गत भदौ २० गते मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।अहिले प्रहरी हिरासतमा हस्त र उनीबाटै परिचालित एजेन्ट कमल तामाङसमेत छन् ।

गौतमले आफ्नो आधार मेक्सिकोमा बनाई विश्वासिला पाँच एजेन्टलाई नेपाल, दुवई, सिँगापुर, फिलिपिन्स, थाइल्यान्ड, श्रीलंका, कोलम्बिया, लेटिन अमेरिकालगायत देशमा परिचालन गरी नेपालीलाई अमेरिका पठाउँदै आएका थिए।नेपालीलाई अमेरिका पठाउने भन्दै ठुलो मात्रामा रकम लिने, बन्धक बनाउने, थप पैसा माग्दै जाने, शारीरिक–मानसिक यातना दिने र अन्य व्यक्तिहरूलाई बेचबिखन गर्नेजस्ता कार्य गर्ने गरेको प्रहरी एसएसपी श्रेष्ठले बताए।

अमेरिका पठाइदिने भनी हस्त गौतमले नै पठाइएकामध्ये फिलिपिन्समा १२/१३ जना अलपत्र अवस्थामा रहेको ब्युरोले जनाएको छ।त्यसरी बन्धकमा रहेका नेपालीको उद्धारका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको प्रहरी एसएसपी श्रेष्ठले बताए।पीडितहरूबाट विभिन्न मितिमा अमेरिका पठाइदिने भन्दै अन्य एजेन्टहरू समेतलाई परिचालन गरी २ करोडभन्दा बढी पैसा लिइसकेको उनलाई पक्राउ गर्ने मानव बेचबिखन अनुसन्धान ब्युरोको भनाइ छ ।

प्रकाशित: ७ आश्विन २०८० ०७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App