२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

आसै आसमा बित्यो विस्थापितको २९ महिना

रसुवा – हाकुका लाक्पा तामाङले गाउँ छाडेको २९ महिना भयो। उनी अहिले उत्तरगया गाउँपालिकास्थित बोगटीटारमा बसिरहेका छन्। 

उनी त्यहाँ कुनै काम विशेष बसेका भने होइनन् । भूकम्पले गाउँमा सुख्खा पहिरो खसेपछि बस्ने ठाउँ नै नपाएपछि ठाउँ खोज्दै जाँदा तामाङ त्यहाँ पुगेका हुन् । गाउँ फर्काउनका लागि सरकारले उचित कदम नचालेकोप्रति तामाङ असन्तुष्ट छन्। 

उनी भन्छन्, “सरकारले विस्थापितलाई अर्कै देशको नागरिक ठानेको छ, घर मात्र भत्किएकाले किस्ता पाएर घर बनाइसके हामी बस्ने ठाउँ नै नभएकोलाई न बास, न किस्ता ।”

हाकुका छेकु लामा भन्छन्, “दुई वर्ष अगाडि बनेका टहरामा बाँस कुहिएको छ, नयाँ टहरा बनाउन पैसा छैन् ।”
बोगटीटारमा दुई ओटा विस्थापित क्याम्प छ । एउटा क्याम्पमा ९७ घरधुरी र अर्का क्याम्पमा एक सय पाँच घरधुरी बसिरहेका छन् । पुरानो गाउँमा जानका लागि सुरक्षित नभएकाले बोगटीटारमा नै जग्गा किनेर बस्न चाहेका छन् उनीहरू। 

“गाउँ जान सकिने अवस्था छैन्, यहाँ जग्गा बेच्न चाहने जग्गाधनी छन् यसका लागि सरकारले केही गरिदिए हुन्थ्यो विस्थापित लामाले भने ।” निजी जग्गामा बसिरहेका उनीहरूले वार्षिक ४५ हजार जग्गाधनीलाई बुझाउने गरेका छन् । विद्युत र खानेपानीको पनि पैसा तिर्न पर्दा उनीहरूलाई समस्या परेको छ। 

भूकम्प गएकै दिन हाकु, डाँडागाउँ, ठूलोगाउँ, धुन्चे, राम्चे, धैबुङ, स्याफ्रु र लाङटाङबाट चार सय भन्दा बढी नागरिक विस्थापित भएका थिए । यी स्थान साविकको गाविस हुन् । भूकम्पका कारण गाउँमा सुख्खा पहिरो खसेपछि असुरक्षित महसुस गरेर हिँडेका उनीहरु रसुवा र नुवाकोटको विभिन्न स्थानमा बसिरहेका छन् । 
विशेषगरी सदरमुकाम धुन्चे, ग्राङ, बोगटीटार, नौबिसे र सातबिसेमा रहेका निजी तथा सरकारी जग्गामा विस्थापित जीवन बिताइरहेका छन् । 

विस्थापितका व्यवस्थापनका लागि गरिएका ‘असफल’ प्रयास 
भूकम्प गएको २९ महिनाभित्र विस्थापितको व्यवस्थापनको लागि सरकारी निकायबाट तीन ओटा प्रयास गरिएको छ । तर ती तीन ओटै प्रयास असफल भएको छ । पहिलो प्रयास स्वरुप निर्माण गरिएको सामूहिक आवास प्रयोग विहीन छ । 
एकीकृत बस्ती निर्माण कार्य अलपत्र परेको छ भने विस्थापितको पुनर्वासका लागि गरिएको भौगर्भिक अध्ययन कागजमै थन्किएको छ । 

सरकारले भूकम्प गएको केही समयपछि निर्माण गरेको सामूहिक आवास अहिले पनि अलपत्र परेको छ । विस्थापित बस्ती एकातिर अनि सामूहिक आवास अर्कोतिर निर्माण भएपछि सामूहिक आवासमा नागरिक बस्न सकेनन् । 
दुई करोड भन्दा बढीको लागतमा रसुवाको लहरेपौवा,  धैबुङ,  धुन्चे र स्याफ्रुमा सामूहिक आवास निर्माण गरिएको थियो । तर, धुन्चे बाहेकका सामूहिक आवासमा अझै ताला झुण्डिएको छ। 

७६ घरधुरीका लागि निर्माण भएका उक्त आवासमा सबै विस्थापित समेट्न नसकिने भएपछि पनि सो आवास प्रयोग विहीन भएको सरकारी अधिकारी बताउँछन्। 

तत्कालिन नेपाली सेनाको नारायण दल गण र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले करोडौँ खर्च गरेर बनाएको आवास प्रयोगमा ल्याउन नसक्दा सो लगानी बालुवामा पानी हालेसरी भएको पीडित बताउँछन् । 
त्यसैगरी उत्तरगया गाउँपालिकास्थित खाल्डेमा निर्माण गर्न लागिएको एकीकृत बस्ती पनि अलपत्र परेको छ । 
गाउँबाट विस्थापित भएर नौबिसे तथा बोगटीटारस्थित निजी तथा सरकारी जग्गामा बसिरहेका दुई सय भन्दा बढी विस्थापित बस्न मिल्ने गरी गत चैतबाट सुरु गरिएको एकीकृत बस्ती निर्माण कछुवा गतिमा भैरहेको छ। 

दशैँ अगावै सय घरधुरी त्यहाँ राख्ने उद्देश्यका साथ निर्माण थालिएको भएपनि ६ महिनामा जग्गा सम्माउने कार्य मात्र भएको छ । उक्त क्षेत्रमा पाँच सय घर निर्माण गरिन लागिएको थियो । खोलाको किनारमा निर्माण गर्न लागिएको बस्तीमा बाढीको डर रहेको छ। 

भूकम्प गएपछि असुरक्षित मानिएको बस्तीमा तीन पटकसम्म भौगर्भिक अध्ययन गरिएको छ । पटक पटक अध्ययन गरिएपनि बिस्थापितको पुनर्वासका लागि कुनै कदम चालिएको छैन् । अहिलेसम्म गरिएको भनेको अध्ययन मात्र हो । अध्ययन प्रतिवेदन सार्वजनिक भएपनि स्थान्तरणको लागि पहल नभएको हाकुका छेकु लामाले बताए । 
दोस्रोचोटी गरिएको अध्ययन पश्चात जिल्लास्थित साविकको ७ ओटा गाविसको १८ ओटा बस्तीमा गरिएको अध्ययनबाट ११ वटा बस्ती आंसिक तथा पूर्ण जोखिममा परेको र त्यो बस्तीमा बसोबास गर्ने एक सय ८७ घरधुरी जोखिममा परेको प्रतिवेदन सार्वजनिक गरिएको थियो । 

गाउँ र क्याम्प मात्र होइन जिल्लै छाडेर हिँडे विस्थापित 
भूकम्पले गाउँबाटै उठिबास लागेर अन्य क्षेत्रमा बसिरहेका विस्थापितलाई सरकारले बेवास्ता गरेपछि विस्थापित जिल्ला नै छाडेर हिँडेका छन् । साबिकको हाकु गाविसस्थित गोगने र तिरुबाट विस्थापित भएर जिल्लाको धैबङस्थित लामाटोलमा बसिरहेका ९५ घरधुरी नुवाकोटको बट्टारमा गएर बसेका छन्। 

भूकम्प पीडितका लागि आएको राहत संकलन गरेर बट्टारमा सामूहिक जग्गा खरिद गरेर केही महिनाअघि उनीहरू त्यसतर्फ सरेका हुन् । हाकुका कृष्ण तामाङले भने, “सरकारले जिल्लामा बस्नका लागि केही पहल गरेन्, हामी आफैँले जग्गा किनेर आफ्नो व्यवस्थापन आफैँले गर्‍यौ ।”

के गर्दै छन् विस्थापितहरू ? 
भूकम्पले घर मात्र भत्काएन्, गाउँमा बस्ने ठाउँ पनि असुरक्षित बनायो । गाउँमा दुखझेलो गरेर परिवार पालिरहेका उनीहरुलाई बस्ने बास, खाने गाँस र बाँच्नका लागि अपनाउनुपर्ने पेशाबाट नै बञ्चित गरायो । 
हाकुबाट विस्थापित भएर धुन्चेमा बसिरहेकी याङजेन तामाङले भनिन्, “खेती गर्न आफ्नो जग्गा छैन्, घर फर्कनका लागि सुरक्षित बास छैन् ।” विस्थापित नागरिकले पाएसम्म ज्याला मजदुरी गर्ने गरेका छन्। केहीले सानोतिनो किराना पसल सञ्चालन गरेका छन् । 
केहीले तरकारी खेती गरिरहेका छन् । कतिपयले चाहिँ गिट्टी कुट्ने, भारी बोक्ने लगायतको काम गरेर छोराछोरी पढाउने, बिहान बेलुकीको छाक टार्ने गरिरहेका छन्। 

प्रकाशित: १९ आश्विन २०७४ ०८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App