विभिन्न आपराधिक गतिविधिमा संलग्न भई वर्षौँदेखि फरार रहँदै आएका ४ अभियुक्तहरु पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरको ‘फरार प्रतिवादी पक्राउ अभियान’ अन्तर्गत खोजीको सूचीमा रहेका फरारहरु पक्राउ गर्ने क्रममा लागू औषध र वन मुद्दाका फरार आरोपीहरु बिहीबार १ जना र मंगलबार ३ जना पक्राउ गरेको हो।
प्रहरीले ६ वर्षअघि अर्थात् ०७४ साल चैत १८ गते उदयपुर जिल्ला अदालतको फैसला अनुसार २ हजार रुपैयाँ जरिवाना तोकिएका लागु औषधका फरार प्रतिवादीहरू त्रियुगा नगरपालिका १३ का २३ वर्षीय रोनिस ठटाल र २६ वर्षीय रोयल राईलाई नियन्त्रणमा लिएको हो। उनीहरु दुवै जना गाउँघरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ।
प्रहरीले लागू औषध आरोपमै जिल्ला अदालतको ०७५ असार १४ गते बसेको इजलासको फैसला अनुसार २ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका त्रियुगा नगरपालिका १० बोक्सेका २९ वर्षीय गणेश भुजेल पनि बिहीबारै पक्राउ परेका छन्।
त्यसैगरी उदयपुर अदालतबाटै ०७८ पुस ६ गतेको फैसला अनुसार १८ हजार १ सय ३० रुपैयाँ जरिवाना तोकिएका त्रियुगा नगरपालिका १२ का ३१ वर्षीय भोजकुमार बोटेलाई बिहीबार दिउँसो पक्राउ गरेको हो। उनलाई अन्दाजी ५ः०० बजे नगर प्रहरी कार्यालय गाईघाटबाट खटेको प्रहरी नायव निरीक्षकसहितको टोलीले गाउँघरमै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।
सबै पक्राउ अभियुक्तहरुलाई फैसला कार्यान्वयनका लागि प्रहरीले जिल्ला अदालतको जिम्मा लगाएको जनाएको छ। प्रहरीले बुझाए लगत्तै अदालतले सजाय भुक्तानका लागि कारागार कार्यालय गाईघाट पठाएको पनि इन्स्पेक्टर थापाले बताए।
प्रकाशित: ४ आश्विन २०८० १६:४६ बिहीबार





