इलामका विजय तामाङ पहिलोपटक मुगुस्थित रारा ताल पुग्दा अचम्मित भए। सुनेको रारा एउटा सामान्य ताल जस्तो लागे पनि आफ्नै आँखाले देखेपछि उनले त्यसलाई ‘स्वर्गकी अप्सरा’ सँग तुलना गरे।
वर्षौंदेखि योजना बनाए पनि समय नमिलेका तामाङले यसपटक लामो यात्रा तय गरी रारा पुगेपछि यात्राको सबै थकान बिर्सिएको बताए। कर्णाली राजमार्गको जोखिमपूर्ण यात्रा पार गर्दै रारा पुगेका उनले भने, ‘साँच्चिकै एकपटक पुग्नैपर्ने ठाउँ रहेछ।’ ताल वरिपरि फैलिएको हरियाली, चिसो हावा र नीरव वातावरणले उनलाई प्रकृतिको काखमै पुगेको अनुभूति दिलायो।
तर, राराको अनुपम सौन्दर्यसँगै कर्णालीको यथार्थ पनि उत्तिकै कठोर देखे। कच्ची सडक, भिरालो पहाडी बाटो, बारम्बार अवरुद्ध हुने यातायात र सीमित पहुँचले यहाँको विकास अवस्था प्रस्ट पार्छ। वर्षायाममा सडक झन् जोखिमपूर्ण बन्दा स्थानीयको दैनिकीदेखि पर्यटकको यात्रासम्म प्रभावित हुने गरेको पाइयो।
इलामकै अर्का पर्यटक गंगाबहादुर चेमजोङका अनुसार बिहान कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी देखिने राराको रंग परिवर्तनले पर्यटकलाई घण्टौँ आकर्षित गर्छ। ‘तालमा देखिने आकाशको प्रतिबिम्ब केवल सौन्दर्य होइन, कर्णालीको सम्भावनाको संकेत जस्तो लाग्छ,’ उनले भने।
रारा पुग्न मुगुको सल्लेरीबाट करिब एक घण्टा पैदल यात्रा गर्नुपर्छ। घोडा चढेर पनि यात्रा गर्न सकिन्छ। चेमजोङका अनुसार डुङ्गा सयरका लागि प्रतिव्यक्ति ४५ मिनेटको ५ सय रुपैयाँ शुल्क लिइन्छ भने घोडा सयर दूरीअनुसार फरक हुन्छ। राराभित्र सवारी साधन प्रवेश निषेध गरिएको छ। समग्र भ्रमणका लागि न्यूनतम ३० देखि ५० हजार रुपैयाँ अनुमानित खर्च लाग्यो।
यात्रामा सहभागी टोलीमा गोपाल आचार्य, मुकेश धिताल, राजकुमार खाती, चैतन्य कार्की र चालक भूपेन्द्र दाहाल थिए। रारासम्म पुग्ने क्रममा पर्यटकले सिँजा उपत्यकाजस्ता ऐतिहासिक तथा सांस्कृतिक स्थल अवलोकन गर्ने अवसर पाउँछन्। इलामकै रुद्रबहादुर रानामगरका अनुसार यो यात्रा पर्यटन नभई नेपालको भौगोलिक, आर्थिक र सामाजिक असमानताको ऐना हो। ‘एकातिर राराको सौन्दर्य छ, अर्कोतिर कर्णालीको पीडा यी दुईबीचको दूरी घटाउनु आजको आवश्यकता हो,’ उनले भने।
कर्णालीको पर्यटन क्षेत्र ठूलो सम्भावना बोके पनि पूर्वाधार अभावले अपेक्षित विकास हुन सकेको छैन। सडक, होटल, संचार, सुरक्षा तथा पर्यटक सेवाको कमीले पर्यटक संख्या सीमित बनेको छ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा १३ हजार ८ सय ८३ पर्यटक रारा पुगेका छन्। तीमध्ये सार्क राष्ट्रका ६९ र अन्य देशका एक सय ३३ पर्यटक छन्। रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका अनुसार दैनिक औसत ३५ जना पर्यटक आउने गरेका छन्।
हवाई भाडा महँगिँदै जाँदा जहाजमार्फत आउने पर्यटक घटेका छन् भने गाडी रिजर्भ गरेर समूहमा आउनेको संख्या बढेको कार्यालयका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठ बताउँछन्। सुर्खेत-ताल्चा उडान भाडा ७ हजार ४ सय रुपैयाँबाट बढेर ९ हजार ६ सय रुपैयाँ पुगेको छ।
निकुञ्ज क्षेत्र भएकाले होटल पूर्वाधार सीमित छ। पर्याप्त बसोबास र खानपानको व्यवस्था नहुँदा पर्यटकले समस्या भोग्नुपरेको छ। सडक अवस्था पनि हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने गरेको छ।
हाल रारा पुग्न जुम्लाबाट दुईवटा सडक मार्ग प्रयोगमा छन्। सडकमार्गबाट जानेहरूले सिँजा उपत्यका हुँदै रारा पुग्छन् भने हवाईमार्गबाट जुम्ला ओर्लिनेहरू पैदल तथा स्थानीय यातायात प्रयोग गरी तालसम्म पुग्छन्।
समुद्री सतहबाट दुई हजार ९ सय ९० मिटर उचाइमा अवस्थित रारा ताल १०.६५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। पाँच किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइ भएको यस तालको अधिकतम गहिराइ एक सय ६७ मिटर छ।
रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी र दुई सय ७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन्। कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भालु लगायतका वन्यजन्तु यहाँ पाइन्छन्। तालमा पाइने ट्राउट माछा समेत विशेष आकर्षण हो।
नेपालकै सबैभन्दा ठूलो ताल रारा सन् २००७ मा रामसार सूचीमा सूचीकृत भइसकेको छ, जसले यसको अन्तर्राष्ट्रिय महत्त्व दर्शाउँछ। रारा भ्रमणका लागि सेप्टेम्बर-अक्टोबर र अप्रिल-मे उपयुक्त मानिन्छ। जाडोयाममा अत्यधिक हिमपात र न्यून तापक्रमका कारण यात्रा कठिन हुन्छ।
पर्यटन व्यवसायी र सरोकारवालाहरूले कर्णाली राजमार्ग र नाग्म-गमगडी सडक कालोपत्रे, होटल तथा आधारभूत सेवा विस्तार, र प्रभावकारी नीति कार्यान्वयनमा जोड दिएका छन्। उनीहरूका अनुसार राज्यले ध्यान दिए रारालाई कर्णालीको आर्थिक समृद्धिको आधार बनाउन सकिन्छ।
प्रकाशित: १४ वैशाख २०८३ ०९:५७ सोमबार





