२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

ताप्लेजुङमा मैत्रीपूर्ण दौड:पुरुषतर्फ गणेशबाबु र महिलातर्फ सविता पहिलो

ताप्लेजुङको फुङलिङमा सञ्चालित ४० वर्षभन्दा माथिको उमेर समूहको दौड प्रतियोगिताको पुरुषतर्फ गणेशबाबु निरौला र महिलातर्फ सविता गौतम प्रथम भएका छन्।

संविधान दिवसको अवसरमा बिहीवार आयोजित प्रतियोगिता जिल्ला समन्वय समितिको प्रवेशद्वार अगाडिबाट सुरु भएको थियो। दौड दोबाटो–ट्याक्सीलाइन–पराजुलीचौक–सिटिहल नजिक–बीरेन्द्रचौक हुँदै तल्लोबाटोबाट पुनःजिसस प्रवेशद्वार अगाडि गएर टुङ्गिएको थियो।

उल्लेखित क्षेत्रको दुरी ९ मिनेट ५४ सेकेण्डमा पूरा गर्दै पुरुषतर्फ निरौला प्रथम हुँदा ९ मिनेट ५७ सेकेण्डमा दुरी पूरा गरेका दावा तामाङ दोस्रो भए। १० मिनेट ३४ सेकेण्डमा सो दुरी पूरा गर्दै कुमार महतारा तेस्रो भए। पुरुषतर्फ ३५ जना धावकको सहभागिता रहेको थियो।  

जिसस प्रमुख छिरिङ लामा,उपप्रमुख कृष्णप्रसाद लिङखिम,सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई सहित दौडमा सामेल थिए। सोहि क्षेत्रको दुरी १३ मिनेट १७ सेकेण्डमा पूरा गर्दै गौतम प्रथम हुँदा १३ मिनेट २७ सेकेण्डमा दुरी पूरा गर्ने कला गोम्देन द्वितीय र १४ मिनेट १८ सेकेण्डमा दुरी पूरा गर्ने हर्कमति लिम्बू तृतीय भइन्। महिलातर्फ १५ जना धावकको सहभागिता रहेको आयोजक जिल्ला समन्वय समितिले जनाएको छ।  

पुरुषतर्फ प्रथम हुनेले नगद ७ हजार, द्वितीय हुनेले ५ हजार र तृतीय हुनेले ३ हजार रुपैयाँका साथ प्रमाणपत्र पाएका छन्। महिलातर्फ प्रथम हुनेले नगद ५ हजार, द्वितीय हुनेले ३ हजार र तृतीय हुनेले २ हजार रुपैयाँका साथ प्रमाणपत्र पाएका छन्। जिल्ला स्तरमा संबिधान दिवस मनाउन जिल्ला समन्वय समिति प्रमुख लामाको संयोजकत्वमा मूल समारोह समिति गठन भएको थियो।  

असोज २ गते नगरसफाई,३ गते फुङलिङ नगरप्रवेशद्वार क्षेत्रमा झण्डोत्तोलन र ४ गते मैत्रीपूर्ण दौड प्रतियोगिता सहित यसवर्षको संविधान दिवस मनाइएको आयोजकले जनाएको छ। बुधवार साँझ सार्वजनिक निकायहरूमा दिपावली समेत गरिएको थियो।  

प्रकाशित: ४ आश्विन २०८० ०६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App