२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बेनी–जोमसोम सडक छ दिनपछि खुल्यो

बाबियाचौर –  हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि पुनः सञ्चालनमा आएको छ। 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभिरमा सुख्खा पहिरो खसेपछि गत बुधबार दिउँसोदेखि ७६ किमी दूरीको सडकमा सिधा सवारी सञ्चालन बन्द भएको थियो। पहिरो पन्छाएपछि सोमबार दिउँसोदेखि यातायातका साधन सञ्चालन हुन थालेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए।

बेनी–जोमसोम–कोरला सडक आयोजना, सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनी, नेपाली सेना र प्रहरीको पाँच दिनको पहलमा सडक सञ्चालन गरिएको हो। अक्करे भिरको बीचमा रहेको सडकमा निरन्तर सुख्खा पहिरो खस्दा मर्मतमा ढिलाइ भएको आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले बताए। 

गजुरमुखी निर्माण कम्पनीको दुई वटा डोजर सडक मर्मतमा परिचालन गरिएको थियो । सडक खुलाउन नेपाली सेनाको रोहबरमा विस्फोटक पदार्थ प्रयोग गरेर विस्फोटन गरिएको थियो। 

सडक अवरुद्ध हुँदा मुक्तिनाथ तीर्थयात्रा, कागबेनीमा सोह्रश्राद्ध गर्न र मुस्ताङ भ्रमणमा जाने आउने आन्तरिक तथा बाह्य पर्यटक समस्यामा पर्नुका साथै मुस्ताङमा उत्पादित स्याउ, आलु, तरकारी र दशैँका लागि भेडाच्याङ्ग्रा बजारमा पठाउन समस्या भएको थियो । वर्षा रोकिएपछि पहिरो खस्ने क्रम कम भएको र सो ठाउँको सडक फराकिलो बनाएर नियमित सिधा यातायात सञ्चालनको व्यवस्था मिलाइएको प्रजिअ अधिकारीले जानकारी दिए। 

प्रकाशित: ९ आश्विन २०७४ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App