काठमाडौं- उमेर ९८ वर्ष पूरा हुँदैछ तर राष्ट्रकवि माधव घिमिरेलाई भेट्दा, देख्दा उनी शताब्दीको संघारमा छन् भनी पत्यारै लाग्दैन । शुक्रबार लैनचौचस्थित घिमिरेनिवास पुग्दा उनी मिडियाकर्मीसँग गफिइरहेका थिए । हाउभाउले उनलाई तन्नेरी देखाउँछ । उमेर शताब्दीछेउ भए पनि मन तन्नेरी छ, जोस र सक्रियता युवावयकै समान छ ।
कविवर हिँड्न मात्रै होइन, मञ्चमा गएर जोसले मन्तव्य दिन्छन्, लय हालेर कविता सुनाउँछन् । साँझ–बिहान नित्य कर्म र सिर्जना–साधना, केहीमा पनि उमेरले छेक्न सकेको छैन उनलाई ।
उनको निवास पुग्दा ११ बजेको थियो । ‘म खाना खाएर आउँछु । आधा घन्टा लाग्छ । त्यसपछि आधा घन्टा गफ गर्छु । प्रज्ञा भवनमा मदन पुरस्कार वितरण कार्यक्रम छ, त्यहाँ जानु छ त्यसपछि ।’ यति भनेर ठमठमी हिँड्दै तलामाथि उक्लिए कविवर घिमिरे ।
कविवर हिँड्न मात्रै होइन, मञ्चमा गएर जोसले मन्तव्य दिन्छन्, लय हालेर कविता सुनाउँछन् । साँझ–बिहान नित्य कर्म र सिर्जना–साधना, केहीमा पनि उमेरले छेक्न सकेको छैन उनलाई ।
खाना खाएर कार्यक्रममा जान तयार भई बैठक कोठामा कुराकानीका लागि आए उनी । सेतो कपाल, उज्यालो अनुहार, हँसिलो मुख, सुकिलो दौरा–सुरुवाल, कोट र ढाकाटोपीमा ठाँटिएका कविवर घिमिरेले मधुर आवाजमा कुरा थाले ।
‘उमेरले होइन, मनले बुढो हुने हो,’ उनले भने, ‘मनले बुढो भएँ जस्तो लागेकै छैन ।’ आत्मबलले बुढ्यौलीलाई छेउ पर्नै नदिएको अनुभूति उनको छ । त्यसो त मन बुढो नहुन्जेल मान्छे बुढो नहुने धारणा कविवरको छ ।
भाग्यमानी महसुस गर्छन् उनी आफूलाई सिर्जना शक्तिले साथ नछाडेकोमा । आफू बुढो भएको कुरा नै बिर्सन्छन् उनी । प्रेम र जवानीका गीत लेख्दा आफू पनि जवानै भएको महसुस हुन्छ उनलाई ।
सानो छँदा कवि हुन्छु जस्तो लागेको थिएन उनलाई । कविता के हो भनेर थाहा नहुँदै मनभित्र कविताजस्तै मीठा भाव उठ्न थालेका थिए । उपदेश मञ्जरीका श्लोक बाले मीठो लयमा भाका हालेको सुन्थे उनी । भजन, चुड्का र लोकगीतमा रमाएर नाच्थे पनि ।
संस्कृत पढेका घिमिरेले लोकका ठेट शब्द मिसाएर शास्त्रीय र लोक छन्दमा कविता लेख्न थाले । त्यस बेला १३÷१४ वर्षका थिए उनी । कवितामा लय, शैली र भाव महŒवपूर्ण हुने बुझाइ उनको छ । त्यही बुझाइअनुसार कविता लेख्छन् उनी । ‘कविताको नसाले सधैं सक्रिय बनाउँदोरहेछ,’ उनले भने, ‘कविल उमेर, भोक, थकाइ महसुस गर्दैन ।’ त्यसबाहेक पारिवारिक वातावरण र शारीरिक व्यायामले उनमा बुढ्यौलीको अनुभूति ढिम्कनै दिएको छैन । उनी धूमपान तथा मद्यपान गर्दैनन्, जसले गर्दा जोसजाँगरमा कमी नआएको बुझाइ उनको छ ।
विसं १९७६ असोज ७ मा जन्मिएका घिमिरेको जन्मोत्सव साहित्यिक वृत्तमा विभिन्न कार्यक्रमसहित शनिबार मनाइँदैछ ।
साहित्यको स्तर
साहित्य लोकबाट लिएर लोकलाई नै दिने खालको भयो भने मात्र त्यो सधैं जीवित हुने बुझाइ घिमिरेको छ । मुना र मदन जीवित रहेको बताउँदै उनी भन्छन्, ‘रामायण र महाभारतजस्ता ग्रन्थका पात्र जीवितमात्र होइन, भगवान् भएर बाँचेका छन् ।’
हृदयबाट निस्किन्छ घिमिरेको कविता । शकहिलेकाहीं मस्तिष्कबाट पनि निस्किन्छ । मस्तिष्कबाट निस्किएको कुरालाई हृदयमा घोलेर मात्र बाहिर निकाल्नुपर्छ । कविता, कविता भयो कि भएन भनेर बुझ्नुपर्छ’, उनी भन्छन् ।
साँझको समय उनलाई असाध्यै मन पर्छ । साँझको रंगीन संसारमा डुब्नु राम्रा कविताको रसमा डुब्नुभन्दा मीठो लाग्छ । प्रकृतिमा डुब्न मन पराउँछन् उनी, त्यसैले त गाउँ मन पराउँछन् । ‘मन त गाउँमै रमाउँछ नि,’ उनले भने, ‘त्यहाँ अथाह प्रकृति हुन्छ ।’ उनले आफ्नो घरलाई पनि प्रकृतिमय बनाएका छन् । वरिपरि बोटविरुवा रोपेका छन्, जहाँ चराचुरुंगी चिरबिराउँछन् । चरीको चिरबिरले उनमा सिर्जना टुसाँउछ ।
सुगर र प्रेसर
निम्तो आएजति सबै कार्यक्रममा पहिलेजसरी जाँदैनन् उनी । जेठा छोरा इन्दिभरका अनुसार मन तन्नेरी भए पनि उमेरले बुढ्यौली छाइसकेकाले बाहिरी हावापानीले असर गर्ला भनेर कमै पठाउने गरिएको छ । उनका अनुसार घिमिरेलाई सुगर र प्रेसरबाहेक अरु रोग छैन । ‘१० वर्षदेखि सुगर र पे्रसरको औषधि सेवन गर्दै आउनुभएको छ,’ इन्दिभरले भने, ‘त्यसबाहेक कुनै रोग देखा परेको छैन ।’
दैनिकी
बिहान ६ः३० बजेतिर ब्युँझिन्छन् उनी । ओछ्यानमै चिन्तन गर्छन् । आसनमै बसेर दैनिकीको पनि कल्पना गर्छन् । २० मिनेटदेखि आधा घन्टासम्मको सजिलो योग गर्छन् । कालो चिया र केही खानेकुरा खान्छन् । कहिलेकाहीं फलफूल पनि खान्छन् । वेद, गीताका केही श्लोक पढेपछि उनको समय लेखपढमा बित्छ । घरमा आएका सबै अखबारका पाना पल्टाउँछन् । पढ्न मन लागेका समाचार तथा विचारका शीर्षकमा चिनो लगाएर राख्छन् । त्यसपछि सिर्जनाको समय सुरु हुन्छ ।
११ बजे उनी भोजन गर्छन् । त्यसपछि बिहान चिनो लगाएर राखेको समाचार पढ्छन् । वर्तमान अवस्थाको राजनीतिबारे जानकार छन् । प्रायः सम्पादकीय पनि पढ्छन् उनी ।
त्यसपछि १ देखि ३ बजेसम्म सुत्छन् उनी । ब्युझिँएपछि कविताको मुडमा हुन्छन् । प्रकृतिलाई हेरेर सिर्जना फुराउँछन् । जीवन र जगत्बारे सकारात्मक दृष्टिले सोच्न थाल्छन् ।
बेलुका ८ बजेको समाचार हेर्न छुटाउँदैनन् । त्यसपछि खाना खान्छन् अनि एकछिन आराम गरेर सुत्छन् । पहिला उनलाई सिर्जनाका लागि एकान्त चाहिन्थ्यो । त्यसको लागि उनी रातको १० देखि १२ बजेको समय रोज्थे ।
घिमिरेका ६ छोरी, २ छोरा छन् । छोरीहरु आआफ्नै घरमा छन् । छोरा साथमै छन् ।
प्रसवमा ऋतम्भरा
घिमिरे लेखेर कहिल्यै थाक्दैनन् । अहिले पनि उनी महाकाव्य लेखिरहेका छन् । ‘लेख्न छाडे त बुढो भइहालिन्छ नि,’ मुस्कानसाथ उनले भने, ‘यही सिर्जनाको तरंगले त मलाई चिनाएको छ, बुढ्यौलीको अनूभूति गर्न दिएको छैन ।’
१४ सर्गको महाकाव्य ‘ऋतम्भरा’ रचना गरेर सक्नै लागे उनले । ‘महाकाव्यको काम अन्तिम चरणमा पुगेको छ,’ उनले सुनाए, ‘१४ सर्गमा डेढ सर्ग बाँकी छ । यसै वर्षभित्र काम सकेर सयौं जन्मोत्सव मनाउनुअघि विमोचन गर्ने योजना छ ।’
ऋतम्भरा विश्वजीवनबारे लेखिएको उनले बताए । प्राचीनकालमा मान्छेको हृदय सफा तर अहिलेको विश्वका मान्छेको हृदय लडाइँ, झगडा, जिन्दावाद–मुर्दावाद, ईश्र्या र डाहमा अडिएको विषय काव्यमा समेटिएको उनले सुनाए । मान्छे मस्तिष्क (प्रविधि) मा धेरै अगाडि पुगिसके पनि हृदय (दया, माया, करुणा) मा पछाडि परेको छ । सुखसुविधाको खोजीमा लागेका सन्तानले बाबुआमालाई भुलेको कुरा महाकाव्यमा रहेको उनले खुलाास गरे ।
प्रकाशित: ७ आश्विन २०७४ ०३:१८ शनिबार