९ असार २०८१ आइतबार
image/svg+xml
समाज

सुगममै घटेन मातृ मृत्युदर

फाइल तस्बिर

दिगो विकास लक्ष्य हासिल गर्दै सन् २०३० सम्ममा मातृ मृत्युदर प्रति एक लाख आमामा ७० मा झार्ने सरकारी लक्ष्य छ। तर दुर्गम हिमाली र पहाडी जिल्लाको त कुरै छाड़ौ, सुगम मानिएको बाँकेमै मातृ मृत्युदरमा कमी आउन सकेको छैन।

गत आर्थिक वर्षमा मात्रै बाँकेमा २० जना आमाले अकालमै ज्यान गुमाए। सुविधा सम्पन्न अस्पताल भएको नेपालगन्जमा मात्रै सबैभन्दा बढी आमाले ज्यान गुमाउन बाध्य भए। स्वास्थ्य कार्यालयका अनुसार नेपालगन्जमा मात्रै गत आर्थिक वर्ष २०७९/०८० मा ६ जना आमाले ज्यान गुमाउनु प¥यो। नरैनापुर र खजुरामा चार÷चार, राप्तीसोनारीमा दुई, कोहलपुर, बैजनाथ, डुडुवा र जानकीमा एक÷एकजना सुत्केरी महिलाको मृत्यु भएको छ।

आर्थिक वर्ष २०७८/०७९ मा १४, २०७७/०७८ मा २४, २०७६/०७७ मा ११ जना सुत्केरी महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। २०७७/०७८ मा एकजना मात्र मातृ मृत्युदर रहेको नेपालगन्जमा २०७८/०७९ मा बढेर ६ पुग्यो। डुडुवा, जानकी र नरैनापुरमा भने घट्दो क्रममा देखिन्छ। सरकारले मातृ र मातृ शिशु मृत्युदर कम गर्न भेरी अस्पतालमा मातृ शिशुमैत्री कार्यक्रमसमेत सञ्चालन गरेको थियो। तर पनि सुगम जिल्ला बाँकेमा मातृ मृत्युदर घट्न सकेन।

अशिक्षा, गर्भवतीको समयसमयमा स्वास्थ्य जाँच नहुनु, भए पनि समयमै स्वास्थ्य चौकी नपुग्नुले पनि मातृ मृत्युदर घट्न नसकेको चिकित्सकहरू बताउँछन्। बच्चा गर्भमा हुँदा भएका स्वास्थ्य जटिलता र सुत्केरी हुन समयमै अस्पताल नपुग्दा आमाले अकालमै ज्यान गुमाउनु परेको छ। मातृ–मृत्यु भन्नाले गर्भावस्था, सुत्केरी र सुत्केरीपछिको ४२ दिनभित्र मृत्यु भएको अवस्थालाई जनाउँछ।

चिकित्सकहरूका अनुसार गर्भवती महिलाले चौथो, छैटौं, आठौं र नवौं महिना गरी कम्तीमा चारपटक नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ। जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०१६ का अनुसार नेपालमा ८४ प्रतिशतले मात्रै गर्भ जाँच गराउँछन्। घरमै सुत्केरी गराउने समस्याले पनि मातृ मृत्युदर घट्न नसकेको स्वास्थ्य कार्यालयकी प्रमुख सुनिता पोडेलले जनाइन्। ‘सुत्केरीको मृत्यु हुने मुख्य समस्या भनेकै रक्तश्राव हो,’ उनले भनिन्।

क्याल्सियमको मात्रा कम हुँदा सुत्केरी महिलाको स्वास्थ्यमा समस्या देखिने भन्दै उनले भनिन्, ‘क्याल्सियम कम हुन नदिन दूध, अण्डा नियमित खानुपर्छ।’ ‘हाम्रो समाजमा आर्थिक लाभको लोपमा खानुभन्दा बिक्री गर्ने चलन छ,’ उनी भन्छिन्, ‘ज्याननै जोखिममा राखेर त्यस्तो गर्नु हुँदैन।’ समुदायस्तरमा चेतनाको कमीले गर्दा पनि मातृ मृत्युदर घट्दो क्रममा नभएको उनी बताउँछिन्। मातृ मृत्युदर घटाउन पालिकासँग समन्वय भइरहेको भन्दै उनी भन्छिन्, ‘सरकारले आइरन दिएर मात्र हुँदैन त्यससँगै क्याल्सियम पनि उपलब्ध गराउनु पर्छ।’ पहिला चारपटक चेकजाँच गर्ने भनिए पनि अहिले गर्भवती महिलाले नियमित आठपटकसम्म स्वास्थ्य जाँच गराउनु पर्ने उनको भनाइ छ।

मातृ मृत्युदरको मुख्य कारण अस्पतालको पहुँचमा कमी, अत्यधिक रक्तस्राव, रक्तअल्पता, उच्च रक्तचाप आदि हुन्। ‘पहिलो तीन महिनामा दिइने फोलिक एसिड भन्ने भिटामिनको कमी भयो भने बच्चाको स्नायु प्रणालीमै समस्या हुन सक्छ,’ डा. रोमा बोहोराले भनिन्, ‘कुनै पनि समस्या नभएको गर्भावस्थामा एकचोटि उच्च रक्तचाप र सुगरको मात्रा बढ्नेलगायत अरु जटिलता निम्तिन सक्छन्। यस्तो बेला गर्भवतीले सुरक्षा अपनाएर नजिकको स्वास्थ्य संस्थामा गएर नियमित परीक्षण गराउन र मानसिक तनाब लिनु हुँदैन।’ सरकारले सुत्केरी महिलाका लागि स्वास्थ्य परीक्षण गर्ने भनेको छ तर, सबै सुत्केरी महिला नियमितरूपमा स्वास्थ्य संस्थामा समेत स्वास्थ्य परीक्षणका लागि आउन सकेका छैनन्। अस्पताल अपाएक शिक्षाको कमी र घरका कामकाजले गर्दा उनीहरू अहिले पनि नियमित नियमित स्वास्थ्य चेकजाँच गर्न नसकेका उनको भनाइ छ।

‘स्वास्थ्य परीक्षणको गुणस्तरताको पनि मापन गर्नुपर्छ,’ उनले भनिन्, ‘नियमित चेकजाँच भएका सुत्केरीको पनि किन मृत्यु हुन्छ। त्यो भनेको कि गुणस्तरीय जाँच नभएर हो कि त जाँच पछि गर्भवतीलाई दिएका सल्लाह उसले नबुझेर हो।’ स्वास्थ्यकर्मीले दिएका सल्लाह गम्भीररूपमा नलिँदा गर्भवतीले लापरबाही गर्दा पनि समस्या सिर्जना हुने उनको भनाइ छ।

प्रकाशित: ३१ भाद्र २०८० ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App