१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

इलाका प्रशासनमा कर्मचारी अभाव हुँदा सेवाग्राही समस्यामा

सिंजाको नराकोट बजारमा अवस्थित इलाका प्रशासन कार्यालयमा कर्मचारी अभाव हुँदा नागरिकले सास्ती भोग्नुपरेको छ। 

सिंजा क्षेत्रका-३ वटा गाउँपालिकाका नागरिकलाई सेवा दिने उद्देश्यले सिंजाको नराकोटमा संचालन गरिएको इलाका प्रशासन कार्यालयमा कर्मचारी अभाव भएको हो।

उक्त कार्यालयबाट हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका नागरिक लाभान्वित हुँदै आएका थिए। तर केही समय यता कर्मचारी नहुँदा उनीहरूलाई नागरिकता लिने लगायत प्रशासनिक कामकाजमा समस्या हुने गरेको छ।

कामु शाखा अधिकृत नायव सुब्बा सुरत गिरीको सरुवा भएपछि इलाका प्रशासन नराकोट कर्मचारीविहीन बनेको छ। स्थानीय दलवीर रोकायाका अनुसार वर्षा यामको समयमा भौगोलिक विकटता र कठिनाइका साथ सेवा लिन आएका सेवाग्राहीहरू मारमा परेका छन्।

‘करिब एक सात देखि सेवाग्राही इलाका प्रशासनमा आएर सेवा नपाएरै फर्किने गरेका छन्। कर्मचारी नभएकै कारण सेवाग्राहीले नागरिकता नपाउनु दुखद पक्ष हो।’ उनले भने।

यस विषयमा राष्ट्रिय मानव अधिकार आयोग शाखा कार्यालय जुम्लाको ध्यानाकर्षण भएको कार्यालय प्रमुख धनराज शाहीले बताए।

‘सिंजा क्षेत्रका तीन गाउँपालिकाका नागरिकले इलाका प्रशासन नराकोटबाट नागरिकता प्राप्त गर्दै आएका थिए। एक सातादेखि इलाका प्रशासनबाट नागरिकता वितरण नभएको र जिल्ला प्रशासन कार्यालयबाटै नागरिकता वितरण भइरहेको जानकारी प्राप्त भएका छ।’ उनले भने।

तत्काल इलाका प्रशासनमा कर्मचारीको व्यवस्थापन गरी नागरिकता वितरणलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयलाई पत्राचार गर्ने प्रमुख शाहीले बताए।

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले १० दिन अघि इलाका प्रशासनमा रहेका कामु शाखा अधिकृत नायव सुब्बा सुरत गिरीको सरुवा भएका कारण समस्या भएको बताए।

‘गिरीलाई ६ महिनाका लागि इलाकामा खटाइएको थियो। अहिले उनको सरुवा भएपछि इलाका प्रशासनमा कर्मचारीविहीन भएको हो। इलाका प्रशासनमा कर्मचारीविहीन भएपछि अहिले जुम्लाको सदरमुकाममा अवस्थित जिल्ला प्रशासन कार्यालयबाटै नागरिकता वितरणको कार्य भइरहेको छ।’ उनले भने।

यस विषयमा गृह मन्त्रालयमा पनि पत्राचार गरिएको प्रजिअ घिमिरेले बताए। इलाका प्रशासनमा कर्मचारी सरुवा भएर नआउन्जेलसम्म समस्या हुने उनको बुझाइ छ। 

प्रशासनिक कामका लागि सिंजाबाट सदरमुकामसम्म आउन कठिनाइ हुने स्थानीय कालीबहादुर बुढाले बताउँछन्।

‘हिँड्न ५ घण्टा लाग्छ, बजारमा होटलमा बस्न, खान, दिनमै १ हजार सम्म खर्च हुन्छ, समयमै काम नहुँदा झन् समस्या हुने गरेको छ।’ उनले भने। 

सिंजाबाट सदरमुकामसम्म आवतजावत गर्न एक जना बराबर ६ देखि ७ सयसम्म गाडी भाडा लाग्ने गर्छ।

इलाका प्रशासन कार्यालय नरोकाटबाट सेवा लिनेहरुको संख्या हिमा गाउँपालिकामा १२ हजार १ सय ९१, कनकासुन्दरीमा १३ हजार ६ सय २५ र सिंजामा १२ हजार ५ सय ५६ जना रहेका छन्।

प्रकाशित: २५ भाद्र २०८० १७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App