१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

सुनार खोलामा जहिल्यै जाम !

वर्षासँगै गएको पहिरोका कारण कालिकोटको खाँडाचक्र-२ को सुनार खोलामा सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती भोग्नु परेको छ। सडक डिभिजन कार्यालय जुम्लाले अवरोध हटाए पनि हिलाम्मे सडकका कारण यात्रुहरू कष्ट भोग्न बाध्य छन्।

सुर्खेतबाट कालिकोट हिँडेका प्रेम शाही सोमबार दिउँसो ३ बजे खाँडाचक्र-२ सुनार खोला पुगेपछि हिलोका कारण जाममा फसे। करिब ४ घण्टा पछि बेलुका ६ बजे तिर मात्र जाम खुलेपछि उनी मान्म पुगे। यो समस्या उनको मात्र होइन, उनी जस्तै धेरै यात्रीले यस सडकमा सास्ती खेप्न बाध्य छन्।

सुर्खेतबाट दैलेख हुँदै कालिकोटको मान्मसम्मको दूरी जम्मा १ सय ५१ किमी छ। बढीमा ७ घण्टामा यात्रा गर्न सकिने सुर्खेतदेखि मान्मसम्मको सडक अवरुद्ध हुँदा २४ घण्टा सम्म लाग्ने गरेको यात्रुहरू बताउँछन्।

कालिकोटको खाडाचक्र-२ मा पर्ने सुनार खोलाको दलदले हिलोमा गाडी फसेर यात्रुलाई सास्ती हुने गरेको छ। उक्त स्थानमा ५ वर्षदेखि नै अवरोध हुने गरेको स्थानीयहरू बताउँछन्। वर्षेनि ठेक्का हुने गरे पनि गुणस्तरीय काम नहुँदा पानी पर्ने बित्तिकै सडकमा गाडी घण्टौँसम्म फस्ने गरेको समस्या छ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने कर्णाली राजमार्गको सुनार खोलाको पहिरोले वर्षौँदेखि यात्रुलाई सास्ती दिँदै आएको छ। पहिरो रोकथामका लागि सडक डिभिजन कार्यालय जुम्लाले अहिले बाटो निर्माण सुरु गरेको छ। पहिरो रोक्न ग्याविन जाली सहितको काम पनि भएको   सडक डिभिजन बताएको छ।

प्रजिअ जोरासिंह माझिले सुनार खोला सडकको एक साइटमा आसिसि गर्न लागेको बताए। 

उनले भने ‘पानी परेकाले माथिबाट पहिरो खस्दा सडक अवरुद्ध हुन पुगेको हो। अहिले पहिरो हटाउन काम भइरहेको छ।’

अब पहिले जस्तो सुनारखोलामा यात्रीलाई सास्ती नहुने उनको भनाइ छ। 

यस पटक भएको वर्षासँगै कर्णाली राजमार्गका ठाउँ ठाउँमा पहिरो जाँदा उक्त सडकमा यात्रुलाई सास्ती भएको हो।

सवारी चालकहरुका अनुसार कर्णाली राजमार्गको पादुका, दैखोला, कालेखोला, हुल्म, सेरिघाट, सुनार खोला, ताडी, पिली, टिमुरे भीरमा सडक बिग्रिएकाले यात्रुलाई सास्ती हुने गरेको छ।

प्रकाशित: २५ भाद्र २०८० १३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App