भक्तपर- २५ वर्षसम्म रोकिएको महाकाली नाच मध्यपुर थिमिमा पुनः सुरु भएको छ । अर्थ अभावका कारण बन्द भएको नाच गत बुधबार रातिदेखि प्रदर्शन थालिएको हो ।
मध्यपुर थिमि नगरपालिको वडा नम्बर ५ र ६ का युवाका सक्रियतामा नाच प्रदर्शन गरिएको हो । थिमिको युवा मिलन केन्द्रले महाकाली नाच संरक्षण समिति गठन गरी नाच प्रदर्शन थालेको हो ।
केन्द्रका अध्यक्ष सूर्यमान श्रेष्ठका अनुुसार गाईजात्राको भोलिपल्टदेखि मनाइने यो नाच नगरिएको नै २५ वर्ष भइसकेको छ । यस वर्ष भने इन्द्रजात्राको भोलिपल्टदेखि मात्रै नाच सञ्चालन गरिएको उनले बताए । गाईजात्राको भोलिपल्ट मध्यपुर थिमिमा भैरव नाच र सलाचा नाच प्रदर्शन गरिएकाले महाकाली नाचलाई इन्द्रजात्राको भोलिपल्टदेखि चार रातसम्म सञ्चालन गरिने उनले जनाए ।
मध्यपुर थिमि–५ भुँलाखेलस्थित नित्यनाथ मन्दिरमा पूजाआजा गरेपछि नाच सुरु गरिएको हो । नाच थिमिका विभिन्न टोलको परिक्रमा गरी चोकचोकमा नाच्ने प्रचलन छ ।
नाच गुरु हरिबहादुर कैती श्रेष्ठले परम्परादेखि नै देवासुर संग्राममा आधारित रहेर असुरलाई पराजित गरेपछिको विजयोत्सवका रूपमा सो नाच सातदेखि नौ तालमा नाचिन्छ ।
११ वर्षपछि जिब्रो छेडियो
मध्यपर थिमिको दिगु टोलस्थित दिगुु भैरब मन्दिर अगाडि बुधबार राति इन्द्रजात्राको जिब्रो छेडने जात्राअन्तर्गत जिब्रो छेड्ने जात्रा भएको छ । मध्यपर थिमि नगरपालिका ५ का २९ वर्षीय विरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाएका हुन् । जिब्रो छेडाएपछि नगर परिक्रमा गराइएको थियो । नगर परिक्रमापछि बालकुमारी मन्दिरमा पुगेर सियो झिकिएको थियो । यसअघि जिब्रो छेडाउने व्यक्तिको अभावमा जात्रा रोकिएको थियो ।
प्रकाशित: २३ भाद्र २०७४ ०३:२५ शुक्रबार