खोटाङ – विद्युत सर्ट हुँदा खोटाङको रुपाकोट सामुदायिक रेडियोमा आगलागी भएको छ । बिहीबार बिहान सोलारको व्याट्री र इन्भर्टर राखिएको कोठामा अचानक आगो लाग्दा दिक्तेलस्थित रेडियोको अपलिंक स्टुडियोमा आगलागी भएको हो । आगलागीमा एफएमको एक लाख बढीको क्षति भएको स्टेशन मेनेजर सूर्य तामाङले बताए।
आगलागीमा दुई वटा व्याट्री, एक थान सोलार इन्भटर, एक थान कन्ट्रोलर, तार लगायतका उपकरण जलेको छ । स्टुडियोमा लागेको आगो व्यवसायी नवराज जोशीले तत्काल निभाएकाले ठूलो क्षतिबाट जोगिएको हो । बलेको आगोको ज्वाला स्टुडियोको छानासम्म पुगेको पाइएको छ । तत्काल निभाइएकाले स्टुडियो भवन, २२ थान सोलार, १४ थान सोलार ब्याट्री, ईन्भटर, स्टुडियोको मिक्स्चर, डेस्कटप कम्प्यूटर, ल्यापटप लगायतका उपकरण जल्नबाट जोगिएको छ । सो स्टुडियोबाट अपलिंकको अन्तिम तयारी भइरहेको बेलामा आगलागी भएको स्टेशन मेनेजर तामाङले बताए । मुढेस्थित मुख्य स्टेशनबाट रेडियोको नियमित प्रशारण भने सुचारु भइरहेको छ । ‘प्रारम्भिक रुपमा क्षतिको अवलोकन गर्दा एक लाख बाह्र हजारको उपकरण जलेको पाइएको छ,’ तामाङले भने, ‘अन्य उपकरणमा क्षति पुगे नपुगेको अझै परीक्षण गर्न बाँकी छ।’
२०६४ सालमा स्थापना भएको रेडियोले हाल दैनिक ११ घण्टा प्रशारण गर्दै आएको छ । दक्षिण एसियाकै सबैभन्दा बढी शेयर सदस्य रहेको भनिएको ५ सय वाट क्षमताको रेडियोको मुख्य स्टेशनमा चट्याङले हरेक वर्ष क्षति पु¥याउँदै आएको छ । यसअघि २०६८ जेठ १५ गते, २०६९ साल चैत्र, २०७० जेठ २७ गते, २०७१ असार ५ गते, २०७३ भदौ ५ गते परेको चट्याङले रेडियोमा प्रशारण नै बन्द हुनेगरी क्षति पुर्याएको थियो ।
प्रकाशित: २२ भाद्र २०७४ ०८:५२ बिहीबार