३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

चक्रपथ बाहिर पुग्दैन मेलम्ची

काठमाडौं – झन्डै दुई दशकदेखि राजधानी उपत्यकाका बासिन्दाले देखेको मेलम्चीको पानी खाने सपना पहिलो चरणमा चक्रपथभित्रका छानिएका ठाउँमा मात्र पूरा हुनेछ । अझ मेलम्चीको पाइप गाड्न सडक खनेर हैरान भएका कपन क्षेत्रका बासिन्दाको हकमा त यो झनै टाढा छ। 

तर, पानी आउने समय अझै टुंगो लागिसकेको छैन । पाइप बिछ्याउँदा भएको धुलोधुवाँको सास्ती, भत्केको सडक र अस्तव्यस्तताबाट मुक्ति पाउने समय अझै आइसकेको छैन । दसैंमा ल्याउने भनिएको पानी पछिल्लो समयमा २०७४ भित्र ल्याइने बताइएको छ। 

तर, मेलम्चीको पानी आउँदा पानीको समस्या हट्यो भनेर राजधानीवासी रमाइहाल्नुपर्ने अवस्था छैन । आयोजनाले चक्रपथभित्रका केही क्षेत्रबाहेक पानी वितरण सञ्जालको लागि पाइप बिछ्याएको छैन । वितरण सञ्जालको पाइप बिछ्याउन नसकेपछि सबै ठाउँमा पानी पुर्‍याउन समस्या हुने देखिएको हो।

मेलम्चीको पानी उपत्यकामा ल्याउने जिम्मा पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल), आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार चक्रपथभित्र कालीमाटी, महाराजगन्ज, सामाखुसी, स्वयम्भू र चक्रपथबाहिरका सुकेधारा, कपन, जोरपाटी, तीनचुली, बौद्ध, आरुबारी, गोपीकृष्णनगर, गल्फुटारलगायतका क्षेत्रमा वितरण सञ्जालको पाइप बिछ्याइएको छैन।

मेलम्चीबाट आएको पानी चक्रपथबाहिरका स्थानमा त पुग्दैन नै । चक्रपथभित्रैका पनि तीन भागमध्ये एक भागमा मात्रै घरघरमा पानी पुग्छ ।

बजेट अभावका कारण यी क्षेत्रमा वितरण सञ्जालको पाइप बिछ्याउन नसकिएको निर्देशनालयले जनाएको छ । ‘बजेट अभावका कारण सबै क्षेत्रमा पाइप बिछ्याउन सकिएन,’ निर्देशनालयका उपनिर्देशक सूर्य कँडेलले भने, ‘पाइप नबिछ्याइएका क्षेत्रमा कसरी पानी पु¥याउने भन्ने चिन्ताको विषय बनेको छ।’ 

पहिलो चरणमा घना बस्ती भएका क्षेत्रलाई मात्रै पानी दिने लक्ष्यअनुसार डिजाइन गर्दा ठूलो जनसंख्याले मेलम्चीको पानी पिउन नपाउने संकेत उनले गरे । ‘यो क्षेत्रमा पानी वितरणको कुनै तयारी छैन,’ क्षेत्र नं. ४ का सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले कपन क्षेत्रको सडक विस्तारमा देखिएको ढिलाइबारे मंगलबार बोलाएको छलफलमा भने, ‘मेलम्चीको पानी चक्रपथभित्र मात्र वितरण हुन्छ । अरू ठाउँका लागि बजेट व्यवस्था भएको छैन।’

केयुकेएलका महाप्रबन्धक महेश भट्टराईले भने मेलम्चीको पानी सबै राजधानीबासीले पाउने दाबी गरे । ‘सबै राजधानीबासीले पानी नपाउने भ्रम फैलिएको छ,’ उनले भने, ‘नयाँ वितरण सञ्जालमार्फत पानी पठाएर सबैको घरमा मेलम्चीको पानी पुर्‍याउनेछौं ।’ 

तर, नयाँ वितरण सञ्जालको पाइप नबिछ्याएको ठाउँमा महाप्रबन्धक भट्टराईले भने जसरी सजिलै पानी पठाउन सकिने अवस्था छैन । अहिले सञ्चालनमा रहेको वितरण सञ्जालका लागि गाडिएका पाइप निकै पुराना र धेरै ठाउँमा चुहावट हुने समस्या छ । 

निर्देशनालयले पनि अहिले भइरहेको वितरण सञ्जालबाट मेलम्चीको पानी पुर्‍याउने लक्ष्य लिएको बतायो । ‘नयाँ वितरण सञ्जालको पाइप बिछ्याउन बजेट नभएपछि अहिले भइरहेका वितरण सञ्जाल प्रयोग गरेर पानी घरघरमा पु¥याउने लक्ष्य लिएका छौं,’ कँडेलले भने, ‘तर जसोतसो पानी पु¥याउन सके पनि समस्या धेरै आउने देखिन्छ ।’ अहिलेको वितरण सञ्जाल भरपर्दो नभएका कारण नयाँ वितरण सञ्जाल खडा गर्नुपर्ने उनले बताए ।

निर्देशनालयका अनुसार नयाँ वितरण सञ्जालका लागि एसियाली विकास बैंकले सन् २०१९ मा मात्रै बजेट व्यवस्था गर्ने जनाएको छ । दाताले ढिलो बजेट दिने भएपछि निर्देशनालयले बजेट व्यवस्था गर्न सरकारलाई गुहारिरहेको छ ।
‘सबै ठाउँमा मेलम्चीको पानी पु¥याउन सकिएन भने विभेद गरेजस्तो हुन्छ,’ निर्देशनालयका उपनिर्देशक कँडेलले भने, ‘नयाँ सञ्जाल निर्माण गरेर एकैपटक सबैको घरमा पानी पु¥याउन सरकारसँग बजेट माग गरेका छौं ।’ 

उनका अनुसार नयाँ वितरण सञ्जालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुँदैछ । बजेट पाएमा वितरण सञ्जाल निर्माण गर्न धेरै समय लाग्दैन । निर्देशनालय काम गर्न तयारी अवस्थामा रहेको पनि उनले जानकारी दिए।

एसियाली विकास बैंककै बजेट कुर्दा भने अहिले सञ्जाल नबनेका ठाउँमा मेलम्चीको पानी पुग्न अझै पाँच वर्ष लाग्ने अनुमान विज्ञको छ । दुई वर्षपछि बजेट आउने, त्यसपछि टेन्डर आह्वान गरेर काम थाल्दा दुईतीन वर्ष लाग्ने गर्दा पाँच वर्ष लाग्ने पिआइडीकै इन्जिनियर बताउँछन् ।

निर्देशनालयले पनि वितरण सञ्जालका लागि जसरी पनि बजेट व्यवस्था गर्न पहल गरेको दाबी गरेको छ । ‘कपन, महांकाल क्षेत्रबाटै मूल पाइप बिछ्याएर पानी भित्र्याउने तर त्यही ठाउँमा मेलम्चीको पानी पु¥याउन सकिएन भने त्यहाँका बासिन्दाले के सोच्लान,’ उनले भने, ‘स्थानीयले पछि गर्ने दबाबलाई पनि ख्याल गरेर अहिले नै सञ्जाल निर्माण काम गर्नपर्ने देखिन्छ ।’

कपनमा मंगलबार भएको एक कार्यक्रममा पनि  स्थानीयले मेलम्चीको पानी आफूहरूले किन नपाउने भनेर प्रश्न गरेका थिए । ‘मेलम्चीको पाइप गाड्न सडक खनेपछि हामीले ‘नाकाबन्दी’ को जस्तो मार खेप्न पर्‍यो,’ कपनकी देवी अधिकारीले भनिन्, ‘त्यत्रो त्याग गर्दा पनि पानी पाइएन भने राज्यले हामीमाथि ठूलो अन्याय गर्नेछ ।’

उसो त तत्कालै नयाँ वितरण सञ्जालको लागि पाइप नबिछ्याए सडक लथालिंग हुने अवस्था फेरि दोहोरिने देखिन्छ । 
सांसद थापाका अनुसार दुई अर्ब बढी लागतमा कपन क्षेत्रमा मात्रै सडकको काम भइरहेको छ । ती सडक केही वर्षभित्रमा निर्माण सम्पन्न हुन्छन् ।

एडिबीको बजेट पर्खेर बस्दा बनेका सडक भत्काएर पाइप बिछ्याउनुपर्ने हुन्छ । राजधानीबासीले मेलम्चीका नाममा फेरि पनि धुवाँधुलो खेप्नुको साथै राज्यको करोडौं बजेट पनि खेर जाने जानकारहरू बताउँछन् ।

प्रकाशित: २१ भाद्र २०७४ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App