१६ चैत्र २०८० शुक्रबार
समाज

सुन तस्करीमा ६ गाडी, पहिचान गर्न विशेष चिह्न

सुन तस्करीमा प्रयोग गरिएको गाडीमा टाँसिएको विशेष चिह्न । तस्बिर : नागरिक

केपी ढुंगाना/हिमनाथ देवकोटा

८८ किलो सुन फेला परेको बा १७ च ६४२७ नम्बरको गाडीको देब्रेतिर सुनको जलप लगाएको विशेष चिह्न थियो, जसमा अंग्रेजीमा लेखिएको थियो भिआइपी ।

विशेष चिह्नको माथिल्लो भागमा मुकुट थियो भने तल्लो भागमा चिनिया अक्षरसँगै सानो अक्षरमा भिआइपी लेखिएको थियो। केरुङ हुँदै चिनियाँ पर्यटक ओसार्न प्रयोग हुने त्यो गाडी कुनै भिआइपीको थिएन । विशेष चिह्न प्रयोग गर्नुको कारण थियो सुन तस्करीका लागि ‘लाइन क्लियर’ गर्ने।

केरुङबाट नुवाकोटसम्म पुग्दा बाटोमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनासमेत गरेर १२ वटा नाका पार गर्नुपर्छ । त्यसपछि नुवाकोट र धादिङका विभिन्न ठाउँमा गरी दुई दर्जन ठाउँमा सुरक्षा पोस्ट छन् ।

 रसुवाका टिमुरेमा ४, स्याफ्रुमा २, धुन्चेमा ३, कालिकास्थानमा २ र वेत्रावतीमा एक चेक पोस्ट छन् । टिमुरे, स्याफ्रु, धुन्चे र कालिकास्थानमा नेपाली सेनाको ब्यारेकसहित चारवटा चेक पोस्ट छन् । सीमा र धुन्चेमा सशस्त्र प्रहरीको दुईवटा चेक पोस्ट छन् । प्रहरीको सीमामा रहेका दुईसहित स्याफ्रु, धुन्चे, कालिकास्थान र वेत्रावतीमा गरी ६ वटा चेक पोस्ट छन्। 

सेटिङ मिलेका ती नाकाका सुरक्षाकर्मीले सहजै पहिचान गरून् र सेटिङ नमिलेका प्रहरीले भिआइपी सवार गाडी भनेर चेक फितलो बनाऊन् भन्ने उद्देश्यले भिआइपी चिह्न प्रयोग गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

स्रोतका अनुसार सुन तस्करीमा यस्तै प्रकृतिका अन्य ६ वटा गाडीसमेत रहेको प्रारम्भिक सूचना आएको छ, ती गाडी केरुङ–काठमाडौं आवतजावत गरिरहन्छन्। ती गाडीका ४ जना चालकमध्ये प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ। 

प्रहरीले गाडी पार्क गर्न आएका मनोज अधिकारीलाई सोमबार बिहान २ बजे ठमेल क्षेत्रमा पक्राउ गरेको थियो । रसुवागढीबाट दिलीप खड्का र स्याफ्रुबाट दाम्पा तामाङ पक्राउ परेका छन्। खड्कालाई मंगलबार काठमाडौं ल्याइएको छ भने तामाङलाई रसुवामै सोधपुछ भइरहेको छ। 

केरुङ हुँदै सुन बोकेर काठमाडौं आएको गाडी अधिकारीले चलाएका थिएनन्। उनी ठमेलमा रहेको काठमाडौं वान होटल नजिकै पार्क गरेर राखेको गाडी लिन बिहान जाँदा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीको ‘एम्बुस’ मा परेका थिए।

अर्का चालक तामाङले सुन ओसार्न प्रयोग हुने गाडी चलाउने गरेको खुले पनि प्रहरीले सुनसहित बरामद गरेको गाडी उनले चलाएका थिए या अन्यले प्रहरी निष्कर्षमा पुगिसकेको छैन।

‘प्रारम्भिक अनुसन्धानमा गोल्ड प्लेटेट विशेष चिह्न तस्करीमा संलग्नलाई सहज पहिचानका लागि प्रयोग गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न विश्वस्त स्रोतले भन्यो ,‘यस्तै अन्य गाडीसमेत रहेको सूचना आएको छ तर गाडी फेला परेको छैन ।’

सूचना आएको २ घन्टापछि अप्रेसन
अनुसन्धान स्रोतका अनुसार सुन फेला परेको गाडी भदौ १५ मा काठमाडौंबाट केरुङ गएको थियो। सो गाडी आइतबार केरुङबाट फर्किएको थियो। गाडी चलाएर आउने २ व्यक्ति ठमेलमा रहेको काठमाडौं वान होटल नजिकै पार्किङमा राखेर र्‍याडिसन होटलमा बस्न गएको खुलेको छ। गाडी काठमाडौं भित्रिएपछि आइतबार बेलुका साढे १० बजेतिर प्रहरीलाई जानकारी आएको थियो। 

तस्करीको सुनबारे जानकारी दिने व्यक्तिले प्रहरीको एक युनिटलाई मात्रै सूचना नदिई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे, महाराजगन्ज, अपराध महाशाखा र महानगरीय प्रहरी आयुक्तको कार्यालयमा जानकारी दिएको थियो।

त्यसपछि दुई वृत्त र महाशाखाको टोली गाडीको खोजीमा खटिएको थियो। महाशाखाको टोलीले करिब २ घन्टापछि गाडी फेला पारेको थियो । गाडी फेला पार्दा त्यहाँ कुनै व्यक्ति थिएनन्। त्यसपछि निगरानीमा बसिरहेका बेला बिहान २ बजे गाडी लिन आएका अधिकारी र गाडी नियन्त्रणमा लिन प्रहरी सफल भएको थियो ।

अनुसन्धानका चार कोण
महाशाखाले पक्राउ परेका २ चालकको बयान, बरामद गाडीका धनी र गाडी लिन पठाउने व्यक्तिका बारेमा विशेष टोली खटाएर अनुसन्धान गरिरहेको छ ।

चालक अधिकारी र तामाङको बयानलाई अनुसन्धानको मुख्य आधार बनाए पनि उनीहरुबाट सुन ल्याउने व्यक्तिबारे पुष्टि हुने आधारसहितको जानकारी आएको छैन ।

बरामद भएको गाडी तामाङले चलाउने गरेको देखिए पनि अधिकारी भने सोमबार बिहान मात्रै गाडी लिन गएको खुलेको छ । पक्राउ चालक र प्रहरीले फेला पारेका केही कागजपत्रका आधारमा तस्करीमा संलग्न हुन सक्ने ४ जनाको नाम आएको छ । 

नाम खुलेका चारै जना चिनियाँ नागरिक हुन् । नाम खुलेकामध्ये २ जना सम्पर्कविहीन छन् भने अन्य २ जनाको पहिचान हुन सकेको अनुसन्धान स्रोतले बतायो ।

‘अनुसन्धानमा केही व्यक्तिको नाम आएको छ । तर बरामद सुन र गाडीसँग उनीहरूको सम्बन्ध पुष्टि हुने आधार फेला परिसकेको छैन,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख जयबहादुर चन्दले भने, ‘संगठित अपराध भएकाले प्रहरी तथ्य र प्रमाणसहितको अनुसन्धानमा केन्द्रित छ । अहिले सुन भित्र्याउनेको नाम सार्वजनिक गर्ने अवस्थामा हामी छैनौं ।’

अनुसन्धानको तेस्रो कोण बरामद भएको गाडी धनीको खोजीसमेत सफल हुन सकेको छैन । गाडी सिप्रदीको नाममा रहेको खुले पनि सिप्रदीले कसलाई दिएको हो पुष्टि हुन सकेको छैन । मंगलबार सरकारी बिदा भएकाले यातायात व्यवस्था विभागबाट गाडीबारे औपचारिक जानकारी आउन सकेन। 

चौथो कोण अनुसन्धानको शंकामा तानिएका व्यक्तिको नाम, नम्बर र पक्राउ परेका चालकको सम्पर्क सञ्जालको विश्लेषण भए पनि अगाडि बढेको छैन।

अनुसन्धानको दायरामा तानिएकाको फोन कल विवरणका लागि अदालतको स्वीकृति अनिवार्य छ । पक्राउ परेकासँग केराकार गर्दैमा मंगलबार बितेको छ । सार्वजनिक बिदाका कारण अदालत बन्द हुँदा विवरण बुधबार मात्रै प्रहरीले पाउन सक्छ । 

सुराकी र पक्राउमा १३ नाम
यसअघि फेला पर्ने थोरै परिमाणको सुनमा समेत कानुनअनुसार पाउने कमिसनका लागि १ सय १५ जनासम्मको नाम सिफारिस हुने गरे पनि महाशाखाले सुनको सुराकी र बरामद गर्न खटिएकाले सरकारबाट पाउने कमिसनका लागि १३ जनाको नाम छनोट गरेको छ ।

प्रहरीले सुनको मूल सुराकीको नाम सुरक्षाका कारण नाम गोप्य खामबन्दी गरेर पठाउने गरेको छ। यसअगाडि बरामद सुनको प्रतिशतका आधारमा कमिसन दिने गरे पनि विवाद बढेपछि अर्थ मन्त्रालयले अधिकतम १५ लाखसम्म कमिसन पाउने सिलिङ तोकेको छ।

तीन वर्षमा एक सय ३२ किलो सुन बरामद
नाका सञ्चालनमा आएदेखि अहिलेसम्म रसुवामा नौ पटक साना परिमाणका मात्र सुन फेला परेका छन् । रसुवामा बरामद भएको सबैभन्दा ठूलो परिमाण ७ किलो हो । जिल्लाबाहिर भने ९ देखि ८८ किलोसम्म सुन बरामद भएका छन्। 

प्रहरी तथ्यांकअनुसार तीन वर्षमा रसुवागढी नाका हुँदै राजधानी पुर्‍याइएका १ सय ३२ किलो सुन बरामद भएको छ। केरुङबाट रसुवागढी हुँदै आएको सुन रसुवा, नुवाकोट र काठमाडौंमा फेला पर्ने गरेका छन्। यस अवधिमा पक्राउ परेकामध्ये १७ जना भरिया छन्।

केरुङ सुन तस्करीको मुख्य नाका बनेपछि मंगलबार रसुवामा जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो। जिल्लामा रहेका सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिसहितको बैठकले तस्करी नियन्त्रण गर्न नाकामा सिसिटिभी राखेर निगरानी बढाउने, डिजिटल एक्सरे र ब्यागेज एक्सरे मेसिन राख्ने र मेटल डिरेकटर वाक थ्रु गेट निर्माण गर्ने विषय गृह मन्त्रालयमा लेखेर पठाउने निर्णय गरेको सुरक्षा समितिका संयोजक हीरादेवी पौडेलले जानकारी दिइन्। काठमाडौंमा ८८ किलो सुन फेला परेको विषयमा सीमामा खटिएका प्रहरीलाई बोलाएर तीन घन्टा सोधपुछ गरिएको थियो।

प्रकाशित: २१ भाद्र २०७४ ०१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App