१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरेर मनाइयो श्रीकृष्ण जन्माष्टमी पर्व

तस्बिर राजिव खत्री

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज वैदिक सनातन धर्मावलम्बीले देशभर भगवान् श्रीकृष्णको विधिअनुसार पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाएका छन्।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा देशभरका कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेषगरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम रहने प्रचलन छ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ।

जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लागेको छ। प्राचीनकालदेखि नै पाटनको कृष्ण मन्दिरमा भक्तजनको ठूलो उपस्थिति रहने गर्छ। यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको भीड लागेको छ।

उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ।

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ। शोभायात्रा तथा रथयात्रा भने भाद्र कृष्ण नवमीको राति निकाल्ने गरिन्छ। अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको खुसियालीमा नवमीका दिन रथयात्रा निकाल्ने गरिएको हो।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको महाभारतलगायत शास्त्रीय र पौराणिक ग्रन्थमा उल्लेख छ। धर्म स्थापनाका लागि युग युगमा जन्म लिन्छु भनी कुरुक्षेत्रमा अर्जुनलाई सत्यको पक्षमा लाग्नेको रक्षा र असत्यका पक्षमा लाग्नेको संहार गर्न अवतार लिने गरेको प्रसङ्ग पनि विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ।

घरघरमा बालबालिकालाई श्रीकृष्णको स्वरूपमा सिँगार्ने प्रचलन पनि नेपाली समुदायमा बढ्न थालेको छ। विद्यालयले पनि बालबालिकालाई श्रीकृष्ण र राधाका रूपमा सिँगारेर यो सांस्कृतिक पर्व मनाउँछन्। आज दिनभर व्रत गरेका भक्तजन राति भने जाग्राम बसेर श्रीकृष्णको स्वागत गर्छन्। यस अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको थियो।

प्रकाशित: २० भाद्र २०८० १५:५२ बुधबार

श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरेर मनाइयो श्रीकृष्ण जन्माष्टमी पर्व ‘श्रीकृष्ण जन्माष्टमी