१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

भूकम्पपछिको पुनर्निर्माण: ठडियो कृष्ण मन्दिर

पुनर्निर्माण ऐतिहासिक कृष्ण मन्दिर । तस्बिर: ध्रुव/नागरिक

सदरमुकाम चौतारास्थित पुरातात्त्विक महत्वको श्रीकृष्ण मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ। विनाशकारी भूकम्पले भत्काएको यो मन्दिर साठे आठ वर्षपछि पुन निर्माण भएको हो।

श्री कृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार प्रतिनिधि सभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले पुनर्निर्माण मन्दिरको उद्घाटन गरे। उद्घाटनसँगै पुनर्निर्माण पक्की मन्दिरमा झण्डै दशकपछि स्थानीयले श्रीकृष्णको पूजा अर्चना गरेका थिए। यसअघिका वर्षमा उनीहरुले जस्ताको अस्थायी टहरोमा प्रतिस्थापित मूर्तिमा पूजा आराधना गर्थे।

विक्रम संवत् १९६४ मा स्थापित जिल्लाकै चर्चित यो मन्दिर २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले भत्काएको थियो। भूकम्पको सात वर्षपछि गत वर्षको फागुनबाट पुरातात्त्विक विभागको बजेटमा मन्दिर पुनर्निर्माण थालिएको थियो। थालनीको ६ महिना नबित्दै परम्परागत शैलीमा मन्दिर पुनर्निर्माण सम्पन्न भएको हो।

पुनर्निर्माण मन्दिर सिमेन्ट, बालुवा छड लगायत अत्याधुनिक भवन निर्माणमा प्रयोग हुने सामाग्री विहीन छ। 

‘सकेसम्म परम्परागत सामाग्री प्रयोग गरेर पुरानो शैलीमै मन्दिर पुनः ठडिएको छ,’ श्रीकृष्ण गुठीका सदस्य तथा मन्दिर पुनर्निर्माण अभियन्ता सुरेश कसजूले भने। पुरातात्त्विक विभागको २ करोड रुपैयाँ बजेटमा आरजिएस पञ्चस्तम्भ जेभी भक्तपुरले बनाएको कसजूले जानकारी दिए।

प्राचीन कालमा हालको मन्दिर रहेको स्थानमा झाडी थियो। उक्त झाडीमा रातिको समयमा सुमधुर स्वरमा बाँसुरी बज्ने र त्यति मिठो धुन भगवान् श्रीकृष्णले नै बजाएको मान्यता अनुसार मन्दिर स्थापना भएको मान्यता छ।

मन्दिर हर प्रयास गरेर परम्परागत शैलीमा पुनर्निर्माण गरिएको गुठियार तथा अभियन्ता कसजू बताउँछन्। मन्दिर तीन तलाको छ। मन्दिरको बीच तलामा श्रीकृष्णको मूर्ति प्रतिस्थापन गरिएको छ। मन्दिरको भुँईतलामा परम्परागत शैलीमा केही आधुनिकता थप्दै पुस्तकालय स्थापना गर्ने गुठीयारहरुको सोचाइ छ। पहिला पनि यहाँ पुस्तकालय थियो।

मन्दिरको उद्घाटन गर्दै निवर्तमान सभामुख सापकोटाले संस्कृति बलियो भए मात्र राष्ट्रियता मजबुत हुने बताए। ‘धर्म, संस्कृति र सम्पदाको संरक्षण यसै कारण गर्नु परेको हो,’ उनले भने।

अरनिको राजमार्ग खुल्नु अघि तिब्बतसँग व्यापार गर्ने क्रममा उपत्यकाका केही नेवार समुदायले यहीँ बसोबास थाले। यो ठाउँलाई भोट–उपत्यका ओहोरदोहोरका क्रममा शीतल ताप्ने चौतारी बनाइयो। कालान्तरमा यो ठाउँ चौतारा नामले चिनियो। तिनै नेवार समुदायका अग्रज स्वर्गीय भक्त ध्वज प्रधानको परिवार अगुवाइमा यो मन्दिर स्थापना भएको थियो।

हाल निर्मित मन्दिरमा पुनर्स्थापित श्रीकृष्ण लगायत देवताको मन्दिर प्रधानकै परिवारका सदस्यको आर्थिक सहयोगमा प्रतिस्थापित गरिएको कृष्ण मन्दिर गुठियारले जनाएको छ।

प्रकाशित: २० भाद्र २०८० १४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App