साता दिनभन्दा अघिदेखि बेपत्ता रहेका यहाँका एक वृद्ध मृत भेटिएका छन्।
भदौ १० गते दिउँसो देखि घर परिवारको सम्पर्क भन्दा बाहिर रहेका उदयपुरको ताप्ली गाउँपालिका-४ थुम्की खानिडाँडाका ७२ वर्षीय मणिराज राई मृत भेटिएका हुन्। उनको मृत शरीर खानी डाँडा नजिकै थुम्की भीरमुनि भेटिएको प्रहरीले जनाएको छ।
काम विशेषले घरबाट निस्केका उनी खानी डाँडाबाट थुम्की आउने क्रममा सो बीचमा पर्ने भीरबाट लडेर मृत्यु भएको अनुमान गरिएको छ। सम्पर्कविहीन भएका उनको खोजी गर्ने क्रममा उनको मृत शरीर सोमबार साँझ ६ः०० बजे भीरमुनि भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयाँलले बताए। भीरबाट लडेर उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।
घट्नाबारे जानकारी पाउनासाथ प्रहरी चौकी रुपाटारबाट खटेको टोलीले घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रिया पुरा गर्नका लागि इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरीक्षकसहितको टोली गएर घटनास्थलको सर्जमिन मुचुल्का गरेको छ।
वृद्धको शव सडिसकेको हुनाले पोष्टमार्टमका गर्न नमिल्ने भएकाले अन्त्येष्टिका लागि आफन्तलाई जिम्मा दिइएको र घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १९ भाद्र २०८० १४:४३ मंगलबार





