१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

एउटा पक्षले श्रीमान् खोसे, अर्कोले छोरा

रोल्पा- कोटगाउँ–३ रोल्पाकी ५९ वर्षीया मेघमाली बूढा तत्कालीन १० वर्षे माओवादी युद्धपीडित हुन् । २०५८ साल चैत्र १५ गते उनका श्रीमान्लाई माओवादीले घरबाट लगेर छेउको गाउँमा गोली हानेर मारेका थिए । एक छोरी, दुई छोराकी आमा मेघमालीले मन थामेर छोरा छोरी हुर्काउन पढाउन कसर छोडिनन् । तर, दुर्भाग्य २०५९ सालमा दाङमा पढ्ने भाइ भेट्न रोल्पाबाट झरेका मेघमालीका जेठो छोरा हीराबहादुर बूढालाई उतैबाट तत्कालीन शाही नेपाली सेनाले बेपत्ता बनायो । श्रीमान्लाई माओवादीले गाउँमै मारे । उनको हत्याको पीडा बोकी रहँदा सेनाले छोरा बेपत्ता बनाएपछि विक्षिप्त मेघमाली आज पनि पीडा बोकेरै बाँचिरहेकी छिन् ।

‘छोरा आउला भन्ने आश छैन । सुरु सुरुमा त आश लाग्थ्यो अब त आशै म¥यो । श्रीमान् कांग्रेस भएका कारणले मारेका हुन् । बिचरा गोठालो जान्थे, घरगाउँ गर्थे । के बिगारेका थिए र माओवादीले मारे ? त्यस्ता सोझाले पनि जासुसी गर्छन्,’ एकै सासमा मेघमालीले गुनासो गरिन् ‘मरेको लास वरिपरि कागजमा सुराकी लेखेर ढुंगाले च्यापेर छोडेका थिए ।’ उनलाई पीडा दिने को हुन् भन्ने पनि मेघमालीलाई थाहा छ । तर आगामी पुस्ताका लागि विगत भुल्न बाध्य छिन् ।

‘उनीहरू जस्तो गर्न त भएन नि ! माओवादी देख्दा नि मन दुख्छ । सरकार भन्दा नि मन दुख्छ । एउटाले श्रीमान् मारे एउटाले छोरा ।’ छोराको लाश वा सास जे भए पनि हेर्ने अपेक्षा अझै कतै कुनामा राखेकी मेघमाली बर्बराउँदै आँखा टिलपिल टिलपिल पार्छिन् ।

अर्को पीडित लिवाङ–४ की प्रतिमा थापाको पीडा पनि उस्तै छ । गर्भवति थिइन् । श्रीमान् ढाटे थापा बेपत्ता पाँरिदा । बाबुको अनुहारसमेत नदेखेको छोराले अहिले आठमा पढ्छ । अरुको बुबा देख्दा रहर गर्ने छोराको आश पूरा गर्न श्रीमान् फर्किन्छन् कि जस्तो लाग्छ । बूढी सासु र छोराको मुख हेरेर बाँकी जीवन जीउँदै छिन् प्रतिमा । २०÷२२ वर्षको उमेरमा भारत मजदुरी गर्न हिँडेका श्रीमान् होलेरीवाट बेपत्ता बनाइएपछि आशैआशमा जीउँदै गरेकी प्रतिमाका पीडा अहिले झन् बढ्दै छन् । ‘बिहे गरांै भने काखमा बालक छोरो  छ अनि घरमा बूढी सासु । उनीहरूकै मुख हेरेर बसे । दुःख त कति भोगँे कति ?’

बुधय कामीलाई २०५६ सालको माघमा माओवादीले बेपत्ता बनाउँदा २२ वर्षका थिए टोपेन्द्र सुनार । डकर्मी काम गर्ने बुबा काठ चिर्ने काम गरिरहेका बेला सुराकीका नाममा बेपत्ता पारिए । ‘केको सुराकी गर्नु बिचरा । प्रहरी गाउँमा आएका बेला भात पकाउन भन्यो । प्रहरीले खाना खाए । त्यही खाना नै बुबा बेपत्ता बनाउने कारण बन्यो,’ बेपत्ता परिवार टोपेन्द्र भन्छन्, ‘बेपत्ता परिवारलाई सिपमूलक तालिम दिएर कुनै रोजगारीको अवसर पाए हुन्थ्यो । अझै शान्ति भएको छैन भन्छन् । सबै मिले हुन्थ्यो ।’

कोर्चावाङ–३ की दिलकुमारी बूढाको पीडा पनि निकै गहिरो छ र श्रीमान बिरामी भएपछि औषधोपचारका लागि उनी २०६० सालमा काठमाडौं पुगिन् । हात, खुट्टा दुख्ने व्यथाले छोपेका श्रीमान्लाई भर्ना गरिएकै अस्पतालको वेडवाट सेनाले लगेपछि न लाश दियो न सास नै फिर्ता दियो । उनले भनिन्, ‘घर रोल्पा भन्दा बित्तिकै सेनाले लग्थ्यो । बालाजु ब्यारेकमा लगेका हुन भन्थे । भेट्न दिएन । धेरै पटक ब्यारेक गएँ । हार मानेर फर्किएँ ।’ श्रीमान् बेपत्ता बनाएपछि अहिले दुई छोरी हुर्काउँन ठूलो कष्ट भएको दिलकुमारी बताउँछिन् ।

‘खान पुग्ने सम्पत्ति पनि छैन । हे भगवान ! जीवन कसरी चलेको छ बखानै गर्न सक्दिन ।’ एक हल गोरु, २÷३ वटा कुखुरा, २÷३ वटा बाख्राले तीनजनाको जीवन चलाउँदै आएकी उनी निकै निराश छिन् । ‘छोरीको अगाडि बाबाको फोटो देखाउँनै हँुदैन । रुन थाल्छन्,’ उनी भन्छिन् कहिलेकाहीँ लुकेर तस्बिर हेर्छु । माओवादीले जीवनमा लगाएको गुन भनेको राहत लिन जाँदा कागजपत्र मिलाइदिएको हो । त्यसबाहेक अरु केही गरेको अनुभव छैन दिलकुमारीसँग ।

जंकोट–५ की सोङग्रा पुनलाई आफ्नो उमेर कति भयो भन्नेसमेत थाहा छैन । छोरा जगत पुन त्यतिवेला वेपत्ता भए जति बेला देशमा युद्ध थियो । दाङवाट हराएका छोरालाई कसले बेपत्ता बनायो कसले उनलाई अत्तोपत्तो छैन । ‘म ता मस्तै (धेरै) वर्ष पुगे । अब जाने (मर्ने) बेला भयो । श्रीमान् नि मरे । तीन वटी छोरी छन् । कान्छीसँग बस्छु । छोरो आउँछ कि भन्ने अझै आश छ,’ छोरो आउने झिनो आशमा छन् उनी ।

४१ वर्षीया ओमसरा सुनारको घर वडाचौर– ८ रोल्पा हो । १६-१७ वर्ष अघि १५÷१६ वर्षको छोरालाई सेनाले लगेको दिन सबैभन्दा पीडादायक बन्यो उनका लागि ।

तेवाङ–२ की ६१ वर्षीया अनि विकका श्रीमान् बुद्धिरामलाई माओवादीले बेपत्ता पारे । ‘अब त आउलान् जस्तो नि लाग्दैन । धेरै वर्ष भयो लगेको । छोराहरू भिन्दै बस्छन् । एउटी लाटी छोरी छ उसैसँग बसेकी छु,’ विक आफ्नो पिडा सुनाउँछिन्  ।

आर्थिक अवस्था असाध्यै कमजोर रहेका यी वेपत्ता परिवारसँग आफ्नो आम्दानीको श्रोत केही छैन । द्धिविधामा बाँचेका बेपत्ता परिवारको पीडामा अहिलेसम्म राज्यले किस्ताकिस्तामा दिएको १० लाख रुपैयाँ बाहेक सान्त्वना दिनसमेत कोही फर्किएका छैनन् । ६५ जना बेपत्ता रहेको रोल्पामा कतिले त राहत लिनका लागि मृतक स्वीकारेका छन् । अहिले सरकारी तथ्याङ्क हेर्ने हो भने ३३ जना बेपत्ताको सूची छ भने मृतकको नौं सय ६९ रहेको छ ।

प्रकाशित: १५ भाद्र २०७४ ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App