१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बारबरा शान्ति प्रतिष्ठानद्वारा सर्लाहीको दलित बस्तीमा राहत वितरण

सर्लाही– बारबरा शान्ति प्रतिष्ठान नेपालले हेटौंडा सामुदायिक आँखा अस्पतालको सहयोगमा सर्लाहीको सिसौटका बाढी डुबानमा परेका चमार, डोम र मुस्लिम समुदायका १ सय १३ परिवारलाई राहत वितरण गरेको छ। सर्लाहीको अतिविकट र पिछडिएको सिसौट गाउँ हाल रामनगर गाउँपालिकामा पर्छ। यहाँ चमार, डोम र मुस्लिम लगायतका विपन्न समुदायको बस्ती रहेको छ।

तीन साताअघि आएको अविरल बर्षाका कारण बागमती नदी गाउँबस्तीमा छिर्दा सिसौटको यो बस्ती पनि डुवानमा परेको थियो । डुबानका कारण यहाँका सयौं घर क्षतिग्रस्त भएका थिए भने हजारौं मानिस घरबारविहीन भएका थिए।

डुवानका कारण घरबारविहीन चमार, डोम र मुस्लिम समुदायका अतिविपन्न परिवारलाई वारबरा शान्ति प्रतिष्ठान नेपालले राहत वितरण गर्ने निर्णय गरेको थियो । राहत लिएर प्रतिष्ठानका निर्देशक शरद अधिकारी शनिबार सर्लाहीको सिसौट पुगेका थिए । प्रतिष्ठानको राहत कार्यक्रमलाई हैटौडा सामुदायिक आँखा अस्पतालको सहयोग रहेको थियो । प्रतिष्ठान र अस्पतालको टोलीले शनिबार सिसौटमा १ सय १३ घरमा राहत वितरण गरेको थियो । 

प्रतिष्ठानले राहत वितरण गरेका सामाग्रीमा चामल, चिउरा, दाल, तेल, साबुन, जीवनजल, झुल, गम्छा, बच्चाका लागि प्रतिघर ३ जोर नयाँ लुगा र ब्लान्केट गरी ५ हजार बराबरको सामग्री वितरण गरिएको थियो । भविष्यमा पनि यस गाउँमा स्वास्थ्य शिविर र अन्य सामाजिक कामका लागि प्रतिष्ठानले आउने योजना बनाएको निर्देशक अधिकारीले बताए।

प्रतिष्ठानको अतिविपन्न तथा सिमान्तकृत समुदायलाई सहयोग गर्ने नीति रहेको छ । प्रतिष्ठानका संस्थापक स्वर्गीय बारबरा एडम्स हुन्  । उनी जीवित छँदै वैतडी र दार्चुलाका स्थानीय विपन्न दलितका लागि झन्डै ३ सय घर बनाउने कार्यक्रम सम्पन्न भइसकेको छ। 

विश्व विख्यात आखा रोग विशेषज्ञ डा. सन्दुक रुइट प्रतिष्ठानको अध्यक्ष हुन् । प्रतिष्ठानले विपन्न तथा सीमान्तकृत वर्गमा भविष्यमा नयाँ कार्यक्रम गर्ने जनाएको छ । प्रतिष्ठानले अविरल बर्षाका कारण तराईका धेरै गाउँ डुबानमा परेपछि आपतकालीन राहत कार्यक्रम घोषणा गरेको थियो ।

यसअघि प्रतिष्ठानले डुबानमा परेको चितवनको माडी नगरपालिकाका वाढी पीडितका लागि २०७४ भदौं २ गते  ३ लाख रुपैयाँ सहयोग गरेको छ। उक्त सहयोग राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा प्रतिष्ठानका सदस्य डा. स्वर्णिम वाग्लेले वाढी प्रभावित माडी नगरपालिकाको राहत कोषमा हस्तान्तरण गरेका थिए।

 

प्रकाशित: ११ भाद्र २०७४ १३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App