४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

साँढे ५ हजार परिवारमा पुग्यो मानगढको खानेपानी

विराटनगर स्थित मानगढ खानेपानी आयोजनाको पानी साँढे ५ हजार परिवारमा पुगेको छ।

शुक्रबार सम्पन्न १७ औं साधारण सभामा विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था (मानगढ खानेपानी आयोजना) का अध्यक्ष रामबहादुर घिमिरेले आयोजनाले ५ हजार ६ सय ८३ परिवारमा खानेपानी पुर्‍याएको जानकारी दिए।

विराटनगर–३ स्थित मानगढबाट उपभोक्ता समिति मार्फत खानेपानी वितरण थालेको संस्थाले हाल विराटनगरको १,३, ४ र १९ नम्बर वडामा पानी वितरण गर्दै आइरहेको छ।

यस्तै बुढीगंगा गाउँपालिकाको वडा नम्बर १ मा पनि खानेपानी वितरण गरिरहेको छ। हाल संस्थाले तेस्रो चरणको सह लगानी आयोजना अघि बढाइरहेको अध्यक्ष घिमिरेले बताए। सह-लगानी अनुसार सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानी हुने भए पनि उपभोक्ताबाट ३० प्रतिशत लगानी जुटाउन समस्या हुने गरेको घिमिरेले बताए।

सरकार र विराटनगर महानगरपालिकाले सडक तथा नाला निर्माणको काम गरिरहेका कारण खानेपानीको गुणस्तर कायम गर्न पनि चुनौती थपिएको घिमिरेले सुनाए। मानगढ खानेपानी आयोजनाले खानेपानीको उत्पादन, प्रशोधन र वितरणको काम गर्दै आइरहेको छ।

आयोजनाले वितरण गरिरहेको पानी यस क्षेत्रमा नमुनाका रुपमा  रहेको छ। आयोजनाको पानी उपभोक्ताले धेरै रुचाएका कारण अत्यधिक माग रहेको भए पनि आयोजनाले माग अनुसार पानी वितरण गर्न सकिरहेको छैन। विराटनगरको खानेपानी संस्थान र अन्य आयोजनाको तुलनामा मानगढ खानेपानी आयोजनाको पानी गुणस्तरीय रहेको छ।

२०७१ मा फैलिएको जण्डिसका कारण विराटनगरका उपभोक्ताले खानेपानी संस्थानको पानीको साटो जारको पानी प्रयोग गर्दै आइरहेका छन्। तर, मानगढ खानेपानी आयोजना क्षेत्रका उपभोक्ता निर्धक्क मानगढले वितरण गरेको खानेपानी उपभोग गर्दै आएका छन्।

मानगढ खानेपानी आयोजनाले जमिनमुनिको पानी तानेर ओभरहेड ट्याङ्कीमा जम्मा गर्ने, फिल्टर गरेर मापदण्ड अनुसार गुणस्तर कायम गरेर मात्रै वितरण गर्दै आएको छ।

प्रकाशित: १६ भाद्र २०८० १३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App