३ मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

यस कारण हराउँछन् पर्यटक

वैशाख मध्यमा चारैतिर फैलिएको एउटा समाचार सबैका लागि उत्सकुता र कौतुहलको विषय बन्यो। नेपालमा भएको घटनामा आधारित समाचारका पात्र भने विदेशी थिए। चमत्कारिक वृत्तान्तझैं प्रतीत हुने त्यो घटना हो, हिउँको खोँचमा परेर ४७ दिनपछि जीवितै भेटिएका पर्यटकका बारेमा।

धादिङको रुबी भ्याली घुम्न हिँडेका २१ वर्षीय ताइवानी लियाङ सेङ यु र उनकी पे्रमिका १९ वर्षीया लिउ चेन चुन फागुन २६ गतेबाट हराएका थिए।  हराएको ४७ दिनपछि वैशाख १३ गते खोजी गर्ने क्रममा उनीहरू फेला परे। उनीहरू हिउँमा चिप्लेर खोँचमा खसेका थिए। लियाङ जीवितै भए पनि उनकी प्रेमिकाको मृत्यु भइसकेको थियो। लिवाङका अनुसार हिउँमा फसेको ४४ औं दिनमा प्रेमिकाको मृत्यु भएको थियो।

कुनै निश्चित रुटमा पर्यटक बढी हराउँछन् भनेर किटान गर्न सक्ने अवस्था छैन। तथ्यांकले पनि कमबेसी  टे्रकिङका सबै रुटमा पर्यटक हराइरहेको देखाउँछ। हिमाली क्षेत्रका टे्रकिङ रुट कतै हिउँले पुरिएका हुन्छन् त कतै अप्ठेरो संरचनाका कारण जोखिमपूर्ण हुन्छन्। यस्तोमा हिमालसम्बन्धी सामान्य अनुभव तथा प्राविधिक ज्ञानको अभावमा बाटो भुलेर पर्यटक हराउन पुग्छन्।

पर्यटक हराउनु नेपालका लागि नौलो घटना होइन। तर, हराएको ४७ दिनपछि जीवितै  फेला पर्नु भने सामान्यतया अनौठो मानिन्छ।

साउन दोस्रो साता ललितपुरकी २५ वर्षीया मुना राना र धरानका २६ वर्षीय अंकित गुरुङका शव पर्वतस्थित मोदी खोलाछेउमा भेटिए। प्रहरीका अनुसार उनीहरू टे्रकिङका लागि मुस्ताङ गएका थिए। शव बरामद भएका ठाउँमा भेटिएका कागजातका आधारमा उनीहरूको पहिचान खुले पनि घटनाका कारण खुल्न नसकेको प्रहरीले जनायो।

लाङटाङ टे्रकिंङमा निस्केका डेनमार्कका मार्टिन उड्सेन गत फागुन २३ गते रसुवाको क्याजेन गुम्बाबाट सम्पर्कविहीन भए। प्रहरीले उनको खोजी जारी राखे पनि उनी अझै भेटिएका छैनन्। नेपाल आएका एक पाकिस्तानी गत चैत २४ मा लुम्बिनी पुगे। त्यसयता उनी सम्पर्कमा आएका छैनन्। प्रहरीका अनुसार उनी अझै बेपत्ता छन्।

नेपाल घुम्न आएका विदेशी तथा देशकै विभिन्न ठाउँमा घुम्न निस्केका नेपाली हराएर खोजीका लागि प्रहरीसमक्ष उजुरी परेका यी केही उदाहरण हुन्।

प्रहरीका अनुसार नेपालका विभिन्न ठाउँ घुम्न गएका विदेशी तथा नेपाली पर्यटक बारम्बार हराइरहेका हुन्छन्। गत आर्थिक वर्षमा मात्रै १६ जना विदेशी पर्यटक हराएको तथ्यांक प्रहरी प्रधान कार्यालयसँग छ। विभिन्न ठाउँबाट प्रहरी मुख्यालयमा जानकारी गराइएका घटनामा आधारित तथ्यांक हो यो। प्रहरीका अनुसार पर्यटक हराएका कतिपय सूचना केन्द्रमा आइपुग्दैनन्। हराएका नेपाली पर्यटकको तथ्यांक भने प्रहरीसँग उपलब्ध छैन।

आव २०७३/०७४ मा हराएका १६ मध्ये ३ पर्यटक खोजतलासका क्रममा मृत अवस्थामा भेटिए। ३ जना जीवितै फेला परे। बाँकी पर्यटकको खोजतलास भइरहेको प्रहरीले जनायो। गत आवमा ६ पर्यटक हराएको सूचना भृकुटीमण्डपमा रहेको पर्यटक प्रहरी कार्यालयमा आएकोे कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक तुलसा खतिवडाले जानकारी दिइन्। 'कार्यालयमा प्राप्त सूचना नेपाल प्रहरीलाई पठाउने गरेका छौं,' उनले भनिन्, 'केन्द्रीय प्रहरीले प्राप्त गर्ने सूचना भने हाम्रो कार्यालयमा आउँदैन।' पर्यटक हराएको सूचनाचाँहि पर्यटक प्रहरीलाई स्थानीय तथा गाइड पोर्टरबाट बढी आउँछ। राजदूतावास, हराउनेका आफन्तलगायतले पर्यटक हराएपछि खोजतलासका लागि नेपाल प्रहरीमा निवेदन दिने गर्छन्।

प्रहरी प्रधान कार्यालयमा हराएका विदेशी पर्यटकका तथ्यांक भए पनि पदयात्रामा निस्केका नेपाली पनि हराउने गरेका छन्। फागुन २४ लाङटाङको गान्जा ला चुलीबाट बेपत्ता भएका ललितपुर पाटनका २५ वर्षीय योगेश शाक्य चैत ९ गते मृत फेला परे। शाक्यसँगै गएका भक्तपुर सिपाडोलका २४ वर्षीय विवेक बस्नेतलाई भने हराएको केही समयमा जीवितै उद्धार गरिएको थियो।

ट्रेकिङ जाँदा हराउँछन् बढी पर्यटक

तथ्यांकअनुसार अधिकांश पर्यटक टे्रकिङ जाँदा हिमाली क्षेत्रमा हराउने गरेको पाइन्छ। त्यसैगरी काठमाडौंबाट सम्पर्कविहीन हुने पर्यटकको तथ्यांक पनि उल्लेख्य छ। आव २०७३/७४ हराएका १६ विदेशी पर्यटकमध्ये टे्रकिङ जाँदा ८ पर्यटक हराएका थिए। त्यसैगरी काठमाडौंबाट २, पोखराबाट २ र लुम्बनीबाट १ पर्यटक हराएका थिए। बाँकी ३ जना हराएका ठाउँ नै यकिन नभएको तथ्यांक प्रहरीसँग छ। ती तीनजना नेपालमै हराएको हुन सक्ने आशंका प्रहरीको छ। हराएका मध्येबाट ३ जना मृृत फेला परेका थिए। मृत फेला पर्नेमा अन्नपूर्ण र गणेश हिमाल टे्रकिङ तथा पोखरामा फेला परेका थिए।

आव २०७२/७३ मा १४ जना हराएका विदेशी पर्यटकमध्ये २ जना जीवितै फेला परे पनि बाँकी १२ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनायो। हराएकामध्ये ४ जना काठमाडौंबाट र बाँकी १० जना विभिन्न ठाउँमा टे्रकिङ जाने क्रममा हराएको तथ्यांक प्रहरीसँग छ।

त्यसैगरी आव २०६९/०७० मा हराएका ८ विदेशी पर्यटकमध्ये ७ जना टे्रकिङकै क्रममा हराएको पाइन्छ। एक पर्यटक काठमाडौंबाट हराएको तथ्यांक प्रहरीले उपलब्ध गराएको छ। हराएका पर्यटकमध्ये दुईजना खोजतलासका क्रममा भेटिए पनि ६ जना अझै बेपत्ता छन्। ‘नेपालमा विभिन्न कामका लागि आएका पर्यटक हराइरहेका हुन्छन्,’ प्रहरी प्रवक्ता एवं डिआइजी पुष्कर कार्कीले भने, ‘धेरैजसो टे्रकिङ जाने क्रममा हिमाली क्षेत्रमा हराउने गरेका छन्।’ काठमाडौं तथा अन्य सहरी क्षेत्रबाट पनि पर्यटक हराउने गरेको उनले बताए। 'तथ्यांक हेर्दा काठमाडौंबाट पर्यटक हराएको देखिन्छ तर उनीहरू अन्यत्र घुम्न जाँदा हराएका हुन्छन्। आफन्तलाई काठमाडौंबाट अन्तिमपटक सम्पर्क गरेर कतै घुम्न गएकाले पर्यटक यहीँबाट हराएको अनुमान गरिन्छ। हिमाली क्षेत्रमा एक्लै घुम्न गएका पर्यटक बढी हराउने गरेको प्रहरी अधिकारीहरूको भनाइ छ। कार्कीले हिमाली क्षेत्रमा एक्लै घुम्न जाने पर्यटक बाटो बिराएर हराउने गरेको बताए। 'अनकन्टार ठाउँमा घुम्न पुगेका हुन्छन्,' उनले भने, 'त्यस्तो ठाउँमा न बाटो थाहा हुन्छ, न कसैलाई सोध्न सम्भव हुन्छ। यस्तो बेलामा उनीहरुले बाटो बिराउने गरेका छन्।' हिमाली क्षेत्रमा बाटो बिराएर हराउने पर्यटक भेटिने सम्भावना पनि धेरै कम हुने उनले बताए। प्रवक्ता कार्कीका अनुसार गाइड तथा पोर्टर साथमा लगेर घुम्न गएका पर्यटक कमै हराएका छन्।

प्रहरीका अनुसार कुनै निश्चित रुटमा पर्यटक बढी हराउँछन् भनेर किटान गर्न सक्ने अवस्था छैन। तथ्यांकले पनि कमबेसी  टे्रकिङका सबै रुटमा पर्यटक हराइरहेको देखाउँछ। हिमाली क्षेत्रका टे्रकिङ रुट कतै हिउँले पुरिएका हुन्छन् त कतै अप्ठेरो संरचनाका कारण जोखिमपूर्ण हुन्छन्। यस्तोमा हिमालसम्बन्धी सामान्य अनुभव तथा प्राविधिक ज्ञानको अभावमा बाटो भुलेर पर्यटक हराउन पुग्छन्।

तथ्यांक अनुसार आव २०७३/७४ मा नेदरल्यान्डका दुई र रोमानियाका एकजना अन्नपूर्ण टे्रकिङ, एकजना जापानी मनास्लु टे्रकिङ, एकजना इजरायलका मर्दी टे्रकिङ, दुईजना ताइवानी गणेश हिमाल टे्रकिङ र एकजना डेनमार्कका लाङटाङ टे्रकिङबाट हराएको पाइन्छ।

अघिल्लो आव २०७२/७३ मा पनि टे्रकिङ जाने क्रममै बढी पयर्टक हराएको पाइन्छ। हराएका १४ मध्ये ४ जना काठमाडौबाटै हराए पनि बाँकी १० जना टे्रकिङ जाने क्रममा हराएको प्रहरी तथ्यांकमा छ।

एक डच र एक चेक रिपब्लिकका नागरिक धौलागिरी टे्रकिङ, एक भारतीय मुस्ताङ, एक चिनियाँ सिन्धुपाल्चोक, एक रसियन मनाङको पिक चढ्न जाँदा र अर्का रसियन तिलिचो टे्रकिङ र एकजना ब्रिटिस र एक जापानिज सोलुखुम्बु टे्रकिङमा जाँदा हराएका थिए। त्यसैगरी लाङटाङबाट एक र गोरखाबाट अर्का एक हराएका थिए।

त्यसैगरी २०७१/७२ मा भने हराएका १२ जनामध्ये म्याग्दी र मुगुबाट एकएकजना हराएका थिए। बाँकी ८ जना काठमाडौं, एकजना चितवन र एकजना बाग्लुङबाट हराएको तथ्यांक छ।

पर्यटक प्रहरी प्रमुख खतिवडाका अनुसार साथमा गाइड तथा जानकार व्यक्ति नहुने र जानकारी लिनका लागि सबै ठाउँमा इन्टरनेट पनि नचल्ने हुँदा बाटो नदेखेर फरक बाटोमा जाँदा पर्यटक हराउने गरेका छन्। टे्रकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का कोषाध्यक्ष लीलाबल्लभ दाहाल पनि पैसा जोगाउन खोज्दा पर्यटकको ज्यान जाने गरेको बताँउछन्। ‘पहिलोपटक नेपाल आएका पर्यटक हिमाली क्षेत्रमा टे्रकिङ जान खोज्छन्,’ उनले भने, ‘गाइड तथा पोर्टरबिनै जान्छन्। उनीहरूलाई न हिमाली क्षेत्रको केही अनुभव हुन्छ न उनीहरूका साथमा हिमाल बुझेको गाइड वा पोर्टर नै हुन्छन्। यसैले गर्दा पर्यटक हराउने गरेका छन्।’ हराएका पर्यटकको हिँउमा चिप्लिएर, पहराबाट खसेर, खोँचमा परेर मृत्यु हुने गरेको उनले बताए। पर्यटक हराउनु तथा उनीहरूको मृत्यु हुनुमा सरकारी निकायकै दोष रहेको दाहालको जिकिर छ। नेपाल पर्यटन बोर्डले गाइड तथा पोर्टरबिनै टे्रकिङ अनुमति दिने गरेकाले एक्लै जाने पर्यटक  हराउने गरेको उनले दाबी गरे।

टानका उपाध्यक्ष पर्यटन व्यवसायी तेजबहादुर गुरुङले हिमाली क्षेत्रमा गाइड तथा पोर्टरबिना पर्यटकलाई अनुमति दिँदा समस्या आएको ध्यानाकर्षण गराउँदा पनि सरकारी निकायले बेवास्ता गरिरहेको बताए। बोर्डले अनुमति दिएपछि कुन पर्यटक कुन रुटमा गए भन्ने रेकर्ड राखेको हुन्छ। पर्यटक हराएमा सोहीअनुसार खोज्नुपर्ने हुन्छ।

टे्रकिङ रुटमा संकेत राखिने

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पनि पर्यटक हराइरहने विषयमा आफू चिन्तित रहेको बताउँछन्। ‘बारम्बार पर्यटक हराइरहन्छन्,’ उनले भने, ‘यसरी पर्यटक हराइरहँदा नेपालको पर्यटन प्रर्वद्धनमै असर पर्छ।’ पर्यटक हराएको कुरा विदेशमा जाँदा नेपाल सुरक्षित छैन भन्ने सन्देश जाने उनले बताए। पर्यटकले नेपाली गाइड तथा पोर्टर प्रयोग गरे हराउनेको संख्या घट्ने अनुमान उनको छ। टे्रकिङ रुटमा पर्याप्त मात्रामा संकेत नहुँदा पनि बारम्बार पर्यटक हराइरहेको उनले बताए। उनले भने, ‘एक्लै जाने पर्यटक संकेत अभावमा बाटो पत्ता लगाउन नसकेर हराउने गरेका छन्।’ बोर्डले नेपालका मुख्य टे्रकिङ रुटमा संकेत राख्ने तयारी गरिरहेको उनले बताए। ठाउँठाउँमा पर्यटक प्रहरी राख्न सकेको खण्डमा पनि हराउने पर्यटकको संख्या घट्ने अनुमान बोर्डको छ। बोर्डले यसबारे पनि योजना बनाएको छ। तर, योजना कार्यान्वयन गर्नेबारे अन्योल छ।

गाइड वा पोर्टर अनिवार्य गर्न व्यवसायीको माग

 पर्यटक हराउने क्रम बढेको भन्दै टान तथा पर्यटन व्यवसायीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराउँदै आएको छ। गाइड तथा पोर्टरबिना पर्यटकलाई अनुमति दिन नपाउने कानुन बनाउनुपर्ने टानको दबाब छ। पर्यटक हराउँदा विदेशमा गलत सन्देश जाने हुँदा कानुनमै गाइड तथा पोर्टरबिना टेकिङ अनुमति दिनै नहुने व्यवसायीले बताए। यसो गर्दा नेपालीले काम पनि पाउने र पर्यटक पनि सुरक्षित हुने व्यवसायीको भनाइ छ।

पर्यटकलाई सुरक्षाबारे योजना बुन्दै मन्त्रालय

मन्त्रालयले व्यवसायीका माग जायज नै भएको बतायो। ‘पर्यटक हराउने क्रमलाई रोक्न जरुरी छ,’ मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले भने, ‘कसरी रोक्न सकिन्छ भनेर छलफल भइरहेको छ।’ नेपाल घुम्नचाहिँ गाइड तथा पर्यटक अनिवार्य गर्दा गलत सन्देश जाने हुँदा व्यवसायीले भनेझैं निर्णय गर्न नसकिएको उनले बताए। हराएका पर्यटकको तथ्यांक हेर्दा एक्लै टे्रकिङमा जाने बढी देखिएकाले गाइड वा पोर्टर अनिवार्य गर्नुपर्ने विषयलाई बहसमा ल्याएको उनले जनाए। मन्त्रालयले तत्कालै जिपिएसमा आधारित ट्रयाकिङ सिस्टम विकास गर्नुका साथै हराउने पयर्टकको संख्यामा कमी ल्याउन स्थानीय तहसँग समन्वय गर्ने भएको छ।

मन्त्रालयले हराएका पर्यटक जानकारीमा आएलगत्तै खोजी गर्नका लागि पर्यटन विभागका महानिर्देशकको संयोजकत्वमा र्‍यापिड  रेसपोन्स टिम गठन गरेको छ। हराएको लामो समयपछि सूचना आउने हुँदा अधिकांश पर्यटकलाई जीवितै उद्धार गर्न कमै मात्र सकिएको उनले स्वीकार गरे। तर, व्यवसायीले  मन्त्रालयले बनाएको टिमको काम प्रभावकारी नभएको आरोप लगाए।

प्रकाशित: १० भाद्र २०७४ ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App