२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चिरीबाबुको चिरिच्याँट्ट ललितपुर

सडकमा छरपस्ट ढुंगा दुर्घटनाका कारण बन्छन्। ढुंगा हटाइदिने हो भने सम्भावित दुर्घटना टर्छ। ललितपुर महानगरपालिकाले छरपस्ट ढुंगालाई फ्याँक्ने होइन, तिनमा विभिन्न सन्देश कोरेर दुर्घटना रोक्ने माध्यम बनाएको छ। पुलचोकबाट मंगलबजार जाने सडककिनारमा चेतनामूलक सन्देशका साथ सजाइएका यी ढुंगा फक्रिएका फूलजस्तै सुन्दर देखिन्छन्।  

व्यवस्थापनको यो एउटा सानो नमुना मात्र हो। ललितपुर महानगरपालिकाले सिंगो नगरको सुन्दरता बढाउन विभिन्न क्षेत्रमा गरेका कार्यले धेरैको मन जितेको छ। मेयरमा लगातार दोस्रोपटक निर्वाचित मेयर चिरिबाबु महर्जन खासमा धेरै बोल्दैनन्। तर उनका काम बोल्न थालेका छन्।  

आधुनिक सहरको सौन्दर्यीकरणदेखि प्राचीन सम्पदाहरूको संरक्षणमा महानगरले उल्लेखनीय काम गरेको छ। ‘विस्तारै नगर फेरिएको महसुस भएको छ,’ मंगलबजारका विक्रम अवाल भन्छन्, ‘नाक थुन्दै सहर घुम्नुपर्ने बाध्यताबाट अहिले पार्कमा बसेर रमाइलो गर्ने अवस्थामा आएका छौं।’  

महानगरको यो परिवर्तन रातारात भएको भने होइन। मेयर महर्जनले अघिल्लो कार्यकालमा रोपेका कपुरका रुखले जस्तै उनका कार्यले सुगन्ध दिन थालेका हुन्। मेयर महर्जन पनि अघिल्लो कार्यकालका कामको प्रतिफल अहिले देखिन थालेको बताउँछन्। महानगरमा गरिएको वृक्षरोपण, सरसफाइ र उज्यालोले थुप्रै परिवर्तन देखिएको उनले बताए।  

ललितपुर महानगरपालिकामा देखिएको परिवर्तन रातारात भएको होइन। मेयर चिरीबाबु महर्जनले अघिल्लो कार्यकालमा रोपेका कपुरका रुखले जस्तै उनका असल कार्यले अहिले बासना दिन थालेका हुन्। 

३६ दशमलब १२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ललितपुर महानगरपालिका २९ वडामा विभाजित छन्। महानगरको सबैभन्दा ठूलो वडा २९ र सानो वडा १९ छ। उत्तरमा काठमाडौं महानगरपालिका, दक्षिणमा गोदावरी नगरपालिका, पूर्वमा महालक्ष्मी नगरपालिका र पश्चिममा कीर्तिपुर नगरपालिकासँग सिमाना जोडिएको ललितपुर महानगरपालिकामा अझै गर्न बाँकी काम थुप्रै छन्। ती कामलाई विस्तारै अगाडि बढाउने मेयर महर्जनको योजना छ।

अघिल्लो कार्यकालमा बस्नयोग्य सहर बनाएका महर्जनले कार्यकालका बाँकी दिनमा फोहोर, ट्राफिक, खानेपानी व्यवस्थापनलगायत काम गर्ने योजना बनाएका छन्। महानगरभित्रका मूर्त र अमूत सम्पदा संरक्षणसँगै नागरिकको जीवनयापन सजिलो बनाउन पनि प्राथमिकताका साथ काम गर्ने उनले बताए  

महानगरपालिकाले कुुसुन्तीमा अपांगमैत्री आकासे पुल बनाउने योजना पनि बनाएको छ। त्यस क्षेत्रमा सडक पार गर्नेक्रममा दुर्घटना बढ्दै गएकाले महानगरपालिकाले यस्तो योजना ल्याएको मेयर महर्जनले सुनाए। ‘आकासे पुलमा लिफ्ट पनि हुनेछ,’ उनले भने, ‘यो स्मार्ट पुलले धेरै लाभान्वित हुने विश्वास लिएका छौं।’ महानगरपालिकाले उत्पादित हस्तकला सामग्रीहरूको बिक्रीवितरण र प्रवर्धनका लागि प्रदर्शनीसहित कोसेली घर सञ्चालनमा ल्याएको महर्जनले बताए। ‘नागरिकको आर्थिक स्थितिमा सुधार नभएसम्म समग्र विकास सम्भव छैन,’ महर्जन भन्छन्, ‘हामी सानासाना विषयलाई पनि ध्यानमा राखेर अगाडि बढ्दै छौं।’  

उज्यालो सहर  

गाईजात्राको भोलिपल्ट पाटनमा मतयाः अर्थात् उज्यालो जात्रा मनाइँदै आएको छ। हातहातमा दियो लिएर सयौं श्रद्धालुले झिसमिसेमा पाटनका गलीहरू परिक्रमा गर्दा सिंगो सहर उज्यालो हुन्छ। बाँकी पृष्ठ २ मतयाः पर्वको झल्को दिने उज्यालो काम पनि महानगरपालिकाले गरेको छ। महानगरका चोकचोकमा राखिएका अग्ला बत्तीले हरेक रात सहर उज्यालो हुन्छ। महानगरका विभिन्न १२ वटा चोकमा यस्ता बत्ती राखिएका छन्। त्यस्तै महानगरलाई उज्यालो बनाउने अभियानमा स्मार्ट सडक बत्ती जडान पनि भइरहेको छ।  

महानगरपालिकाले चक्रपथभित्र मात्र होइन, त्यस बाहिरका क्षेत्रमा पनि विकास निर्माणमा उत्तिकै चासो दिएको छ। महानगरपालिकाले सुनाकोठी, धापाखेल, बुङ्मती, खोकना, हरिसिद्धिलगायत ठाउँमा पनि स्मार्ट सडक बत्ती जडान गरेको छ। ‘दिउँसो आउनुभयो भने सफा र हरियाली देख्नुहुन्छ,’ मेयर महर्जन भन्छन्, ‘साँझमा आए सफा, हरियालीसँगै स्मार्ट स्ट्रिट लाइटले सहर उज्यालो देख्नुहुन्छ।’

अनधिकृत संरचना हटाइँदै  

महानगरपालिकाले पूर्वसूचना दिएर नियमविपरीत बनाइएका संरचना हटाउँदै नगरलाई थप सुन्दर बनाउने अभियान पनि जारी राखेको छ। ललितपुर महानगरपालिका अव्यवस्थित तार हटाउने कार्यमा पहिलो स्थानीय तह बनेको उसको दाबी छ। महानगरपालिकाले पहिलो चरणमा सम्पदा क्षेत्रका तार तथा दोस्रो चरणमा कुपण्डोलदेखि सात दोबाटोसम्मका तार व्यवस्थापन गरेको छ। अन्य क्षेत्रमा पनि तार व्यवस्थापनको काम जारी छ।

चिटिक्क बगैंचा

ललितपुर महानगरपालिकाभित्र एक दर्जनभन्दा बढी पार्क निर्माण गरिएको छ। जाउलाखेलस्थित १ हजार ६० वर्गमिटरमा फैलिएको पार्कले धेरैको मन जितेको छ। ज्येष्ठ नागरिक, बालबालिका र अपांगमैत्री यो पार्कमा नगर मुस्कुराइरहेको भान हुन्छ। जाउलाखेलकै स्टिल टावरनजिकैका चिल्डे«न पार्क, मिडल पार्क, पिस पार्क र गणेशमान पार्क पनि आकर्षक छन्। चक्रपथबाहिर पनि विभिन्न पार्क निर्माण भइरहेकोे महानगरपालिकाले जनाएको छ। ‘यसले सहर राम्रो देखिँदै छ,’ मेयर महर्जन भन्छन्, ‘अझै सुन्दर बनाउने बाटोमा हामी हिँडिरहेका छौं।’  

महानगरपालिकाले ठाउँठाउँमा विभिन्न जातका फूल तथा बिरुवा रोप्ने अभियानलाई पनि निरन्तरता दिएको छ। यसबाट सहर हरियाली उन्मुख देखिन्छ। प्राचीन सम्पदा र संस्कृतिको धनी यो सहर पछिल्लो समय थप हराभरा देखिएको छ। महानगरपालिकाकोे अर्को सौन्दर्य सडकमा हरिया साइकल लेन पनि हुन्। साइकलयात्रीको सहजताका लागि कोरिएका हरिया रेखाले नगर सर्वसाधारणको स्वास्थ्य र वातावरणप्रति संवेदनशील छ भन्ने देखाउँछ।  त्यस्तै महानगरपालिका सवारीसाधन पार्किङ व्यवस्थापनमा पनि अगाडि छ। विगतमा ट्राफिक प्रहरीमा काम गरेका सीताराम हाछेथुले महानगर प्रहरीको कमान्ड सम्हालेपछि पार्किङ व्यवस्थापनमा थप सहजता देखिएको हो। ‘हाम्रो उद्देश्य सवारीधनीसहित सर्वसाधारणलाई सहज यात्राको प्रबन्ध मिलाउने हो,’ हाछेथु भन्छन्, ‘हामी विभिन्न उपाय अपनाएर सहजताको बाटोमा हिँडेका छौं।’ महानगरलाई सुन्दर बनाउने अभियानमा स्थानीय सर्वसाधारणको साथ पनि उत्तिकै महŒवपूर्ण रहेको महानगरपालिकाले जनाएको छ। सर्वसाधारणको साथ र सहयोगले नगर समृद्धिको यात्रामा अगाडि बढेको छ। विस्तारै सवारी हाकौं, सुन्दर ललितपुर बनाऔं, सभ्य बनौंलगायत सन्देश पनि महानगरपालिकाले विभिन्न माध्यमबाट दिइरहेको छ। चिरिच्याँट्ट नगर ललितपुरका सर्वसाधारणले यो सन्देश सहजै स्विकारेको प्रस्ट देखिन्छ।

प्रकाशित: १५ भाद्र २०८० ०१:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App