१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

झ्याप्प–झ्याप्प विद्युत जाने समस्याले राप्तीपारीका बासीलाई हैरानी

राप्ती सोनारी–४ धामपुरस्थित विद्युत सव–स्टेशन। तस्बिर: नागरिक।

झ्याप्प–झ्याप्प विद्युत् जाने समस्याका कारण राप्तीपारीका स्थानीयवासी हैरानी भइरहेको छ। राप्तीपारी विद्युत् वितरणका लागि नेपाल विद्युत् प्राधिकरणले बैजापुरको धामपुरमा सब–स्टेसन निर्माण गरी कोहलपुरदेखि ३३ केभी प्रसारण लाइन विस्तार गरेको थियो।

लामो समयदेखि अलपत्र परेको विद्युतीकरण योजना दुई वर्षअघि सम्पन्न भएपछि उपभोक्ताले विद्युत् सेवा उपयोग गर्न पाएका थिए। केही दिन यता राप्तीपारीको बैजापुर, बिनौना क्षेत्रमा विद्युत् सेवा अनियमित हुँदा हैरानी व्यहोर्नु परेको सर्वसाधारण नागरिकले गुनासो गरेका छन्।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनाका स्थानीय युवराज केसीले केही दिनदेखि झ्याप्प–झ्याप्प विद्युत् आउने–जाने समस्याले आफूहरू हैरान भएको गुनासो गरे। 

‘जतिबेला पनि विद्युत् आउने–जाने समस्या भइरहेको छ। विद्युत् प्राधिकरणको धामपुर सब–स्टेशनमा फोन गर्दा कर्मचारीको फोन उठ्दैन,’ उनले नागरिक न्युजसँग भने ‘विद्युत् आउने–जाने समस्याले गाउँमा कसैका टिभी बिग्रिसके, कसैका मोटर जलिसके।’

उक्त क्षेत्रमा वितरण गरिएको लाईनलाई नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले नियन्त्रण गर्दै आएको छ। नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले राप्तीपारी विद्युत्मा आएको समस्याका विषयमा अहिलेसम्म जानकारी नभएको बताए। 

‘हामीलाई अहिलेसम्म त्यहाँबाट कसैले जानकारी गराएको छैन। हाम्रो त्यहाँ नो लाईट शाखा पनि छ, समस्या भएमा जनताले त्यहाँ पनि जानकारी गराउनुपर्ने हो,’ उनले भने ।  

प्रकाशित: १३ भाद्र २०८० ११:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App