१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अर्थ मन्त्रायले सहमति नदिँदा तीन देश जोड्ने भेरी करिडोरको तल्लु–दुनै सडक अलपत्र

भेरी करिडोर अन्तरर्गत जाजरकोटको तल्लुदेखि डोल्पाको सदरमुकाम दुनैसम्म अस्थायी ट्याक ओपन भएको सडकमा पिचको काम रोकिएको छ । भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयबाट अर्थ मन्त्रालयमा ६२ किलोमिटर सडकमा पिच गर्नका लागि स्रोत सुनिश्चित गर्न माग गरिएको भएपनि अर्थले सहमति नदिँदा काम रोकिएको छ ।

अघिल्लो वर्ष नै माग गरिएको भएपनि अर्थ मन्त्रालयले सहमति नदिँदा रोकिएकोमा फेरि यो चालू आर्थिक वर्षमा पनि दोस्रो पटक पिच गर्नका लागि रकम माग गरिएको भएपनि हालसम्म अर्थ मन्त्रालयले सहमति दिएको छैन । ११८ किलोमिटर सडक मध्य ५६ किलोमिटरमा ठेक्का भइ पिचको काम जारी रहेको छ । जाजरकोटको पासागाडदेखि तल्लुसम्म पिचको काम यति बिल्ड्रस प्रालिले गरिरहेको छ । बाँकी ६२ किलोमिटर सडकमा पिच गर्नका लागि अर्थ मन्त्रालयले सहमति नदिँदा काम रोकिएको हो ।  

‘भेरी करिडोर सडक आयोजना मार्फत् यो काम भइरहेको छ । चालु आर्थिक वर्षमा माग गरी फेरि पठाएकाले सहमति पाइन्छ कि भन्ने हो’, आयोजनाका प्रमुख सुजन अधिकारी भने ‘यदि पाइहाले पनि चालु आर्थिक वर्षमा विनियोजन गरिएको बजेटभन्दा चार गुणा बढी मात्र बजेट पाउने सम्भावना छ ।’  

चालु आवमा सरकारले भेरी करिडोरका लागि भन्दै ५० करोड बिनियोजन गरेको थियो । यो बजेट अहिले चालु अवस्थामा रहेको जाजरकोट खलङ्गाको पासागाडदेखि तल्लु भइरहेको कामलाई भुक्तानी दिन समेत अपुग रकम रहेको छ । तल्लुबाट त्रिपुराकोटसम्म मात्र टेन्डर गरेर काम सुरु गरेमा मात्र यस सडक खण्डको ठूलो उपलब्धी हुने आयोजनाको भनाइ छ ।

आर्थिक वर्ष २०७९/०८० मै स्रोत सुनिश्चित गरेर काम सुरु गर्ने भनिएपनि अर्थ मन्त्रालयले सहमति नदिँदा काम रोकिएको थियो । यो आर्थिक वर्षमा दोस्रो पटक माग गर्दा पनि स्रोत सुनिश्चित गर्न ढिलाइ गरी काममा अवरोध गर्नु भनेको डोल्पा विकास विरोधी अभियान भएको डोल्पा त्रिपुराकोटका रामचन्द्र न्यौपानेले बताए ।  

कच्ची सडक र पुल नहुँदा अहिले यो सडक खण्ड हैरानीको मार्ग बन्दै गएको उनको भनाइ छ । यो सडकको बजेट सुनिश्चित नहुने हो भने आयोजनाको प्रगति समेत गर्न नसकिने अवस्था छ । कर्मचारीको सङ्ख्या थप भएपनि काम नहुँदा प्राविद्यिकहरू खाली बस्नु पर्ने अवस्था आउने सम्भावना बढेको छ ।  

भारतको रोपैडियाँ लुम्बिनी प्रदेशको नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेतको छिन्चु, सल्यानको सल्लीबजार, जाजरकोट, रुकुम पश्चिम र डोल्पा र चीनको सिमाना क्याटो, मरिम्ला जोडिने गर्दछ ।  

त्रिदेशीय सडकको रुपमा विकास गरी यसलाई सरकारले प्राथमिकता राखेर काम गरे चिनसँगको व्यापारमा समेत सहज आउने डोल्पालीले माग गर्दै आएका छन् । भेरी नदीको किनारै किनार यो सडक रहेको छ । दुनैसम्म अहिले कच्ची सडक भएपनि सो भन्दामाथि उपल्लो डोल्पामा सडक छैन । पालिकाले आफ्नै पहलमा केही आन्तरिक सडक निर्माण गरेपनि चिनबाट ल्याएका मोटरसाइकल सञ्चालन हुने गरेका छन् । दुनैबाट माथि चीनबाट आएको बाँकी सडक बिचमा जोडिन सकेको छैन । उत्ता प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले भेरी करिडोरको सडकमा बजेट अपुग हुन नदिने पटकपटक बताउँदै आएपनि अर्थ मन्त्रालयले काममा भाँचो हाल्दै आएको छ ।  

पुल निर्माणमै बाधा  

पुल निर्माण गर्नका लागि समेत अर्थ मन्त्रालयले स्रोत सुनिश्चि नगर्दा भेरी करिडोरमा बाँकी पुलको काम हुन सकेको छैन। ठेक्का लागेर निर्माण चरणमा जानुपर्ने पुलहरूमा समेत पुल विभागले डिजाइन स्वीकृत नगर्दा काममा बिलम्ब हुँदै आएको छ । बाँकी पुलको समेत बजेट अर्थ मन्त्रालयले सुनिश्चित नगर्दा ठेक्का समेत हुन सकेको छैन । भेरी करिडोरको चुँगाड, रिजिगाड, उसुमखोला, करवगाड, खदाङ, मैदे खोला पक्की पुलको लागि स्रोत सुनिश्चित हुन ढिला भएको छ । त्यस्तै तल्लु , छलगाड , झिम्रिखोला, ताँसुगाडको ठेक्का लागीसकेको छ । पिपेको मात्र डिजाइन स्वीकृत भएको छ । अन्य पुलको डिजाइन स्वीकृत नहुँदा समस्य भएको छ ।  

यि मध्ये केही ठाउँमा अहिले बेलिब्रिज पुलहरू निर्माण भएर अस्थायी रुपमा यातायातका साधनहरूरु सञ्चालनमा रहेका छन् । झिमिखोला, नलगाड, करवगाड, खदाङ, त्रिपुराकोटमा बेलिब्रिजबाट अस्थायी रुपमा यातायातका साधनहरू सञ्चालनमा रहेका छन् । रुपगाडमा अझैँ बेलिब्रिज निर्माण हुन सकेको छैन । सडक डिभिजन चौरजहारीबाट अलग गराइ भेरी करिडोर सडक आयोजना नामाकरण गरी नयाँ कार्यालय स्थापना भएको ६ महिना पुरा हुँदैछ । काममा ढिला सुस्ती गर्नेलाई छिटो गराउनका लागि ताकेता नगर्ने यस क्षेत्रका जनप्रतिनिधिका कारण काममा ढिला हुँदै आएको हो ।

प्रकाशित: ११ भाद्र २०८० ०७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App