६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नयाँ ट्रयाक खोलेर कोशी राजमार्ग सुचारु

धरान- पहिरोले सडक बगाएपछि अवरुद्ध बनेको कोशी राजमार्ग अन्तर्गत धरान भेडेटार सडक खण्डमा सवारी आवागमन सुचारु भएको छ।

सडक डिभिजन कार्यालय विराटनगरले पहिरोले सडक भत्किएको छेऊबाट भिरमा वैकल्पिकरुपमा नयाँ ट्रयाक खोलेर सोमबारदेखि यातायात आवागमन सुचारु गरेको हो। सडक डिभिजनका अनुसार करिब २ सय मिटर ट्रयाक खोलिएको छ। नयाँ ट्रयाकमा एकतर्फी सवारी आगामन सुचारु भएको हो। यातायात आवागमन सुचारु भएलगत्तै यातायात व्यावसायी, किसान, सर्वसाधारण सबैलाई राहत पुगेको प्रतिक्रिया दिएका छन् । सडक डिभिजनका साइट इञ्जिनियर दिपक कुमार झाका अनुसार जनजीवन सहज बनाउन तत्कालको लागि नयाँ ट्रयाक खोलेर यातायात सुचारु गरिएको हो । ‘तत्कालको लागि ट्रयाक खोलेर गाडी सञ्चालनमा ल्यायौं, अहिले वान वे मात्र गाडी चलेको छ,’ झाले भने,‘यो नयाँ ट्रयाकलाई ग्याबिङ हालेर प्रोटेक्ट गछौं।’

अबिरल बर्षासँगै पहिरोले शनिबार बिहान धरान भेडेटार सडकखण्डमा पर्ने निसाने खोला नजिक सडक बगाए पछि कोशी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको थियो । सडक बगेर सवारी आवातजावत ठप्प भएपछि कोशी पहाडी जिल्लाको तराईसँग सिधा सम्पर्क टुटेको थियो भने सयौं गाडी र यात्रुहरु बीच बाटोमा अलपत्र परेका थिए । पर्यटकीय क्षेत्र साँगुरीगढी(भेडेटार) घुम्न पुगेका पर्यटकहरुको पनि विचल्ली भएको थियो । ‘नयाँ ट्रयाक खुलेपछि तत्कालकोलागि भएपनि राहत महसुस भयो, बीचबाटोमा यात्रुहरु बिचल्ली हुन पाएनन् । किसानहरुको उत्पादन बजारसम्म पुर्याउन सकिन्छ,’ धरानका युवा विनोद भटराईले भने।

कोशी राजमार्गको निसाने खोला नजिक शनिबार बिहान पहिरोले सडक भत्किएपनि त्यहाँ डेढ बर्षअघि नै सडक धसिएर जोखिमपुर्ण अवस्थामा थियो। ठूलो बर्षा र पहिरोले सडक भत्काने जोखिम थाह हुदा पनि सडक विभाग र उसको मातहतको कार्यालयले समयमै मर्मतसम्भारमा ध्यान नदिएको भन्दै जनप्रतिनिधि र सर्वसाधारणहरु भने आक्रोशित छन् । सडक डिभिजनले सडक धसिएको स्थानमा खतराको संकत राखेर एकतर्फी आवागमन गराए पनि तत्काल मर्मतमा ध्यान नदिदा ठुलो क्षति पुगेको हो। सो सडक चाडै पुर्ननिर्माण गर्न भन्दै गत महिना धरानका प्रमुख तारा सुब्बा, सांसद कृष्णकुमार राई आफै सडक डिभिजन कार्यालय विराटनगर पुगेर आग्रह गरेका थिए।

 

प्रकाशित: ३० श्रावण २०७४ १२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App