१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

स्थानीय तहबाट प्रहरी युनिटले रकम लिएको खुलासा

रौतहटका विभिन्न प्रहरी युनिटले पालिकाबाट सहयोग, घरभाडा, भवन निर्माण, सवारी साधन, इन्धन तथा चाडपर्वको नाममा रकम लिने गरेको खुलासा भएको छ।

रौतहटमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभिन्न युनिटले स्थानीय तहबाट रकम लिने गरेको महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदनबाट खुलासा भएको हो।

विभिन्न युनिटहरुले दशैँ खर्च तथा दैनिक भ्रमण भत्ता लगायतको शीर्षकमा पनि प्रहरी कार्यालयका प्रमुखहरुले पालिकाबाट अनधिकृत रुपमा रकम बुझेको मलेपको प्रतिवेदनमा देखिएको छ। आर्थिक वर्ष २०७८/०८९ को सार्वजनिक मलेप प्रतिवेदनमा प्रहरी युनिटले विभिन्न शीर्षकमा रकम लिएको देखिएको हो।

रौतहटको देवाही गोनाही नगरपालिकासंग सबैभन्दा बढी रकम  असुल गरेको पाइएको छ। देवाही गोनाही नगरपालिकासित दशैँ खर्चको नाममा इलाका प्रहरी कार्यालय देबाही गोनाहीका प्रहरी निरीक्षक राजन लम्सालले ३० हजार, लेखा राकेश यादवले १४ हजार ७ सय ७५, ससस्त्र प्रहरी निरीक्षक विक्रम बोगटीले २५ हजार ६ सय १० तथा अनुसन्धान सहायक रामाकान्त प्रसाद पटेलले दैनिक भ्रमण भत्ताको नाममा ७ हजार ५ सय रुपैया बुझेको मलेपको वार्षिक प्रतिवेदनमा उल्लेख छ। नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले यसरी पालिकासित दशैँ खर्च बुझ्नु गैरकानुनी भएको सम्बन्धित क्षेत्रका कर्मचारीहरु बताउँछन्।

देवाही गोनाही नगरपालिकाले इलाका प्रहरी कार्यालय देवाही गोनाहीलाई दुई ओटा मोटरसाइकल खरिद गर्न ४ लाख ९७ हजार ९०० र सशस्त्र प्रहरी बल बेस क्याम्प देवाही गोनाहीलाई एउटा मोटरसाइकल खरिद गर्न २ लाख ७७ हजार ९०० रुपैया सोही आर्थिक वर्षमा दिएको छ। साथै इप्रका देवाही गोनाहीले मर्मतका लागि ९५ हजार ८ सय २८ र सशस्त्र बेस देवाही गोनाहीले मर्मतका लागि ५० हजार रुपैया लिएको छ।

इप्रका र सशस्त्र बेस दुवैले मर्मतको लागि कटहरिया नगरपालिकाबाट पनि सोही आर्थिक वर्षमा रकम असुल गरेका छन्। कटहरिया नपाबाट मर्मतको लागि इप्रका देवाही गोनाहीले ९६ हजार ९५ तथा थप १ लाख २५ हजार ४७८ र सशस्त्र बेसले मोटर पम्पसेट मर्मतका लागि ११ हजार ८६५ रुपैया असुल गरेको छ।

यसै गरी परोहा नगरपालिकाले मर्मतको लागि शसस्त्र प्रहरी बल फतुवालाई २६ हजार ९ सय ५१ रुपैया दिएको देखिएको छ। यसै गरी यमुनामाई गाउँपालिकाले सुकदेब चौकका प्रहरी सहायक निरीक्षक शैलेन्द्र प्रसाद यादवलाई पूजाको लागि दुई पटक गरी २० हजार, सशस्त्र प्रहरी सुरक्षा बेस भलोहियाका नागेन्द्र कुमार साहलाई दशैँको लागि ९ हजार दिएको देखिएको छ।

यसै गरी मर्मत शीर्षकमा प्रहरी सहायक निरीक्षक उपेन्द्र मण्डलले १० हजार र अर्का प्रहरी सहायक निरीक्षक रामबाबु साहले ७ हजार बुझेका छन्। प्रहरी चौकी सुकदेव चौकले एउटा बोर्डिङ घर भाडामा लिएवापत यमुनामाई गाउँपालिकासित १ लाख रुपैया भुक्तानीका लागि बुझेको पाइएको छ।

यसै गरी इप्रका समनपुरको गाडी मर्मतको लागि गढीमाई नगरपालिकाले महावीर प्रसाद यादवलाई ३८ हजार ३३० तथा मामा भान्जा मोटर्स पार्टसलाई ६७ हजार ८६९ रुपैया भुक्तानी दिएको छ। मर्मत आदेश, मर्मत अभिलेख, मर्मत लकबुक बिना नै इप्रका समनपुरले गाडी मर्मत गराएको प्रतिवेदनबाट देखिएको हो।

यसै गरी इप्रका चन्द्रनिगाहपुरअन्तर्गत पौराई प्रहरीको बक्यौता बिजुलीको बिल १३ हजार ५ सय ३१ रुपैया र इप्रका डुमरियाको १ लाख २६ हजार १ सय ८९ रुपैया नेपाल विद्युत प्राधिकरणलाई भुक्तान गरेको जनाइएको छ।

नेपाल सरकारबाट नियमित सेवा र सुविधा बुझ्दै आएका प्रहरी कर्मचारीले पालिकाबाट विभिन्न नाममा रकम असुल गर्नु न्यायोचित नहुने बुद्धिजीवीहरुको भनाइ छ।

विवाद हुँदा सुरक्षा दिने गरेको तथा शान्ति सुरक्षामा सहयोग गर्ने गरेको भन्दै स्थानीय प्रहरी युनिट तथा सशस्त्र बेसहरुले पालिकासित रकम असुल्नु सामान्य भइसकेको छ। गाडी मर्मत तथा इन्धनको नाममा अझै पनि प्रहरी युनिट र बेसहरुले स्थानीय सरकारसंग नियमित रुपमा रकम असुल गरिरहेको पाइएको छ।

कतिपय प्रहरी युनिट तथा बेस क्याम्पहरुले सोझै पालिकाको इन्धन पाइने पम्पबाट इन्धन लिने गरेको पाइएको छ।

प्रकाशित: ८ भाद्र २०८० १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App