५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

राप्तीसोनारी गाउँपालिकामा ७ वर्षमा १४ प्रमुख

बाँकेस्थित राप्तीसोनारी गाउँपालिकामा २०७३ फागुन २८ गते दिलाराम राना पहिलो प्रमुख प्रशासकीय अधिकृतका रुपमा आए। पहिलोपटक पालिकाको कर्मचारी नेतृत्व गर्ने अवसर पाएका उनी एक महिना पनि यहाँ बसेनन्। सोही वर्षको चैत ६ गते उनी सरुवा भएर अन्यत्रै गए। त्यसको भोलिपल्टै चैत ७ गते भरतकुमार मल्लले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएर राप्तीसोनारी पुगे। उनी करिब एक वर्षसम्म राप्तीसोनारीमा कर्मचारी नेतृत्व सम्हाले। २०७९ साउन १५ गतेदेखि पुस २५ गतेसम्म राप्तीसोनारीमा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्री भ्रष्टाचार आरोप लागेपछि निलम्बित छन्।

लोकबहादुर शाही दुई महिना मात्र राप्तीसोनारीमा बसे। यसभन्दा पहिला पनी उनी केही महिना यहाँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए। बाँकेको पहाडी क्षेत्रसमेत मिलेर बनेको नेपालकै सबैभन्दा ठूलो गाउँपालिका राप्तीसोनारीमा सात वर्षमा १४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। यसको प्रत्यक्ष असर यहाँको विकाससँगै सुशासन र पालिकाको अन्य कामकाजमा परेको छ।

दिलाराम राना, भरतकुमार मल्ल, नोखिराम ओली, टोपेन्द्रबहादुर केसी, प्रकाश केसी, वीरेन्द्रबहादुर माझी, दलबहादुर बस्नेत, नरबहादुर विक, लोकबहादुर शाही, मणिराम खराल, लोकबहादुर शाही, सिंहराज डाँगी र हरिबहादुर खत्री प्रमुख प्रशासकीय अधिकृत भए। अहिले ओमप्रकाश देवकोटा प्रमुख प्रशासकीय अधिकृत छन्। लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नटिक्नु दुःखद् भएको स्थानीयहरु बताउँछन्। आखिर किन टिक्दैनन् त यहाँ प्रमुख प्रशासकीय अधिकृत?, ‘पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच आपसी समन्वय र सहकार्य नहुँदा यस्तो समस्या देखिएको हुन सक्ने आँकलन गरिएको छ।’

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध स्थापित नहुँदा पालिकाको सिंगो काम प्रभावित हुने यहाँबाट सरुवा भएर गएका एक प्रमुख प्रशासकीय अधिकृतले बताए। राप्तीसोनारीको हकमा जनप्रतिनिधि विशेष गरी अध्यक्षसँग प्रमुख प्रशासकीय अधिकृतको सम्बन्ध स्थापित हुन नसक्ने समस्या भएको उनको भनाइ छ। ‘अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतसँगको सम्बन्ध राम्रो बनाउनु भएन,’ नाम नबनाउने सर्तमा उनले भने, ‘कर्मचारी हो, उ बिनाझन्झन र दबाबबिनाको काम गर्ने खोज्छ। यहाँ त्यस्तो वातावरण नभएपछि आफू अनुकूल ठाउँ गए।’ निर्णय जनप्रतिनिधिले गरे पनि त्यसको कार्यान्वयनको पाटो कर्मचारीकै भएकाले कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध सुमधुर हुनु पर्ने उनको भनाइ छ। ‘निर्णय जनप्रतिनिधिले गर्ने हो,’ उनी भन्छन्, ‘त्यस निर्णयको प्रमाणित गर्ने, पत्राचार गर्ने, बिलिङ गर्नेलगायतका काम प्रमुख प्रशासकीय अधिकृतको हुन्छ।’

राप्तीसोनारीमा केही प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिरसमेत हुन दिइएको थिएन। कतिपय प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा त झन तालासमेत लगाइएको थियो। यसरी प्रमुख प्रशासकीय अधिकृतले काम गर्ने वातावरण सिर्जना नभएपछि यहाँ आएको थोरै समयमा अर्काे ठाउँ जानुपर्ने बाध्यता हुने बताइएको छ।

पालिकामा सात वर्षमा १४ वटा प्रमुख प्रशासकीय अधिकृत फेरिनु अस्वभाविक भएको टिप्पणी हुन थालेको छ। हरेक प्रशासनिक काममा नगरप्रमुखले हस्तक्षेप गरेकै कारण प्रशासकीय अधिकृत बस्न नसकेको कर्मचारीहरुको भनाइ छ भने जनप्रतिनिधिलाई नटेरेपछि प्रमुख प्रशासकीय अधिकृत आफैँ सरुवा भएको जनप्रतिनिधिहरु बताउँछन्।  

राप्तीसोनारी गाउँपालिकामा हालसम्म सेवा गरेका प्रमुख प्रशासकीय अधिकृतको नामावली। तस्बिरः गणेश/नागरिक

प्रकाशित: ८ भाद्र २०८० १२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App