२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

पर्यटक नहुँदा हात्ती सफारी संकटमा

नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा। यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र  वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन्। दुर्लभ एकसिङ्गे गैंडा लगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित हुन्छन्। निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि २०४१ सालबाट हात्ती सफारी गर्ने गरिएको हो। यहाँ हात्ती चढ्नकै लागि पर्यटक आउने गर्दथे। तर,पछिल्लो समय यहाँको पहिचानका रूपमा रहेको हात्ती सफारी संकटमा पर्दै गएको छ।

पछिल्लो समय हात्ती सफारी गर्ने पर्यटकको संख्या क्रमशः घट्दै गएको रेवान सौराहाका पूर्वअध्यक्ष गोकर्ण गिरीले बताए। कोरोना महामारीपछि सौराहा आउने २५ प्रतिशत पर्यटक मात्र हात्ती सफारी गर्ने गरेको उनले बताए।

हात्तीको गतिविधि चहलपहल नहुँदा सौराहाको पर्यटनमा समेत असर गरेको उनले बताए।

‘सौराहा आउने अधिकांश हात्तीको गतिविधि अवलोकन गर्न आउँथे। कोही बच्चासँग खेल्थे, कोही सफारीमा जान्थे’, उनले भने, ‘तर हात्ती घट्दै गएपछि पर्यटनमा ठूलो घाटा छ।’

यहाँका व्यवसायीले हात्ती थपेका छैनन्। स्वदेशी पर्यटक पनि घट्दै छन्। अहिले हात्ती सफारी गर्ने पर्यटक घटेसँगै हात्तीको संख्या पनि घटाएको उनले बताए। उनले दुई हात्ती घटाएर एउटा मात्र पालेका छन्।

पहिला सरकारी हात्तीमा चढेर निकुञ्जमा वन्यजन्तु अवलोकन गर्न पाइन्थ्यो। तर, अहिले सरकारी हात्तीले पर्यटक बोक्न छाडेका छन्। चितवनको सफारी पर्यटनलाई जोगाउन सौराहाका व्यवसायीले करिब २० वर्षअघिदेखि हात्ती पाल्न सुरु गरेका हुन्। कोरोना महामारी सुरु हुनुअघि हात्तीलाई भ्याईनभ्याई हुन्थ्यो। कोरोना सुरु भएपछि हात्ती करिब चार वर्ष बेकामे बने। पाल्न नसक्ने भएपछि हात्ती बिक्री गर्नुपरेको व्यवसायी नगेन्द्र चापागाईँ बताउँछन्।

उनले पाल्न नसकेपछि दुई हात्ती बेचेको बताए। उनका अनुसार एउटा हात्ती पाल्न मासिक डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म खर्च हुन्छ। एउटा हात्तीका लागि दुई कामदार राख्नुपर्दछ। तर, आम्दानी भने एक लाख रुपैयाँ पनि नहुने बताए।

तीन वर्षअघिसम्म सौराहामा हात्ती पनि थुप्रै देखिन्थे। तर, पछिल्लो समयमा सौराहामा विगत जस्तो हात्तीको चाप छैन। २०७७ सालसम्म निजी हात्ती सयभन्दा बढी रहेकामा अहिले ५० वटामा सीमित छन्। युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले प्रत्येक वर्ष सौराहामा हात्ती घटिरहेको बताए।

उनका अनुसार चितवनमा सरकारी र निजी हात्ती गरी एक सय १० हात्ती छन्। त्यसमध्ये जिल्लामा सरकारी हात्ती ६० वटा छन्। युनाइटेड हात्ती सञ्चालन सहकारीमा ३०, सपना भिलेजमा आठ, ओम रिजालका आठ र विदेशी नागरिकका चार हात्ती रहेको उनले बताए।

उनले भने, ‘राज्यको अर्थतन्त्रसँग जोडिएको पर्यटन उद्योगको बलियो खम्बाका रूपमा रहेका हात्ती संरक्षणका लागि राज्यले समेत ध्यान दिनुपर्छ।’

चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले नेपालमा आहार, खानपान र स्वास्थ्योपचारका हिसाबले हात्ती पाल्न मुस्किल रहेको जनाउँदै निजी स्तरमा हात्ती पालेर पर्यटनको विकास गर्न सक्नु सामान्य नभएको बताए।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्ती संरक्षणमा चुनौती रहेको बताए। मानव र हात्ती बिचको द्वन्द्व न्यूनीकरण आवश्यक रहेको जनाउँदै उनले सरकारले निजी स्तरमा पालेका हात्तीको दर्ता प्रक्रिया सुरु गरेको बताए।

सरकारले निजी स्तरमा पालेको हात्तीको विवरण सङ्कलन गरिरहेको भन्दै नेपालमा एक सय ५० वटा हात्ती निजी स्तरमा पालेका हात्ती रहेको उनले बताए।

उनले निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र पर्यटन व्यवसायीको त्रिपक्षीय सहकार्यबाट मात्र हात्तीको संरक्षण सम्भव रहेको बताए।

हात्ती सफारीबाट यहाँका सामुदायिक वनले आम्दानी गरेका थिए। तर, पछिल्लो समय सामुदायिक वनको पनि आम्दानी घटेको छ।

हात्ती लोपोन्मुख जनावर हो। सरकारले यसलाई किनबेच गर्न रोक लगाएको छ। यद्यपि व्यवसायीले ८० लाखदेखि एक करोड रुपैयाँसम्ममा यसको किनबेच गर्छन्। यहाँका व्यवसायीले पाल्न नसकेपछि हात्तीलाई भारतमा लगेर बेच्ने गरेका छन्। नेपालमा जंगली र घरपालुवा गरेर सात सयको हाराहारीमा हात्ती रहेको अनुमान छ।  

प्रकाशित: ८ भाद्र २०८० ०७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App