११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

‘किसिङ स्टोन’ भत्किने चिन्ता

यस्तो पनि!

सन् १८३५ मा चर्चित वैज्ञानिक चार्ल्स डार्बिन इक्वेडरको एउटा टापुमा पुग्दा प्रकृतिले बनाएको एउटा मनोहर आर्क-स्तम्भछेउ पहिलो पटक टक्क उभिएका थिए। डार्बिन चर्चित भएपछि सो स्तम्भलाई ‘डार्बिन्स आर्क’ नामकरण गरियो। सन् २०२१ मे महिनामा प्राकृतिक कारणले डार्बिन्स आर्कको माथिको भाग पहिरो गयो। अर्धवृत्तीय भाग भत्किएर दुईवटा स्तम्भ बन्न पुग्यो। डार्बिनले त्यहीँ चराहरूका विविध प्रजातिको अध्ययन गरेपछि ‘जातिहरूको उत्पत्तिको सिद्धान्त’ मा प्रस्ट हुने मौका पाएका थिए। पछि यही भ्रमणका आधारमा उनले पुस्तक पनि लेखे र विश्व चर्चित बने।

डार्बिन त्यहाँ उभिएका थिए भन्ने कुराले मात्रै पनि त्यो क्षेत्र इक्वेडरको प्रमुख पर्यटकीय स्थल बन्यो। आर्क भत्किएपछि स्तम्भ मात्रै हेर्न पनि अचेल पर्यटकहरू पुग्ने गरेका छन्।

यस्ता अनौठा ठाउँ संसारका विभिन्न स्थानमा भए पनि भियतनामको ‘किसिङ रक्स’ पनि उत्तिकै चर्चित थलो हो। टाढाबाट हेर्दा दुई ढुंगाले एकअर्कालाई चुम्बन गरे जस्तो भान पार्ने यी ढुंगा अबका केही वर्षपछि नरहने सम्भावना बढेर गएको छ। पर्यटकहरूको ओइरोका कारण किसिङ रक्समा पहिरो जाने क्रम तीव्र भएकोमा सरकार चिन्तित हुन थालेको छ।

कोरोनाको प्रकोपअघि सन् २०१९ मा मात्र यो किसिङ रक्स हेर्न ४० लाख पर्यटक पुगेका थिए।

सामुद्रिक जल स्तर बढ्दा र माछा मार्ने साना जहाजहरू यी ढुंगाको अत्यन्तै नजिक जाँदा क्रमशः पहिरो जान थालेको भियतनामको इन्स्टिच्युट अफ जियोसाइन्स एन्ड मिनरल रिसोर्सेजले जनाएको छ।

पहिले त ससाना चोइटा निस्कन्थे, पछिल्लो समय भने यस्ता चोइटा निस्कने क्रम तीव्र हुन थालेकामा वातावरणविद्हरूले चिन्ता व्यक्त गर्न थालेका छन्। यसका लागि सरकारले ‘किसिङ रक्स’ छेउछाउ नाउहरू लैजाँदा बढीमा १० किमिको गतिमा लैजानुपर्ने जस्ता नियम लगाएको छ। यसका बाबजुद पनि पहिरो जान नछाडेपछि वातावरणविद् र सरकार स्वयंको चिन्ता बढेर गएको हो।

-बिबिसी

प्रकाशित: ८ भाद्र २०८० ०१:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App