२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अनुसन्धानमा तानिए अध्यागमन प्रमुख झलकराम

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी र पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ।

राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको ६० किलो सुन तस्करीको अनुसन्धानमा अध्यागमन विभागका प्रमुख तानिएका छन्। त्रिभुवन विमानस्थलबाट बरामद भएको ६० किलो सुन तस्करी आरोपमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको सम्पर्क र सम्बन्ध देखिएको छ।

दावासँग सम्पर्क र सम्बन्ध देखिएपछि गृह मन्त्रालयले उनलाई बिहीबार नै अतिरिक्त समूहमा काज सरुवा गरेको छ। अधिकारी र दावाबीच विच्याटमा कुराकानी भएको र त्यसमा लेनदेनको समेत कुराकानी भएको भन्ने समाचारहरू प्रकाशित भएपछि मन्त्रालयले उनको काज सरुवा गरेको हो। उनी २०७९ फागुन १७ गतेदेखि अध्यागमन विभागका महानिर्देशक थिए। उनी महानिर्देशक भएपछि नै सुन तस्करी सुरु भएको थियो। त्यसक्रममा उनले दावा छिरिङसँग विच्याटमा कुराकानी गरेको पाइएको छ।

उनकै कारण तस्करीलाई बल पुगेको सिआइबीको दाबी छ। त्यसकारण उनी अनुसन्धानको राडरमा उनी तानिएका छन्। सार्वजनिक भएकाे भिडियो रिपोर्टमा सुनको अनुसन्धानमा तानिएका भियना होटलका मालिक दावा छिरिङ अध्यागमन विभागका महानिर्देशक अधिकारीबीच सुन तस्करीको पूर्वसूचना आदानप्रदान भएको दाबी गरिएको छ।  

सिआइबीले फेला पारेको विच्याटमा पनि महानिर्देशक अधिकारी र दावाबीच पानी तान्ने मोटर, त्यसको प्याकेजिङ आयात र आदानप्रदानबारे कुराकानी भएको थियो। नागरिक दैनिकले यसअघि पानी तान्ने मेसिनबाट सुन तस्करी भएको समाचार प्रकाशित गरेको थियो। प्रकाशित भएको विच्याटमा दावाले विभिन्न सन्दर्भमा अधिकारीलाई बधाईसमेत दिएको देखिन्छ।  

सोही आधारमा महानिर्देशक अधिकारीले सुन नेपाल छिराउन गृह मन्त्रालयका सबै संयन्त्र प्रयोग गरेको आशंका गरिएको छ। उनीहरूको कुराकानी भएको सुन्दा अधिकारीले दावासँग आर्थिक लाभ लिएको आशंका गरिएको छ। सिआइबीले सो विच्याट फेला पारेपछि पानी तान्ने मोटरमा सुन आएको अनुमान गरिएको छ। प्रहरीले सुन गाल्ने कारखानाबाट पानी तान्ने मेसिन पनि फेला पारेको थियो। सिआइबीको अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार महानिर्देशक अधिकारी र दावाबीच २०७८ असार ७ यता निरन्तर संवाद हुने गरेको देखिएको छ। २०७९ साउन ५ देखिका संवादमा भने राम्रो काम भएको भन्दै आर्थिक लाभको कुराकानी गरिएको प्रहरीको दाबी छ।

अधिकारी यसअघि अधिकृत हुँदा त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय र ठुला करदाता कार्यालयमा समेत कार्यरत रहेका थिए। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालयअन्तर्गत रहने अध्यागमन विभागको जिम्मेवारी दिएर पठाएका थिए। 

तर महानिर्देशक अधिकारीले सुन प्रकरणमा वास्तविकतालाई नबुझेर प्रतिशोध साँधेर विभिन्न सञ्चारमाध्यमले शंकाका भरमा बदनाम गर्न खोजेको दाबी गरेका छन्। ‘तीनचार वर्षपहिलेको सामान्य फोन सम्पर्कलाई लिएर ममाथि षड्यन्त्रपूर्ण ढंगबाट मिडियाबाजी गर्न खोजियो। कोही व्यक्तिसँग सम्पर्क हुँदैमा र केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भनेर प्रचारबाजी गरिनु गलत हो,’ उनले भने। यस्तै दावा छिरिङसँग २०७७ सालमा भएको सामान्य कुराकानीपछि उक्त व्यक्तिसँग आफ्नो कुनै सम्पर्क नरहेको उनको दाबी छ। ‘मेरो कल डिटेल हेर्न सकिन्छ। यसरी विषयको वास्तविकता नबुझी कसैको व्यक्तिगत प्रतिष्ठामा आँच आउने गरी भ्रमपूर्ण ढंगबाट प्रचारबाजी गरियो,’ उनले भने।

महानिर्देशक अधिकारीका साथै सिआइबीले एक व्यापारी भीमकान्त भण्डारीसँग पनि दावाको सम्पर्क रहेको जनाएको छ। दावासँग बिके भण्डारी नामको एउटा विच्याटबाट र अर्को ह्वाट्स एपबाट निरन्तर संवाद हुने गरेको स्रोतको दाबी छ। भण्डारीको माओवादी नेताहरूसँग उठबस रहेको छ। उनका बारेमा पनि सिआइबीले अनुसन्धान गरिरहेको र प्राविधिक कनेक्सन खोजिरहेको सिआइबी स्रोतको दाबी छ। 

यस्तो छ सार्वजनिक भएको संवाद

–म्यासेजमा दावाले ‘नमस्ते’ भनेका छन्।

–त्यसको जवाफमा अधिकारीले ‘नमस्ते’ भन्दै ‘हाउ आर यु’ लेख्छन्।

–दावाले जवाफ लेख्छन्, ‘एभ्रिथिङ गुड, थ्यांक यु दाइ।’

अधिकारीले दावालाई पानी तान्ने मोटरको फोटो पठाउँछन्, लगत्तै दावाले ‘ओके’ लेख्छन्।

–दावा छिरिङले अधिकारीलाई ‘दिस नम्बर इज अल्सो माई नम्बर’ भन्दै नम्बर दिन्छन्।

–अधिकारीले म्यासेज सिन गर्छन्। त्यसपछि उनीहरूको त्यही फोन नम्बरमा फोन संवाद भएको देखिन्छ।  

–त्यसको भोलिपल्ट दावा फेरि ‘दाइ कङ्ग्राचुलेसन’ भन्दै ‘स्याम्पेन’ सहितको म्यासेज पठाउँछन्।  

–अर्को दिन अधिकारीलाई दावाले ‘दाइ नमस्ते, आई ह्याभ गुड बिजनेस फर यु’ भन्छन्।

–लगत्तै दावाले अधिकारीलाई अर्को म्यासेज पठाउँछन्, ‘भेरी बिग अमाउन्ट क्यास, आइ नो भेरी वेल।’ अर्थात्, धेरै ठुलो पैसाको काम हो, मलाई राम्रोसँग थाहा छ। लगत्तै ‘निड टु टल्क विथ यु’ भनिएको छ।

प्रकाशित: ८ भाद्र २०८० ०१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App