१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

सुन ल्याउने चिनियाँ, कचौरा र अम्खोरा बनाउने को ?

फाइल तस्बीर

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करीमा चिनियाँ गिरोह संलग्न रहेको यकिन गरेको छ। तर नेपालबाट भारत लगिएको सुन किन्ने समूहबारे भने अझै अन्योल कायम रहेको बताइएको छ। अनुसन्धानका लागि पक्राउ परेका चिनियाँहरू नै सुन तस्करीमा रहेको यकिन गरेको सिआइबीले भारततर्फ सुन जाने निष्कर्षमा निकाले पनि किन्ने समूहबारे भने यकिन गर्न सकेको छैन । ‘सुन ल्याउने समूह पहिचान भएको छ, त्यसमा चिनियाँ नै संलग्न छन् भन्ने यकिन गरेका छौं। सुन भारततर्फ जान्छ भन्नेमा पनि यकिन भएको छ तर त्यो कुन समूहले किन्छ, भारतीय व्यापारी कति संलग्न छन् भन्नेबारे अझै खुल्न सकेको छैन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने। सिआइबीले सुन तस्करीबारे एसपी सञ्जय थापाको नेतृत्वमा अनुसन्धान गरिरहेको छ। त्यसको अनुगमन डिआइजी यज्ञविनोद पोखरेलले गरिरहेका छन्। छुट्टै कार्यालय खोलेर अनुसन्धान गरिरहेको सिआइबीले अझै दक्ष जनशक्ति आवश्यक रहेको भन्दै केही प्रहरी अधिकारीलाई सिआइबीमा ल्याउन खोजेको छ।

सिआइबीको अनुसन्धानबाट चिनियाँ गिरोहले नेपाल ल्याएको तस्करीको सुन भारतबाट दर्जनौं मानिस आएर लिएर उतै लाने गरेको पनि खुलेको छ। उनीहरूले सुन गालेर घरमा उपयोग हुने विभिन्न सामान बनाएर भारत लैजाने गरेको पाइएको छ। सिआइबीले अनुसन्धान गरिरहे पनि अन्तरदेशीय अपराधसमेत भएकाले विशेष ब्युरोले पनि यसलाई नजिकबाट हेरिरहेको छ। ब्युरोका एक अधिकृतले दिएको जानकारीअनुसार नेपालमा सुन गालेर भारत लैजाने कार्यमा धेरैजसो महिला प्रयोग भएको र ती महिलाले घरायसी सामानका रूपमा सुन लिएर जाने गरेका थिए। ‘उनीहरूले सुनलाई बाहिरबाट तामाको वा पित्तल जलप लगाई कचौरा र अम्खोरा बनाएर लैजाने गरेका रहेछन्। यसमा महिला प्रयोग भएको देखियो,’ सिआइबी स्रोतले भन्यो। स्रोतका अनुसार सुन लैजान भारतीय नागरिकलाई ठमेलको एक होटलमा राख्ने, खासगरी महिलालाई पशुपतिनाथको दर्शन गराउने, यताबाट जाँदा एक एकवटा कचौरा र अम्खोरा दिएर पठाउने गरेको पाइएको छ। त्यस्ता अम्खोरा र कचौरा भित्रपट्टि सुन राखेर बाहिर तामा र पित्तलको जलप हुने गरेकाले त्यसबारे कसैलाई शंका नहुने बताइएको छ। स्रोतका अनुसार नेपालकै कारखानामा तयार पारेर त्यस्ता सामान भारततर्फ लैजाने गरिएको छ।  

भारतीय महिलालाई नेपाल ल्याई पशुपतिनाथको दर्शन गराउने र फर्किंदा कचौरा र अम्खोराका रूपमा सुन पठाउने गरिएको स्रोतको दाबी छ। तामा र पित्तलको जलप लगाएर सुनबाट बनाइएका त्यस्ता अम्खोरा र कचौरा नेपालकै कारखानामा बनाउने गरिएको स्रोतको भनाइ छ ।  

साउन ३ गते राजस्व अनुसन्धान विभागले ‘ब्रेक सु’मार्फत हङकङबाट नेपाल आएको सुन बरामद गरेपछि सिआइबीले संगठित अपराध र अन्तरदेशीय अपराधको अनुसन्धान गरिरहेको छ। सो सम्बन्धमा प्रहरीले आशंकित मानिस पक्राउ गरी सोधपुछ जारी राखेको छ। साथै अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) सँग पनि सहयोग मागेको छ। अन्तरदेशीय अपराध भएकाले इन्टरपोलको समेत सहयोग मागेको हो। हङकङ र दुबईमा रहेका केही व्यक्तिबारे प्रहरीले इन्टरपोलको सहयोग मागेको हो।  

६० किलो सुन तस्करी प्रकरणमा हालसम्म राजस्व अनुसन्धान विभाग र सिआइबीले सातजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। साउन २ मा चिनियाँ नागरिक याओ पेचिङकै समूहले ब्रेक सुमार्फत सुन तस्करी गरेको खुलेको छ। सिआइबीले साउन ३२ गते सुन तस्करीका मुख्य आरोपी याओ पेचिङलाई पक्राउ गरेको हो। सिआइबीले ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकामाथि संगठित तस्करी मुद्दामा अनुसन्धान गरिरहेको छ।

सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके याओ पेचिङले अहिलेसम्म सुन किन्ने व्यक्तिबारे केही नबताएको सिआइबीको भनाइ छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले सिआइबीको टोलीले अनुसन्धान गरिरहेकाले यो विषय तत्काललाई बाहिर भन्न र ल्याउन उपयुक्त नभएको बताए। ‘संगठित अपराधमा अनुसन्धान भइरहेको छ, त्यसकारण केही बताउन मिल्दैन,’ डिआइजी कडायतले भने।

सिआइबी स्रोतका अनुसार गोदाममा पनि सुन लुकाउन प्रयोग भएका थप सामान बरामद भएका छन्। साथै चिनियाँलाई सहयोग गर्ने केही नेपालीलाई पनि नियन्त्रणमा लिएर सिआइबीले सोधपुछ गरिरहेको छ। केही दिनयता कम्तीमा थप पाँच गोदाममा छापा हानिएको तर सुन भने बरामद हुन नसकेको सिआइबी स्रोत बताउँछ। गोदाम रहेका घरमा तस्करीको सुन लुकाउने गरिएको पनि पुष्टि भएको बताइएको छक। सुन लुकाउन प्रयोग भएका घरबाट ब्रेक सुलगायत सामान बरामद भएका छन्क। सुन तस्करीमा संलग्न चिनियाँका कम्तीमा चार नेपाली सहयोगी पनि पक्राउ परिसकेको स्रोतको भनाइ छ। ‘तर तस्करीमा प्रत्यक्ष संलग्नता नदेखिएकाले उनीहरूको म्याद थप गरेका छैनौं,’ सिआइबीका एक अधिकारीले भने।

सिआइबी अनुसन्धानको फाइल बुझ्नुअघि राजस्व अनुसन्धान विभागले काठमाडौंमा चिनियाँका अखडा पत्ता लगाएको थियो। ठमेल, सोह्रखुट्टे, लाजिम्पाट, कपुरधारा, पानीपोखरी, टोखा र धुम्बाराहीमा चिनियाँले गोदाम तथा निवासका लागि भाडामा लिएका घरहरू पत्ता लगाएर केही स्थानमा छापा मारिएको थियो। त्यसपछि सिआइबीले उनीहरूका अरू गोदाम पहिचान गरेर थप व्यक्तिलाई नियन्त्रणमा लिने र छाड्न काम गरिरहेको छ। तर पनि सिआइबीले यो घटनाको अनुसन्धानमा दुई चिनियाँबाहेक अरूलाई पक्राउ गर्न सकेको छैन। तस्करीमा प्रत्यक्ष संलग्न देखिएका व्यक्ति पक्राउ नपरे पनि महŒवपूर्ण सूचनाहरू संकलन भएको अनुसन्धानमा संलग्न अधिकारीहरूको दाबी छ। ‘प्रहरीले पक्राउ परेकाहरूबाट महŒवपूर्ण सूचना संकलन गरेको तथा पक्राउ परेका चिनियाँ नागरिकलाई दोभासे राखेर अनुसन्धान गर्ने, बयान लिने र उनीहरूले दिएको सूचनाका आधारमा थप काम अघि बढाइएको छ,’ डिआइजी कडायतले भने। उनका अनुसार चिनियाँहरूलाई बयान लिन कठिन भएकाले दोभासे राख्नुपरेको हो। प्रहरीले उनीहरूको कनेक्सनबारे अनुसन्धान गर्न उपत्यकाबाहिरका प्राविधिक विज्ञलाई काठमाडौं ल्याउने तयारी गरेको छ। संगठित अपराध भएकाले असोज २ भित्र सिआइबीले सरकारी वकिलका कार्यालयलाई मुद्दाको प्रतिवेदन बुझाउनुपर्नेछ।

प्रकाशित: ८ भाद्र २०८० ०१:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App