बर्खायामसँगै बाढीपहिरोको जोखिमका कारण असार पहिलो सातादेखि मेलम्ची खानेपानी बन्द हुँदा उपत्यकामा खानेपानीको संकट गहिरिएको छ। आकासे पानी, खोलानालाको बाढी र अव्यवस्थित निकासले राजधानीमा अहिले पानी यत्रतत्र रहे पनि खानेपानीका लागि राजधानीवासी काकाकुल बन्न बाध्य छन्। यो परिदृश्य समुद्रको नुनिलो पानी सेवन गर्न नमिल्ने प्रसंगसँग जोडेर सुन्दै आएको कवि स्यामुअल टेलर कलरिजको चर्चित कवितांशले भनेजस्तै स्थिति छ– वाटर वाटर एभ्रिह्वेयर एन्ड नर अ ड्रप टु ड्रिङ्क (‘पानी पानी जताततै पानी, पिउन एक थोपा छैन’)।
मेलम्चीमा सम्बद्ध अधिकारीका अनुसार वर्षाको भेल र बगेर आउने गेग्रानले हेडवक्र्समा क्षति पुर्याउन सक्ने भएकाले पानीको सुरुङ बन्द गरिएको हो। खानेपानीको कुल माग ४७ करोड लिटर रहेको उपत्यकाले बर्खायाममा मात्र २२ करोड लिटर खानेपानी पाउँछ। अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले बर्खायामको अन्डरग्राउन्ड र भूसतहको दुवै गरी दैनिक २१÷२२ करोड लिटर पानी उपलब्ध गराउँदै आइरहेको छ। केयुकेएलका म्यानेजर प्रकाशकुमार राईका अनुसार केयुकेएलले परम्परागत पानीको स्रोतबाट १६÷१७ करोड लिटर र सुन्दरीजललगायत क्षेत्रबाट थप साढे ५ करोड लिटर पानी उपलब्ध गराउँदै आइरहेको छ।
मेलम्चीको तीन दशकको कथा
काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी उपभोग गर्नकै लागि तीन दशक लामो प्रतीक्षा गरे। जसोतसो पहिलोपटक २०७७ चैतमा उपत्यकावासीको धारामा मेलम्चीको पानी आएको हो। तर यति लामो प्रतीक्षामा रहेका उपत्यकावासीले मेलम्चीको पानी अझै पनि बाह्रैमास उपयोग गर्न पाइरहेका छैनन्।
२०७८ असार र साउनमा मेलम्चीमा आएको बाढीपहिरोले सो आयोजनाको हेडवक्र्स (बाँध) क्षेत्रमा ठुलो नोेक्सान पुर्यायो। जसकारण अहिले पनि मेलम्चीको पानी हिउँदयाममा केही महिना मात्रै आउने गरेको छ भने बर्खायाममा पनि बाढीपहिरोको जोखिमका कारण पानी नियमित रूपमा ल्याउन सकिएको छैन।
मेलम्ची नदीमा विनाशकारी बाढी आएको पनि दुई वर्ष बितिसक्यो तर सरकारले अहिलेसम्म हेडवक्र्स क्षेत्रमा देखिएको समस्याको स्थायी समाधान गर्न सकेको छैन। मेलम्ची नदीको पानी वितरणका लागि उद्घाटन र शुभारम्भ गर्न तँछाडमछाड गर्ने मन्त्री तथा प्रधानमन्त्री अहिले मेलम्चीको हेडवक्र्समा देखिएको समस्याको स्थायी समाधान गर्न आलटाल गर्दै आइरहेका छन्।
एडिबीको भौगर्भिक अध्ययनले पनि मेलम्चीको आयोजनाको हेडवक्र्स क्षेत्र नै सार्नुपर्ने प्रतिवेदन बुझाइसकेको छ तर हेडवक्र्स सार्ने र सुरुङ निर्माण गर्ने विषयमा सरकारले अहिलेसम्म आवश्यक निर्णय गर्न सकेको छैन।
मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले एडिबीको अध्ययन प्रतिवेदनअनुसार साबिकको हेडवक्र्स अम्बाथानभन्दा करिब चार÷पाँच सय मिटर माथिल्लो भेगमा सार्नुपर्ने बताए पनि सोसम्बन्धी आवश्यक निर्णय हुन नसकेको बताए।
यो परिदृश्य समुद्रको नुनिलो पानी सेवन गर्न नमिल्ने प्रसंगसँग जोडेर सुन्दै आएको कवि स्यामुअल टेलर कलरिजको चर्चित कवितांशले भनेजस्तै स्थिति छ– वाटर वाटर एभ्रिह्वेयर एन्ड नर अ ड्रप टु ड्रिङ्क (‘पानी पानी जताततै पानी, पिउन एक थोपा छैन’)।
‘एडिबीले अहिलेको हेडवक्र्स रहेको अम्बाथानबाट करिब चार-पाँच सय मिटर सुरुगमार्ग खनेर सर्कथली भन्ने ठाउँमा हेडवक्र्स निर्माण गर्नुपर्ने सुझाव दिएको छ,’ उनले भने, ‘यसका लागि करिब तीन-चार अर्ब रूपैयाँ खर्च लाग्ने देखिन्छ तर यस विषयमा अझैसम्म पनि सरकारले आवश्यक निर्णय गर्न सकेको छैन।’ एडिबीले दिएको प्रतिवेदनको सुझावलाई मेलम्ची खानेपानी विकास समिति हुँदै खानेपानी मन्त्रालयले स्वीकृत गरेपछि मात्रै कार्यान्वयनमा जाने गर्छ। ‘यसअघि यस्तो निर्णय गर्ने अधिकार विकास समितिमै थियो। तर अहिले यो अधिकार विकास समितिमा छैन,’ सिनियर डिभिजनल इन्जिनियर पन्तले भने, ‘पहिलाजस्तो मेलम्चीको समिति बोर्ड सशक्त छैन,’ उनले भने, ‘अहिले समितिले चाहेर मात्रै दीर्घकालीन समस्याको अन्त्य गर्न सहज छैन।’ समितिका अनुसार मेलम्चीको मुख्य सुरुङदेखि थप चार-पाँच सय मिटर थप सुरुङ खन्नुपर्ने हुन्छ। त्यसैगरी नयाँ हेडवक्र्सको संरचना र हेडवक्र्स जाने बाटोलगायत संरचना र पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ।
सिनियर डिभिजनल इन्जिनियर पन्तले समितिसँग पर्याप्त बजेट र स्रोतसाधन नहुँदा पनि थप काम गराउन असहज भइरहेको बताए।
समितिका सिनियर डिभिजनल इन्जिनियर पन्तले चालु आवकै साउनमा आएको लेदोसहितको बाढीले मेलम्चीको अम्बाथानको अस्थायी ड्याम क्षेत्रमा पनि क्षति पुर्याएको बताए। ‘यो वर्ष पनि लेदोसहितको बाढी आएको छ। अहिले पनि हेडवक्र्स क्षेत्रका संरचनामा पनि क्षति पुर्याइसकेको छ। त्यसैले दीर्घकालीन रूपमा यही हेडवक्र्सबाट गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘गत वर्ष अस्थायी बाँध बनाएर मेलम्चीको पानी ल्याउन तयार पारिएको संरचनामा पनि साउनमा आएको बाढीपहिरोले क्षति पुर्याइसकेको छ।’
सिनियर डिभिजनल इन्जिनियर पन्तले मनसुन सकिएसँगै मेलम्ची नदीमा सफा पानी बग्न थालेपछि मारत्र अस्थायी संरचना तयार पारेर हिउँदयामका लागि पानी ल्याउन प्रयास गरिने बताए। परियोजनाको काम दुई भागमा बाँडेर अघि बढाइएको थियो। मेलम्चीको २६ किलोमिटर सुरुङ, हेडवक्र्स, सुन्दरीजलको पानी प्रशोधन केन्द्र, जग्गा मुआब्जा र क्षतिपूर्तिलगायत काम मेलम्ची खानेपानी विकास समितिद्वारा हुँदै आइरहेको थियो।
मेलम्चीको पानी सुन्दरीजलमा आइसकेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले उपत्यकामा पानी वितरणका लागि आवश्यक पानी ट्यांकी र वितरणको काम गर्दै आइरहेको छ। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ सालताकाकै उपत्यकावासीलाई मेलम्चीको सपना देखाएका थिए। राज्यले मेलम्ची खानेपानी परियोजनाका लागि अहिलेसम्म ५२ अर्बभन्दा धेरै रकम खर्चिसक्यो।
केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यकामा साढे ७४ लाख घनमिटर क्षमताका १० वटा पानी ट्यांकी प्रशोधन केन्द्र र वितरण लाइन निर्माणका लागि २२ अर्बभन्दा धेरै रकम खर्च गरिसकेको छ। निर्देशनालयले मेलम्ची पानी वितरण गर्न ७६ किलोमिटरको थोक वितरण लाइन र ११ सय २२ किलोमिटर वितरण सञ्जाल तयार गरेको छ। पहिलो चरणमा ११ सय ३२ किलोमिटर वितरण सञ्जालमध्ये अहिलेसम्म ११ सय २२ किलोमिटरभन्दा धेरै पाइपलाइन तयार भइसकेको छ।
केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले मेलम्चीको पानी उपलब्ध भएको खण्डमा सन् २०२४ मार्चभित्रै पहिलो चरणको पानीलाइनको टेस्टिङ सम्पन्न गरिसक्ने दाबी गरे। ‘मेलम्चीको पानी उपलब्ध भएको खण्डमा सन् २०२४ मार्चभित्रै टेस्टिङको काम सम्पन्न गर्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘हाम्रो टेस्टिङको काम पानीको उपलब्धताको आधारमा हुनेछ।’
कार्यकारी निर्देशक सापकोटाले सरकारले पर्याप्त मात्रामा बजेट नदिँदा पनि काम गर्न अप्ठ्यारो भइरहेको बताए। केयुकेएल पिआइडीले ३३ वटा डिस्टिब्युसन मिटरिङ एरियामध्ये अहिलेसम्म १५ वटाको काम सकिसकेको छ। पिआइडीले २०६९ सालमा उपत्यकामा खानेपानीको थोक तथा वितरण लाइनको काम सुरु गरेको हो। मेलम्चीको पहिलो र दोस्रो खण्ड तयार भएको अवस्थामा दैनिक ५१ करोड लिटर पानी उपत्यकामा ल्याउन सकिनेछ। पहिलो चरणमा मेलम्चीको १७ करोड लिटर र दोस्रो चरणमा यांग्री र लार्केको ३४ करोड लिटर पानी आउनेछ।
केयुकेएलका अनुसार अहिले करिब २० प्रतिशत पानी चुहावट हुँदै आइरहेको छ। केयुकेएलका म्यानेजर राईले बर्खायाममा मेलम्चीको पानी नआउँदा उपत्यकावासीलाई पर्याप्त मात्रामा पानी वितरण गर्न नसकेको बताए। ‘हामीले चाहेर पनि उपत्यकावासीको मागअनुसार पानी वितरण गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘केयुकेएलले समयतालिका बनाएर पानी वितरण गर्दै आइरहेको छ।
पानी ट्यांकी र जलसतह नजिक भएका क्षेत्रमा पानीको प्रेसरलगायत कारणले तुलनात्मक रूपमा छिटो पानी पाउने र अन्य क्षेत्रमा नपाउने समस्या पनि विद्यमान नै छ।’ आव २०७९÷८० सम्म केयुकेएलका ग्राहक संख्या २ लाख ५४ हजार ७ सय १२ घरधुरी रहेका छन्। गत आवमा मात्रै ११ हजार १ सय ३ घरधुरी थप भएका छन्। केयुकेएलले मासिक १० हजार लिटर खानेपानी खपत गर्ने ग्राहकबाट एक सय रूपैयाँ शुल्क महसुल र ५० रूपैयाँ ढलको शुल्क उठाउन सक्ने प्रावधान छ। मासिक १० हजार लिटरभन्दा धेरै पानी खपत गर्ने ग्राहकलाई थप शुल्क लाग्ने गर्छ। केयुकेएलले पुरानो वितरण प्रणालीबाट भने १ लाख ६० हजारभन्दा धेरै ग्राहकलाई वितरण गर्दै आइरहेको छ।
प्रकाशित: ८ भाद्र २०८० ००:५१ शुक्रबार