७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

मेयर-उपमेयरको घर तोडफोड गर्ने २० जनालाई कैद र जरिवाना

जिल्ला अदालत उदयपुर।

कटारी नगरपालिकाका तत्कालीन नगरप्रमुख र उपप्रमुख घर र सार्वजनिक सम्पत्ति तोडफोड गरेको आरोपमा २० जनालाई अदालतले कैद, जरिवाना र क्षतिपूर्ति भराउने सजाय सुनाएको छ।

जिल्ला अदालत उदयपुरले सरकारी तथा व्यक्तिको सम्पत्ति तोडफोड गरेको कसुरमा कटारी नगरपालिकाका २० जना प्रतिवादीलाई कसुर ठहर गर्दै कैद, जरिवाना र क्षतिपूर्ति सजायको भागीदार बनाएको हो।

जिल्ला न्यायाधीश कृष्णप्रसाद सुबेदीको एकल इजलासले मेयर उपमेयरको सम्पत्ति तोडफोडका आरोपित ३२ मध्ये २० जनालाई कसुर ठहर गरेको हो।

कसुरदारहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा २८५ (३) ङ बमोजिम ३ महिना कैद, जनही ३ हजार जरिवाना र बिगोको २० प्रतिशत रकम क्षतिपूर्ति बापत भराउन आदेश दिएको छ। अदालतका स्रेस्तेदार भेषराज भट्टराईका अनुसार घटनामा संलग्न भएको आरोपित अन्य १० जनालाई भने आरोप पुष्टि नभएको भन्दै सफाई दिइएको छ।

आरोपितमध्ये १ जना अभिषेक खड्काको मृत्यु भइसकेको र मृत्यु दर्ता प्रमाणपत्र प्राप्त भएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३३ बमोजिम मुद्दा खारेजी गर्ने फैसला भएको छ।

त्यस्तै अर्का १४ वर्षीय बालकलाई सजाय स्थगन गर्ने निर्णय भएको तर, साबालक भएको ३ वर्षभित्र पुनः अभियोग ठहरिने घटना घटाए हालको सजायसमेत जोडिने अन्यथा सजाय भुक्तान गरिरहनु नपर्ने कानुनी व्यवस्था अनुसार फैसला भएको भट्टराईले बताए।

आरोपितहरु सन्तबहादुर मगर, बालकृष्ण थापा, टेकबहादुर श्रेष्ठ, विजय तामाङ, खोमकुमार दनुवार, थर्कबहादुर सुनवार, तोपबहादुर मगर, सफल राई, रेशमबहादुर सुनवार, दिलबहादुर थापा, राजेन्द्र राई दनुवार, सुभाष दनुवार, भुवन दनुवार, खड्गबहादुर सुनवार, दिपककुमार दनुवार, सिमोन लामा, क्षेत्रबहादुर दनुवार, हेमबहादुर सुनवार र चन्द्रबहादुर खत्रीसहित २० जना आपराधिक उपद्रको घटनाबाट स्थापित भएकाले कसुर ठहर भएको भट्टराईले बताए। घटनास्थलको सर्जमिन मुचुल्का, फोटो, भिडियो, जाहेरवालाको बकपत्र तथ्यबाट स्थापित भएकाले उनीहरुमाथि कसुर ठहर भएको अदालतको निष्कर्ष छ।

अन्य प्रतिवादीहरु रमेश कार्की, पर्वत थापामगर, भरतबहादुर खत्री, मीनकुमार मगर, विशाल अधिकारी, वर्षा राई सुनवार, श्यामकुमार माझी, धनकुमारी लायो, धनबहादुर मगर र खगेन्द्रबहादुर मगरलाई भने घटनामा संलग्न नदेखिएकाले सफाई दिने फैसला भएको छ। 

पीडितलाई क्षतिपूर्ति दिने सन्दर्भमा अदालतले खरिद र जडान गरेको अवधि र क्षति भएको अवधिबिचको अन्तराल अञ्जाम गरी समयको अन्तराल र उपभोगका आधारमा क्षति भएका सामानको ह्रासकट्टा गरी सरकारी वकिलको कार्यालयबाट दाबी भएको रकमको २० प्रतिशत उपलब्ध गराउन आदेश भएको स्रेस्तेदार भट्टराईले बताए।

गत २०७८ जेठ ५ गते कटारी नगरपालिका ४ जहडीस्थित ऐलानी जमिनमा अतिक्रमण गरेको भन्दै नगरपालिकाले सरकारी जग्गा संरक्षण गर्ने क्रममा उत्तेजित भिड आक्रमणमा उत्रिएको थियो। भिडले तत्कालीन नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भीमकुमारी राउत, वडाध्यक्ष र कर्मचारीको घर तथा सवारी साधन र इलाका प्रशासन कार्यालयमासमेत तोडफोड गरेको थियो। तोडफोडमा संलग्न भएको आरोपमा नगरपालिका र प्रशासनको तर्फबाट हुलहुज्जत गर्ने ३२ जनाविरुद्ध सरकारवादी मुद्दा दायर भएको थियो।

जहडीस्थित ऐलानी जमिन अतिक्रमण गरी स्थानीयले घर टहरा बनाएको भन्दै मेयर श्रेष्ठ आफै पुगेर घर भत्काएका थिए। सो क्रममा उत्तेजित स्थानीयहरुको भिडले मेयर श्रेष्ठ, उपमेयर राउत, वडाध्यक्ष कृष्णराज दनुवार र इन्जिनियर ओम मिश्रको घर, गाडी तथा इलाका प्रशासन कार्यालय र मदन भण्डारी लोक मार्गको सम्पर्क कार्यालय रहेको घरमा तोडफोड भएको थियो।

तोडफोडमा परी नगरपालिकाको दमकल, हाईलक्स जीप र जेसिबीमा क्षति पुगेको थियो। तोडफोडमा परी नगरपालिकाको ३१ लाख ८० हजार १ सय, इलाका प्रशासन कार्यालय, निवास र सवारी साधन गरी ६ लाख ३६ हजार ८ सय ३५, मेयर श्रेष्ठको घर तोडफोड हुँदा २८ लाख ८० हजार १ सय ८ रुपैयाँ बराबर क्षति पुगेको दाबी अदालतमा परेको थियो।

त्यस्तै उपमेयर राउतको २५ लाख २९ हजार ३ सय ७०, वडाध्यक्ष दनुवारको १८ लाख ४६ हजार ९ सय ७४, इन्जिनियर मिश्रको २० लाख १७ हजार ९ सय १ रुपैयाँ मूल्य बराबर घर तथा सम्पत्ति क्षति पुगेको दाबी परेको थियो। बादीको दावीका आधारमा सरकारी वकिल कार्यालयले १ करोड ३० लाख ६१ हजार २ सय ८८ रुपैयाँ पीडितबाट क्षतिपूर्ति भराउन माग दाबी गर्दै अदालतमा फाइल पेस गरेको थियो।

अदालतको फैसला अनुसार २० जना कसुरदारबाट पीडित पक्षलाई २६ लाख १२ हजार २ सय ५७ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने भएको छ। सरकारको नाममा रहेको कटारी ४ को कित्ता नम्बर १०८ र ७८ को २ बिघा १४ कठ्ठा जग्गा स्थानीय सन्तबहादुर सुनवार, बालकृष्ण थापा, सुवास दनुवारको नेतृत्वमा रहेको समूहले रातारात अतिक्रमण गरी घर बनाउन थालेपछि नगरपालिकाले जग्गा संरक्षण गर्ने भन्दै घर भत्काएपछि सो घटना हुन पुगेको हो।

प्रकाशित: ७ भाद्र २०८० १५:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App