३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

आशा जगाउँदै दुधकोसी पुल

स्टील ट्रस जडान गरेर ढलानको तयारीमा रहेको निर्माणाधीन दुधकोसी पुल । तस्बिर : दमन राई

खोटाङ – मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको प्रमुख नाकाकारुपमा रहेको जयरामघाटस्थित दुधकोसीमा निर्माणाधिन पक्की पुलको स्टील ट्रस जडानका काम पूरा भएको छ । लामो समयसम्म पुलको पिलर मात्र ठडिएको ठाउँमा पुलको स्टील ट्रस जडानका काम सकेर ढलानको तयारी भएपछि जिल्लाको संवृद्धिको बाटो खुल्नेमा स्थानीय आशावादी देखिन थालेका छन्।

सुस्त गतिमा भइरहेको दुधकोसीको पक्की पुल निर्माणले हाल अपेक्षित गति लिएको खोटाङ क्षेत्र नम्बर १ का सांसद पाँचकर्ण राईले बताए । काम गर्ने म्याद नाघेको ५ वर्षपछि खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोसी पुल निर्माणको कामले सर्वसाधारणमा आशा जगाएको हो । २०६६ सालमा सम्झौता भएको पुलको ८५ प्रतिशत काम पूरा भएको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका साइड ईन्जिनियर सिताराम कार्कीले बताए । जिल्लाको संवृद्धिसँग जोडिएको पुल निर्माणमा भइरहेको ढिलासुस्तीका कारण निरास जिल्लावासी स्टील ट्रस जडानसँगै उत्साहित बनेका छन्।

आगामी दशैंसम्ममा पुल निर्माणको काम सम्पन्न गर्ने गरी पुल निर्माणको काम भइरहेको साईड ईन्जिनियर कार्कीले बताए । ‘पुलको स्टील ट्रस जडानका काम सम्पन्न भएको छ,’ साईड ईन्जिनियर कार्कीले भने, ‘स्टील ट्रसमाथि ढलान गरेर आगामी दशैंसम्ममा गाडी वारपार गराउने गतिमा पुलको काम भइरहेको छ ।’ साइड ईन्जिनियर कार्कीका अनुसार पुलमा जडान गरिएको स्टील ट्रसको टर्गुलाई कस्ने, फर्मवर्कका काम गरेर ढलानका काम बाँकी छ । सम्झौता भएको ८ वर्षपछि पुल निर्माणको काम आगामी दशैंसम्ममा पूरा गर्ने निर्माण सम्वद्ध ठेकेदारले जनाएको छ । श्रोतका अनुसार दशैंसम्ममा पुल निर्माण नभए करिव डेढ करोड पेनाल्टी तिर्नुपर्ने भएकाले पनि ठेकेदार पुलको काम सक्नैपर्ने दवावमा छन् । बिक्रम पाण्डेको हुलास इन्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले २०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा २०६६ साल भदौमा पुल निर्माणका लागि सम्झौता गरेको थियो।

खोटाङको बाहुनीडाँडा र ओखलढुंगाको थाक्ले गाविस जोड्ने जयरामको पुल जिल्लाको प्रमुख नाका हो । जिल्लाको भविष्यसँग जोडिएको जयराममा पुल नबन्दाको प्रत्यक्ष असर अन्य विकास निर्माणमा समेत परिरहेको छ । स्ल्याव अर्थात ढलानका काम हुने बित्तिकै पुलबाट गाडी वारपार सुरु हुने जनाइएको छ । चिनिया प्राविधिक र चिनिया उपकरण प्रयोग गर्नुपर्ने बाध्यताका कारण पुल निर्माणको काममा ढिलाइ भएको दुधकोसी पुलका प्रोजेक्ट मेनेजर उद्धव रानामगरले बताए । करिब १० करोडको लागतमा निर्माण गर्ने भनिएको डेढ सय मिटर लामो मोटरेबल पुलको सिमेन्ट सम्बन्धी काम कालिका र स्टिल सम्बन्धी काम हुलासले जिम्मा लिएको छ । तोकिएको मितिमा दुधकोसीको पुलको काम सम्पन्न हुन नसकेपछि पुल निर्माणकालागि तीन पटक म्याद थप गरिसकिएको छ । तेश्रो पटक थपिएको पुल निर्माणको म्याद पनि गत माघ मसान्तमै सकिएको थियो।

सम्झौता भएको मितिमा पुल निर्माणको काम पूरा नहुँदा विगत ४ वर्ष यता दुधकोसीमा अस्थायी बेलिब्रिज ‘राख्ने र झिक्ने’ शिर्षकमै राज्यको वार्षिक ६० लाख रकम खर्च हुँदै आएको छ । जिल्ला जोड्ने पुलको अभावमा खोटाङमा पहिलो पल्ट २०६४ साल पुस २० गते मनाङ एयरको हेलीकोप्टरमार्फत बा १ ख १४२० र १४२२ नम्बरको दुई वटा आइसर ट्रक भित्र्याइएको थियो । त्यसपछि सेनाको हेलीकोप्टरबाट पनि जीप ल्याइएको थियो । पुल नहुँदा केही व्यवसायीले पाटपुर्जा खोलेर भरियालाई बोकाएर जिल्लामा जीप भित्र्याएका थिए । विगत ४ वर्ष यता बेलिब्रिज राख्न र झिक्नमै राज्यको २ करोड ४० लाख भन्दा बढी रकम खर्च भइसकेको छ । मोटरेबल पुलको सट्टा उपयोग हुँदै आएको फेरी नदीले बगाएपछि दुधकोसीमा हरेक हिउँद याममा बेलिब्रिज राख्ने र वर्षामा झिक्ने गरिएको छ । प्रायः जेठ अन्तिम सातातिर निकालेको बेलिब्रिज पुनः मंसिर ताका राख्ने गरिएको छ।

जिल्ला सिधा सडक सञ्जालबाट विच्छेद भएपछि तराईबाट जिल्ला भित्र्याइने उपभोग्य बस्तु दुधकोसीमा भरियामार्फत झार्नु, नदी तार्नु र पुनः गाडीमा चढाउनुपर्ने बाध्यता शुरु हुन्छ । भरियालाई ज्यालामा बोकाएर उपभोग्य बस्तु नदी तार्दा जिल्लामा मूल्य वृद्धि हुने गरेको उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए । पुल निर्माणमा भइरहेको ढिलासुस्ती र गुणस्तरका विषयमा जिल्ला प्रशासन कार्यालय नेतृत्वको सर्वदलीय टोलीले वैशाख २५ गते स्थलगत अनुगमन गरेको थियो।

 

प्रकाशित: २६ श्रावण २०७४ १०:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App