१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

बच्चा बेचेको आरोपमा थप चार जना पक्राउ

एक दिने नवजात शिशु बेचेको आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–९ स्थित ग्रीनक्रस अस्पतालमा असार १४ गते जन्मिएकी बच्चा (छोरी) लाई नाटकीय ढंगबाट बेपत्ता बनाइएको थियो।

अस्पतालमा जन्मिएकी शिशुलाई त्यहीँका डाक्टर तापेश्वरलाल कर्णसहितको टोलीले बेचेको रहस्य खुलेको छ। बच्चा बेचेको आरोपमा प्रहरीले भदौ १ गते शुक्रबार बच्चाका बुवा गोविन्द राई र डाक्टर कर्णलाई पक्राउ गरेको थियो। उनीहरुलाई पक्राउ गरेपछि थालिएको प्रारम्भिक अनुसन्धानबाट बच्चा बेच्ने मुख्य भूमिका डाक्टरको रहेको देखिएको प्रहरीले जनाएको छ।

ग्रीनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सुधा राजवंशी, कटहरी गाउँपालिका– २ की ४६ वर्षीया दिलमाया राजवंशी, कटहरी–२ का ३० वर्षीय सूर्यनारायण राजवंशी (दिलमाया र सूर्यनारायण आमाछोरा), डाक्टर कर्णको निजी क्लिनिकमा काम गर्ने सिराहा कल्याणपुर नगरपालिका–१२ की ३८ वर्षीया निर्मला यादवलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको हो।

असार १४ गते जन्मनसाथ ग्रीनक्रस अस्पतालबाटै बेपत्ता पारिएको बच्चालाई दिलमाया राजवंशीको घरबाट मंगलबार साँझमा सकुशल उद्धार गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनले घटनाको प्रारम्भिक अनुसन्धानबाट बच्चाका बुवा गोविन्द, डाक्टर कर्ण र अन्य केही सहयोगी मिलेर बच्चा खरिद विक्री भएको खुलेको बताए।

१० वर्षसम्म पनि छोरा सूर्यनारायण र बुहारी श्यामवतीका सन्तान नभएपछि बेवारिसे बच्चाको खोजीमा रहेकी दिलमायाको अस्पतालका कर्मचारीसँग सम्पर्क भएको देखिन्छ। त्यस समयमा अविवाहित युवती आफ्नो प्रेमी गोविन्दसँग बच्चा जन्माउन भोजपुरबाट ग्रीनक्रस अस्पताल आइपुग्छिन्। बच्चा जन्मिएपछि डाक्टर, गोविन्द र अस्पतालका कर्मचारीसँग कुरा मिलाइ रुपैयाँ लिएर बच्चा दिएको खुलेको हो।

अस्पतालकी कर्मचारी सुधा राजवंशीमार्फत दिलमायाको परिवारलाई बच्चा बेचेको प्रहरीले जनाएको छ।

दिलमायाले अस्पतालबाट लगेर एक हप्तासम्म विराट शिक्षण अस्पतालमा बच्चाको उपचार गरेको र उपचार गर्दा २ लाख रुपैयाँ खर्च भएको प्रहरीलाई बताएकी छन्। उनले सुरुवातमा ५ लाख रुपैयाँ डाक्टरलाई दिएर बच्चा लिएको बताए पनि पुनः पछि ५० हजार मात्रै दिएको बताउँदै आएकी उनलाई उद्धृत गर्दै, डिएसपी दाहालले भने, ‘बच्चा कति रुपैयाँमा ठ्याक्कै किनबेच भयो यकिन छैन। फरक फरक अंकको कुरा आएको छ। बैंक स्टेटमेन्ट हेर्ने लगायत अन्य विभिन्न तवरबाट किनबेच भएको अंक खोज्ने काम भइरहेको छ। क–कसले कति कति बाँडे आदि विषयमा अनुसन्धान हुँदैछ।’

डाक्टर कर्णको आफ्नो निजी दीपेश मेडिकल क्लिनिक ग्रीनक्रस अस्पताल नजिकै रहेको छ। उनले क्लिनिकमा सबै जाँच गर्ने र अप्रेसन लगायत बिरामी भर्ना गर्ने काम चाहिँ ग्रीनक्रममा गर्दै आएका छन्। सिटी सफारीलगायत विभिन्न व्यक्ति र निर्मलालाई बिचौलियाका रुपमा प्रयोग गरेर क्लिनिकमा बिरामी ल्याउने र त्यस बापत कमिसन दिँदै आएका थिए। यस घटनामा निर्मलाको संलग्नता देखिएपछि उनलाई पनि पक्राउ गरिएको डिएसपी दाहालले बताए।

डाक्टर कर्णले विगतमा अविवाहित युवती तथा अवैध गर्भबाट जन्मिएको बच्चा बिक्री गरेको हुनसक्ने आशंका रहेको बताउँदै, डिएसपी दाहालले भने, ‘यसअघि पनि यस्तो घटनामा संलग्न थिए की भनेर त्यसतर्फ पनि अनुसन्धान अघि बढाएका छौं। अहिलेसम्म घटनामा संलग्न पक्राउ पर्नेको संख्या ६ पुगेको छ।’

व्यक्ति बेपत्ता पारेको कसुरमा साउन ३२ गते जिल्ला प्रहरी कार्यालय मोरङमा डाक्टर कर्ण र भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राईविरुद्ध किटानी जाहेरी परेपछि घटनाको अनुसन्धान थालेको डिएसपी दाहालले बताए। गोविन्द नवजात शिशु (छोरी) का बुवा हुन्।

युवती र गोविन्दबीच विवाह भएको छैन। उनीहरु प्रेमीप्रेमिका हुन्। गोविन्द र युवतीबीच २ वर्षदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए। प्रेम सम्बन्धकै कारण उनीहरुबीच शारीरिक सम्पर्कबाट युवती गर्भवती भएकी बताइएको छ। २६ वर्षीया युवतीले अस्पतालमा नवजात शिशु (छोरी) लाई जन्मदिएकी थिइन्। असार १३ गते दिउँसो अस्पतालमा भर्ना भएकी युवतीले भोलिपल्टै (असार १४ गते) ‘नर्मल डेलिभरी’ मार्फत छोरीलाई जन्म दिएकी थिइन्।

गर्भवती प्रेमिकालाई लिएर गोविन्द विराटनगर आए। दुवै जना विराटनगर आएपछि ग्रीनक्रस अस्पताल नजिकै रहेको डाक्टर कर्णको दीपेश मेडिकल क्लिनिकमा पुगे। त्यहाँ डाक्टर कर्णले युवतीको परीक्षणपछि थप उपचारका लागि नजिकै रहेको ग्रीनक्रस अस्पतालमा भर्ना गरेको बताउँदै, डिएसपी दाहालले भने, ‘उनीहरु दुवै जनाले आफ्नो वास्तविक परिचय लुकाएर नक्कली परिचय दिएर भर्ना भएको देखिन्छ। अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ, ठेगाना सुनसरीको रामधुनी–११ लेखाएका रहेछन्।’ १४ गते दिउँसो अस्पतालले बिदा दिएपछि बच्चा बिनै गोविन्दले आफूलाई इटहरी लगेको युवतीलाई उद्धृत गर्दै प्रहरीले भन्यो।

इटहरी बसपार्क नजिककै रहेको एक होटलमा लगेर राखेपछि बच्चा खोइ भन्दा अस्पतालमै छ उहाँले (गोविन्द) भन्नु भयो, युवतीले भनिन्। काम छ भन्दै असार १६ गते होटलबाट हिँड्नु भएको बताउँदै, युवतीले भनिन्, ‘होटलमा अलपत्र छाडेर गएपछि गोविन्द फर्किएनन्। होटलबाट निस्कनुअघि गोविन्दले दिएको खर्च ८ दिनपछि सकियो र होटल छाडे। त्यसपछि सुनसरीको सोनापुरमा डेरा लिएर बस्न थालेँ। बिहेको प्रलोभनमा पारेर आफू सत्केरी हुँदा छाडेर अलपत्र पारे।’

न मसँग बच्चा नै छ न त प्रेमी गोविन्द नै, युवतीले भनिन्। उसकै आग्रहमा अस्पताल आएर बच्चा जन्माएको बताउँदै, युवतीले भनिन्, ‘मेरो बच्चा कहाँ के अवस्थामा छ थाहा छैन। मैले जिउँदो छोरीलाई जन्म दिएकी थिएँ। छोरी जन्मसाथ नर्सहरुले लिएर गए। त्यसपछि अहिलेसम्म बच्चा समाउन त हैन देख्नसमेत पाएको छैन। बच्चा जन्मँदा अस्पताललाई ३५ हजार रुपैयाँ तिरेका छौं। डाक्टरले ५० हजार माग्दै थिए। तर, हामीसँग ३५ हजार मात्रै छ भनेपछि उपचार गरेका थिए डाक्टरले।’ सुत्केरी अवस्थामा छाडेर हिँडेका प्रेमी गोविन्दले अस्पतालसँग मिलेर बच्चालाई अस्पतालबाटै बेपत्ता बनाएको युवतीले बताइन् । उनीहरु दुवै मिलेर मेरो बच्चा बेपत्ता बनाए।

युवतीको जाहेरी परेपछि गोविन्द र डाक्टर कर्णलाई शुक्रबार साँझमा पक्राउ गरिएको थियो। पक्राउपछि उच्च रक्तचाप र मधुमेहको समस्या देखाएर डाक्टर कर्ण उपचारका लागि कोशी अस्पताल भर्ना भएका थिए। डाक्टर अस्पतालमा भर्ना भएपछि घटनाको अनुसन्धान गर्न प्रहरीलाई समस्या परेको थियो । सुरुमा घटनाको अनुसन्धानमा डाक्टर कर्णले असहयोग गरेको बताउँदै, डिएसपी दाहालले भने, ‘डाक्टरलाई सोधपुछका लागि बोलाउँदा उनी प्रहरी कार्यालय नआई अदालतमा पुगेर निषेधाज्ञाको मुद्दा दर्ता गराउन पुगे।

शुक्रबार साँझ ग्रीनक्रस अस्पतालमा प्रहरी पुग्दा उनी अप्रेसन गर्न व्यस्त थिए। प्रहरी पुगेको थाहा पाएपछि उनी बिरामी भए र त्यही अस्पतालमा उपचार थाले। त्यहाँ केही समय उपचारपछि थप उपचार कोशीमा गर्न ल्याएका थियौँ।’

कोशी अस्पतालले मंगलबार दिउँसो डाक्टर कर्णलाई डिस्चार्ज दिएपछि प्रहरीको टोली अस्पताल पुगेर उनलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान थालेको थियो। ग्रीनक्रस अस्पतालका अध्यक्ष कृष्ण खवासले कम तौलको बच्चा जन्मिएको हुँदा स्वास्थ्य अवस्था नाजुक थियो। बच्चाको थप उपचार एनआइसियूमा राखेर गर्नुपर्ने भएकाले यहाँबाट अन्यत्र अस्पतालमा थप उपचार गर्न रेफर गरियो। अस्पतालले बच्चालाई रेफर गरेर अभिभावकको जिम्मा लगाइएको अध्यक्ष खवासले बताए। उनले त्यसपछि रेफर गरेको बच्चा कहाँ लगे थाहा नभएको बताएका थिए।

प्रकाशित: ६ भाद्र २०८० १४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App