१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

रकम अभावले शहीद कुवँरको सम्झनामा निर्माणाधीन पुस्तकालय अलपत्र

अलपत्र भवनको तस्बिर गोल्डेन बुढा जुम्ला।

कर्णाली सरकारले आफ्नो स्थापना दिवस मनाइरहँदा संघीयताका लागि बलिदानी दिने शहीदलाई यहाँका राजनैतिक दल र सरोकारवाला निकायहरूले बिर्सन थालेका छन्। संघीय संरचना स्थापनार्थ बलिदानी दिएका हरिबहादुर कुँवरको सम्झनामा निर्माणाधीन पुस्तकालयको भवन रकम अभावमा अलपत्र परेको छ।

शहीद हरिबहादुर कुँवर कर्णाली प्रतिष्ठानका सचिव धनबहादुर रोकायाका अनुसार कर्णाली प्रदेश सरकारको सहयोगमा ४० लाख रुपैयाँमा दुई किस्तामा पुस्तकालयको काम भएको छ। तर, पछिल्लो समयमा रकम व्यवस्थापन नहुँदा भवन निर्माण हुन नसकेको उनी बताउँछन्।

उनले भने, ‘क्रमागत बजेट पनि के भयो थाहा भएन। रकमकाे व्यवस्थापन गर्न सकेकाे भयाेभवन निर्माण अलपत्र पर्दैन थियाे।’

तातोपानी गाउँपालिका-७ साविक (ताम्ति गाविस) १ निवासी कुँवरको जन्मघर सर्मिमा निर्माणाधीन पुस्तकालय अलपत्र रहेको हो। अलपत्र शहीद हरिबहादुर बहुउद्देश्यीय स्मृति पुस्तकालयमा पहिलो तल्ला वाचनालय, दोस्रो तल्ला पुस्तकालय र तेस्रो तल्ला कार्यालय गरी बनाउने गरी डीपीआर तयार गरिएको थियो।जसको लागत १ करोड ३६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो।

शहीदको सम्झनामा थालिएको पुस्तकालय भवनको विषयमा अहिले जनप्रतिनिधि, राजनीतिक दल कसैको चासो छैन। कर्णाली प्रदेश सरकारले पनि यो विषयमा ध्यान दिएको छैन।

शहीद हरिबहादुर कुँवरका दाजु राजबहादुर कुवँरले भने,‘शहीद हरिबहादुरको विषयमा परिवार र नजिकको शुभचिन्तकले मात्रै नभई राज्यले अपनत्व दिनुपर्ने हो तर कसैले वास्ता गरेका छैनन्।’

शालिक राख्ने ठाउँ पाइएन

स्वायत्त कर्णाली राज्यको माग गर्दै आन्दोलनमा गोली लागि निधन भएका हरिबहादुर कुँवरको शालिक गोली लागेको ठाउँमा राख्ने निर्णय भएको थियो। यसमा राजनीतिक दल, स्थानीय प्रशासन, नागरिक समाजको बैठकले समेत शहीदको शालिक बजार नजिक गोली लागेको ठाउँमा राख्ने निर्णय गरेका थिए। तर, जग्गा नपाएपछि कुँवरको शालिक निर्माण भए पनि शालिक भने काठमाडौंमै थन्किएको छ।

जिल्ला प्रशासन कार्यालय अगाडि नवनिर्मित उद्योग उपभोक्ता तथा हित संरक्षण कार्यालय अगाडि शालिक राख्ने भने पनि पछि भने स्थान टुंगो नलाग्दा शालिक राख्न सकिएको छैन।

शहीद कुँवरका दाजु राजबहादुर कुँवरका अनुसार १३ लाख रुपैयाँको लागतमा काठमाडौंमा शालिक बने पनि स्थान टुंगो नलाग्दा सालिक त्यसै थन्किएको छ।

प्रदेश संरचना निर्धारणको समयमा २०७२ साल साउन २२ गते शीर्ष राजनीतिक दलले शुरुवाती चरणमा ६ प्रदेशको संरचना निर्धारण गर्दा कर्णालीमा उर्लिएको आन्दोलनले जन्माएको कान्छो प्रदेश हो, कर्णाली प्रदेश,जुम्लासहित माथिल्लो कर्णाली र सुर्खेतसहित भेरी क्षेत्रमा चर्किएको आन्दोलनपछि चार जनाको बलिदानीले सरकारले सातौं प्रदेश कर्णाली प्रदेशको घोषणा गर्‍यो।

यही आन्दोलनको क्रममा जुम्लाका हरिबहादुर कुँवरलाई साउन ३१ गते गोली लागेर गम्भीर घाइते भई भदौ ६ गते आजकै दिन उपचारको क्रममा काठमाडौको शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो।

सुर्खेतमा पनि चर्किएको आन्दोलनमा तीन जनाको ज्यान गएको थियो। सरकारले उनीहरूलाई पनि शहीद त घोषणा गरेको छ तर शहीदको बलिदानीको उद्देश्य के हो भन्ने विषयमा ध्यान नदिएको शहीद कुँवरका दाजु राजबहादुर कुँवरले बताए। उनले भने,‘शहीदको बलिदानीले कोही मन्त्री भए, कोही सांसद भए तर यस विषयमा कसैले चासो देखाएनन्।’

यता प्रदेश सांसद् देवेन्द्रबहादुर शाही शहीदको सम्झनाका विषयमा के गर्नुपर्ने हो, त्यो विषयमा सबै मिलेर अगाडि बढ्नुपर्ने बताउँछन्। उनले भने,‘ हामीले शहीदलाई भुल्नु हुँदैन।  भवनको कस्तो छ। यसबारे मलाई केही थाह छैन।’

यस्तै नागरिक समाज जुम्लाका संयोजक तथा स्वायत्त कर्णाली प्रदेशमा घाइते भएका राजबहादुर महतले भने,‘कर्णाली आन्दोनको मुख्य उद्देश्य जुम्ला राजधानी नै थियो। शहीदको बलिदानी पनि भयो, अहिलेसम्मका जनप्रतिनिधिको कुनै चासो देखिएन, प्रदेशमा पनि, जिल्लामा पनि खासै चासो दिएको देखिंदैन। प्रदेश आन्दोलनको महत्त्व प्रदेशकै नेताहरूले बुझ्नुपर्छ। प्रदेशको राजधानीमा शालिक र जिल्लामा पनि  शालिक निर्माण गरिनुपर्ने छ। घाइतेहरूको सवालमा पनि सम्मान गर्न आवश्यक छ।

जुम्ला निवासी बुद्धिजीवी हरिहर न्यौपानेका अनुसार हरिबहादुर कुवँरले दिएको बलिदानीको योगदान गर्दै प्रदेश सरकारलाई केही वर्षअघि बजेट क्रमागतमा राखेको थियो। तर के भयो थाहा नभएको र पूरा गर्न सबै लाग्नुपर्ने उनको जोड छ। सरकारले हरिबहादुर कुँवरलाई २०७३ साल भदौ १ गते बसेको मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा गरेको थियो।

प्रकाशित: ६ भाद्र २०८० ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App