२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिन्धुलीका युवा व्यावसायिक ड्रागन खेतीतर्फ आकर्षित

बाटो पहिल्याउन सके गाउँकै माटोमा पसीना अनुसारको पैसा भेटिन्छ। टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देशविदेश भौंतारिरहनु पर्दैन, सिन्धुलीको दुधौली नगरपालिका-६ हर्षाही, बताहीका भरत काफ्लेलाई यसैको ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ।

उनले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागन फलको फल र बिरुवा उत्पादन गर्छन्। यसले पाँच जनाको काफ्ले परिवारलाई स्वरोजगार बनाएको छ। व्यावसायिक कृषि कर्मले एउटा परिवारलाई स्वरोजगार मात्र होइन, देश नै समृद्ध बन्ने बुझाइ भएका काफ्ले परिवारले आकर्षक आम्दानी पनि गरिरहेका छन्।

‘यस वर्ष थोक मूल्यमा प्रतिकिलो पाँच सयका दरले छ चरणमा २० क्विन्टल फल बेच्दा १० लाख रुपैयाँ र बिरुवा बेचेर तीन लाख रुपैयाँ आम्दानी भइसकेको छ। चार हजार बिरुवा ग्राहक पर्खिएर नर्सरीमा बसिरहेका छन्,’ युवा किसान काफ्लेले भने।

बितेको दुई वर्षमा आठ कट्ठाबाट उत्पादन भएको फल बेचेर १३ लाख रुपैयाँ आम्दानी भएको उनले बताए। काफ्ले परिवारको १८ कट्ठामा ड्रागन फ्रुटको खेती छ। नौ सय ३० ओटा पोलमा तीन हजार पाँच सय बिरुवा रोपिएको छन्। अहिले नौ सय बोटले फल दिइरहेका छन्। बिरुवा रोपेको पछिल्लो वर्षदेखि प्रतिबोटले वार्षिक १७ पटकसम्म उत्पादन दिने गरेको छ।

उनले भने, ‘जेठदेखि कात्तिकसम्म महिनाको तीन पटकसम्म टिप्न सकिन्छ। रोपेको पहिलो वर्ष प्रतिबोट आठ किलोसम्म उत्पादन भएकोबाट बिरुवा रोपेको तेस्रो वर्षबाट प्रतिबोट ४५ किलोसम्म उत्पादन भइराखेको छ।’

युवा किसान काफ्लेले प्रतिबिरुवा चार सय ५० रुपैयाँमा किनेर रोपेको भए पनि उनले अहिले प्रतिबिरुवा दुई सय रुपैयाँमा बेच्दै आएका छन्। तीन वर्षअघि आफ्नो ठाउँको वातावरणमा सुहाउँदो जातको तीन सय बिरुवा रोपेका थिए। बिरुवा रोपेको पछिल्लो वर्षदेखि ड्रागन फल फल्न थाल्यो। दुई वर्षमा १३ लाख रुपैयाँ आम्दानी भएपछि काठमाडौंमा खाद्यान्न पसल गरिरहेका काफ्लेलाई गाउँमै फर्किएर खेती विस्तार गर्न हाैस्यायाे।

पसल सुरु गरेको दुई महिना बित्न नपाउँदै कोरोना कहरले कारोबार ठप्प भएपछि छोडेर गाउँ फर्किएका काफ्लेलाई फेरि काठमाडौं फर्किन मन लागेन। दुई वर्षदेखि उनी व्यावसायिक ड्रागन खेतीमा रमाउँदै छन्। सुरुमा खेती लगाउन अलि खर्चिलो भए पनि बर्सेनि आम्दानी बढ्दै जाने भएकाले यो व्यवसायमा निराश हुनु नपर्ने उनको भनाइ छ।

कृषि ज्ञान केन्द्र सिन्धुलीबाट दुई लाख रुपैयाँको अनुदान लिएर दुई सय पोल थपेको उनले यसै वर्ष डेढ बिगाहमा खेती विस्तार गर्न लागेको बताए। उनका अनुसार एकपटक रोपेको बिरुवाको आयु २५ वर्षभन्दा धेरै हुन्छ। ड्रागन फलको एक सय ५३ प्रजातिको हुन्छन्। उनले रेड सायन जातको ड्रागन खेती विस्तार गर्दै छन्।

व्यावसायिक ड्रागन फल खेती विस्तारदेखि बजारमा पुर्‍याउनेसम्मका धेरैजसो काम पाँच जनाको परिवारले धानेको छ। ड्रागन फलको बिरुवा उत्पादन, माटो तयार, रोप्ने तरीकादेखि उत्पादित फल र बिरुवाको बजारीकरणका सम्बन्धमा बुझ्न तथा अवलोकनका लागि कतिपय ठाउँबाट उनको मेहनती बहुउद्देश्यीय कृषि फर्म पुग्ने गर्दछन्।

युट्युब र गुगलमा अध्ययन गरेकै भरमा पहिलोपटक दुधौलीमा ड्रागनको खेती थालेका युवा किसान काफ्ले यस खेतीका सम्बन्धमा तालिम नै दिन सक्ने भएका छन्।

ड्रागन खेती थाल्दाको पहिलो संघर्ष सुनाउँदै उनले भने, ‘आफूहरूले गोरु नपालेको र ट्याक्टरले जोतेर खेती गर्न बाटो नभएकाले छ कट्ठा खेत बाँझै बस्थ्यो। जोत्न नपर्ने र एकपटक रोपेपछि २५ वर्षभन्दा बढी ढुक्क हुने ड्रागन खेतीबारे युट्युब र गुगलमा खोजेर अध्ययन गरी काभ्रेको पात्ले खेतमा भेषमान श्रेष्ठले लगाएको खेती हेरें र आफूले पनि सुरु गरें।’

त्यसपछि अनलाइन फारम भरेर हैदरवादसम्म पुगेर दुई महिने तालिम लिएपछि व्यावसायिक रूपमा खेती थालेको उनको भनाइ छ।

वातावरणमा अनुकूलताका आधारमा ड्रागनको जात पहिचान नगरी खेती गर्नाले कतिपय किसानको व्यवसाय घाटामा गएकाले गुणस्तरीय जातको बिरुवा ठाउँको हावापानी र माटो अनुसार मिल्दो पहिचान गर्न उनको सुझाव छ।

उनका अनुसार आफूले बेच्ने गरेको ड्रागनले बिरुवा रोपेको १३ महिनामा फल दिन सुरु गर्छ। उनले वार्षिक छ लाख रुपैयाँको बिरुवा बेच्दै छन्।

उनको फर्ममा उत्पादन भएका फल र बिरुवा जिल्लाको स्थानीय तथा बाहिरी जिल्ला काभ्रे, भक्तपुर, ललितपुर र काठमाडौंका बजारहरूमा बेचिंदै आएको छ। समयको मागअनुसार आधुनिक प्रविधिलाई पछ्याउँदै व्यावसायिक कृषि गरेर बजारको अभाव पूर्ति गर्न सके आफ्नो ठाउँको माटामै मनग्य आम्दानी र कैयौं अवसर रहेका किसान युवा काफ्लेको बुझाइ छ।

सरकारी, गैरसरकारी निकाय तथा सामाजिक रूपमा पनि किसान र कृषि पेसालाई हेपाइको दृष्टिले हेरिने भएकाले युवा पुस्तामा खेती, किसानी कर्ममा आकर्षण नभएको उनले बताए।

व्यावसायिक कृषिले मात्र समृद्ध नेपाल बन्ने भएकाले सरकारले देशका बेरोजगार युवालाई कृषिमा आकर्षित गर्ने तथा दिगो रूपमा व्यावसायिक खेती गर्न सहयोग गर्ने खालका कार्यक्रममा जोड दिनुपर्ने उनको सुझाव छ।

पछिल्लो समय ड्रागन फल उत्पादनमा विशेषगरी जिल्लाका पढेलेखेका युवाहरू पनि आकर्षित भएका छन्। कृषि ज्ञान केन्द्र सिन्धुलीका सूचना अधिकृत श्रीकृष्ण अधिकारीले स्वादिष्टसँगै स्वास्थ्यवद्र्धक र बहुपयोगी फल ड्रागन जिल्लाका सबै स्थानीय तहमा बिस्तारै फस्टाउँदै गएको र आवश्यक प्राविधि सहयोग प्रदान गरिंदै आएको बताए। 

प्रकाशित: ६ भाद्र २०८० ०७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App