विराटनगर- ‘निःशुल्क’ उपचार नारामात्रै रहेको रोगले थलिएका मोरङका दुई परिवारको दुःखदायी कथाले छर्लंग पार्छ। मोरङको पूर्वोत्तर दुई नगरपालिका रंगेलीको विश्वकर्मा परिवार र उर्लाबारीको धिमाल परिवार चरम गरिबीले रोग पाल्न बाध्य छन्। गरिबीकै कारण ती दुवै परिवारले रोग बल्झाइरहेका छन्।
चरम गरिबीले थलिएको विश्वकर्मा र धिमाल परिवारलाई रोगको बोझले झनै सताएको छ। सरकारको निःशुल्क उपचार यी परिवारको पहुँचमा छैन। रोगले शरीर दुख्दा आफ्नै कमाइले अलिअलि गरेको मलमपट्टीले क्षणिक पीडा लुकाउने मात्र हो।
मेहनत–मजदुरीको कमाइले दुई छाक टार्नै समस्या रहेको मोरङ, रंगेली–७ का रोशन विश्वकर्माको परिवार ५ वर्षअघि छोरा जन्मिँदा कम्ता खुसी भएन! छोरो हुर्किदै जाँदा न त आफ्नो खुट्टामा उभिन सक्यो, न त बोली नै आयो। अभावमै गरिएको छोरा महेशको लालनपालनको असर उसको शारीरिक समस्या भएर देखा पर्यो। गाडी सफा गरेको आम्दानीले विश्वकर्मा परिवारको रोजीरोटी नै टार्न पुग्दैन।
त्यस्तै परिवारकै सहारा रहेकी उर्लाबारी–६ की २७ वर्षीया मञ्जु धिमालका दुवै मिर्गौला दुई महिनाअघि बेकामे भए। ६ महिनाअघि पति भूपेश राईलाई गुमाएकी मञ्जुकै बनिबुँतोले दुई नाबालक सन्तानको पालनपोषण भइरहेको छ। पतिको मृत्युले ‘अकासै’ खसेको धिमाल परिवारमा अर्को विपत् आइपर्यो। मञ्जुका दुवै मिर्गौलाले काम गर्न छोडेपछि अहिले ती नाबालकको बिचल्ली छ। मिर्गौला नै बेकामे भएपछि घर निर्माणको काममा मजदुरी गर्ने मञ्जुलाई त्यसको कमाइले परिवार पाल्नु कि उपचार गराउनु? उनलाई तनाव बढाएको छ।
चरम गरिबीले थलिएको विश्वकर्मा र धिमाल परिवारलाई रोगको बोझले झनै सताएको छ। सरकारको निःशुल्क उपचार यी परिवारको पहुँचमा छैन। रोगले शरीर दुख्दा आफ्नै कमाइले अलिअलि गरेको मलमपट्टीले क्षणिक पीडा लुकाउने मात्र हो। ‘रंगेलीको विश्वकर्मा परिवारसँग अस्पतालसम्म पुग्ने साधन र पैसा पनि छैन,’ रंगेलीका रवीन्द्र बरालले नागरिकसँग भने, ‘उपचार नहुँदा महेशको शारीरिक अवस्था दिनदिनै बिग्रँदो छ।’
उर्लाबारीका किशोर श्रेष्ठका अनुसार मञ्जु कडा काम गर्न सक्दिनन्। काम गर्न नसकेपछि परिवारको गुजारा चलाउन समस्या छ।
त्यस्तै रंगेलीमा ५ धुर ऐलानी जग्गामा फुसले छाएको घरमा १० वर्षदेखि बसिरहेका विश्वकर्मा परिवारलाई छोरा महेशको उपचारले सताएको छ। ‘शारीरिक अवस्था कमजोर छ,’ महेशकी आमा शान्ताले भनिन्, ‘अबोध छोरालाई कसरी हुर्काउने? रातदिन यही चिन्ताले पिरोलिरहेको छ।’ शान्ताका ससुराको १५ वर्षअघि मृत्यु भइसकेको छ। सासू भारतको लुधियानामा श्रम गर्छिन्। ‘छोरालाई एकछिन खाली छोड्न मिल्दैन,’ शान्ताले भनिन्, ‘पतिको मात्रै कमाइले छाक पनि टर्दैन।’
पति रोशनले रंगेली–काठमाडौं रुटमा चल्ने बस सरसफाइ गर्दा आउने पैसा नै विश्वकर्मा परिवारको कमाइ हो। त्यही पैसाले उनको परिवार जसोतसो चलेको छ। ‘भगवान्ले हामी गरिबलाई किन यति धेरै दुःख दिएका होलान्,’ शान्ताले भनिन्, ‘छोरो ५ वर्षको भइसक्यो, बोल्न पनि सकेको छैन, उभिन पनि सक्दैन। कसरी हुर्काउनु?’
पैसा नभएकै कारण छोरालाई घरमै राखेर स्याहारसुसार गरिरहेको उनी बताउँछिन्। दुई वर्षअघि उपचारका लागि महेशलाई शारीरिक पुनर्स्थापना केन्› विराटनगर पुर्याए पनि घरमै लगेर मालिस गरेर राख्न भनेर फर्काइदिएको शान्ताको भनाइ छ। ‘घरखर्च कसरी चलाउने भन्ने चिन्ता छ,’ रोशनले भने, ‘छोराको उपचार कसरी गर्ने, केही थाहा छैन, कसैले सहयोग गरे हुन्थ्यो।’ सरकारी निःशुल्क उपचारमा पहुँच नहुँदा विश्वकर्मा परिवार छोराको रोग घरमै मालिस गरेर थामथुम पारिरहेको छ।
उता उर्लाबारीकी मञ्जुलाई मिर्गौला दिन नातेदार तयार हुँदा पनि प्रत्यारोपणमा लाग्ने महँगो शुल्क उनीसँग नहुँदा रोगले दिनदिनै गाँजिरहेको छ। ‘डाक्टरले काठमाडौंमा गएर मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका छन्,’ मञ्जुले भनिन्, ‘पैसा पो धेरै लाग्छ भन्छन्, छैन, कहाँबाट ल्याउनु त्यति पैसा।’ मञ्जुलाई रोगभन्दा बढी आफू थलिएपछि नाबालक दुई छोराको गुजारा कसरी चल्छ भन्ने पीडाले रुवाएको छ। ‘बच्चाकै रेखदेखमा पैसा पुगेको छैन,’ उनले भनिन्, ‘रोग हटाउन कहाँबाट आउँछ पैसा?’ उनले आफ्ना लागि भन्दा पनि सन्तानका लागि बाँच्न इच्छा रहेको बताइन्। ‘सन्तानका लागि भए पनि मलाई बाँच्नु छ, मलाई केही भए मेरा सन्तान टुहुरा हुन्छन्,’ उनले रुँदै भनिन्।
स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा गरिब, असहाय, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र लैंगिक हिंसा प्रभावितको उपचारमा निःशुल्क र आंशिक छुटका लागि बर्सेनि बजेट विनियोजन गर्छ। विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा गत वर्ष त्यस्ता बिरामीको उपचारका लागि ४० लाख रुपैयाँ बजेट दिइएको थियो। यो वर्षको असार र साउनमा मोरङमा सात सय ६८ जनाले निःशुल्क उपचार लिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
प्रकाशित: २२ श्रावण २०७४ ०२:४४ आइतबार