चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको जोखिमपूर्ण क्षेत्रमा पहिराका कारण बीचमा फसेका सवारी साधनलाई एकातर्फ सडक सञ्चालनमा ल्याएर मुग्लिनतर्फ पठाइएको छ।
सो सडकको जलवीरेदेखि मुग्लिनसम्म खसेका पहिराको छेउको भाग हटाएर करिब १२५ गाडीलाई मुग्लिनतर्फ पठाइएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार जलवीरेदेखि नारायणगढतर्फका सवारी भने बीचमा नै छन् । साँझ अबैरसम्ममा ती सवारीलाई गन्तव्यतर्फ पठाउनका लागि काम भइरहेको उनको भनाइ छ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार १० ठाउँमा ठूला पहिरो तथा अन्य भित्तो काटिएका ठाउँमा साना पहिरो खसेका छन् । मुग्लिनदेखि गाईघाटसम्मको १७ किमी क्षेत्रमा पहिरो खसेको हो।
मुग्लिन नजिकै एउटा ठूलो पहिरो खसेको छ । त्यसैगरी मुग्लिनबाट २ दशमलब ५ किमी नारायणगढतर्फ चेपाङडाँडादेखि कालीखोलासम्मको पाँच सय मिमा तीन ठूला पहिरो खसेको खनालले बताए। थप पहिरो नखसेमा शुक्रबार मध्याह्नसम्ममा दुईतर्फी सडक सञ्चालन हुने उनको भनाइ छ । बुधबार साँझदेखि सडक अवरुद्ध बनेको हो । साँझ ७ः३५ बजे कालीखोला नजिकै तीन किलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । रासस
प्रकाशित: १९ श्रावण २०७४ १४:३९ बिहीबार