कास्कीको पोखरास्थित बजारका मध्यभाग भएर बग्ने फिर्के खोलाको सिमांकन अन्तिम चरणमा पुगेको छ। पोखरा महानगरपालिकाले खोलाको प्राकृतिक बहाव पत्ता लगाउने उद्देश्यले गत साउन ३ गतेदेखि सिमांकन गर्न सुरु गरेको थियो।
वडा नं. १७ बैदामस्थित गाईघाटबाट सुरु गरिएको सिमांकन वडा नं १८ बेंसीटोल पुगेको छ।
यस कार्यको नेतृत्व गरिहेका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलका अनुसार हालसम्म सिमांकन भएको क्षेत्रमा पाँच सय बढी पिल्लर तथा चिन्ह खोलाको दायाँबायाँ गाडिएका छन्।
उनले भने, ‘फिर्के खोलाको सिमांकनको काम अब धेरै बाँकी छैन। हामी छिट्टै यसलाई सम्पन्न गर्दछौं।’
सर्वेक्षक पौडेलका अनुसार अब पाँच सय मिटर क्षेत्रमा मात्र काम बाँकी रहेको छ।
पहिलो चरणमा खोलाको भाग यकिन गरिसकेपछि दिगो पर्यटन विकास परियोजना अन्तर्गत फिर्के खोलाको संरक्षण, सम्बद्र्धन र सुन्दरताकोे कार्यक्रम सुरु गरिने महानगर प्रमुख धनराज आचार्यले बताए।
उनका अनुसार यसलाई फिर्के कोरिडोरको रूपमा विकास गरिने र दुवैतर्फ साइकल लेनसहितको पूर्वाधार निर्माण गरिनेछ।
महानगर प्रमुख आचार्यले भने, ‘सिमांकन प्रतिवेदन प्राप्त भएपछि कार्यपालिकाले खोलाको मापदण्ड तोक्छ। त्यसपछि मापदण्ड विपरीत बनेका संरचना हटाउँछौं र आवश्यक पूर्वाधार निर्माण गर्छौं।’
पोखराको मध्यभाग भएर बग्ने फिर्केमा मानवीय अतिक्रमण बढेको छ। खोलाको मापदण्डभित्र व्यक्तिगत तथा सार्वजनिक भवन बनाइएका छन्।
बर्खा याममा खोलामा पानीको बहाव बढ्दा मापदण्ड विपरीतका संरचनाका कारण कटान र डुबानको समस्या आउने गरेको छ। महानगरका अनुसार फिर्केमा अतिक्रमित संरचना हटाइसकेपछि पर्यटन विकास परियोजना लागू हुनेछ।
सिमांकन टोलीमा इन्जिनियर, सर्वेक्षक र अमिनसहित ४० जना परिचालित छन्।
पोखरा-१८ स्थित सराङकोटको फेदी अँधेरीकुनाबाट सुरु भएर प्रस्याङ, मालेपाटन, बुलौंदी हुँदै फिर्केखोला फेवातालमा गएर मिसिन्छ।
प्रकाशित: ३२ श्रावण २०८० ०६:३८ बिहीबार