२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मेयरलाई विद्यार्थीको प्रश्न: क्याम्पस पढुँ कि कोरियन भाषा ?

इलाम चियाबारीमा आयोजित बहस। तस्बिर:भीम/नागरिक<br>

इलाम चियाबारीबीचमा महेन्द्ररत्न बहुमुखी क्याम्पस छ। करिब पाँच सय मिटरमा रहेको इलाम चोक बजारमा कोरियन भाषा प्रशिक्षण केन्द्र छ।

नेपालमै पहिलो पटक चिया रोपिएको बगानकै बिचमा मंगलबार आयोजित बहसमा एक छात्राले प्रश्न तेर्स्याइन्– ‘यहाँ नजिकैको मरब क्याम्पसमा तीन सय विद्यार्थी भर्ना भइसक्दा नसक्दै चोक बजारको कोरियन भाषा प्रशिक्षण केन्द्रमा पाँच हजारको भर्ना नाघिसकेको हुन्छ ।अब हामी मरब क्याम्पस भर्ना होऔँ कि, कोरियन भाषा कक्षामा ?’

सदरमुकामकै हेरिटेज नेसनल एकाडेमीमा अध्ययनरत रोहिणी गुरुङको प्रश्न थियो ‘प्यानलिस्ट’मा बसेका इलाम नगरपालिकाका मेयर केदार थापालाई। र, उनले सुनाउनु थियो मेयरसँगै बसिरहेका संघीय सरकारका प्रतिनिधि सिडिओ श्रवणकुमार पोख्रेल अनि इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौडेलसमेतलाई।

रोहिणीको प्रश्नले प्यानलिस्टमात्र होइन, युवा दिवस–२०२३ अवसरमा इलाम चियाबारीबीचमा आयोजित साझा सवाल बहसमा सहभागी सबैलाई गम्भीर बनायो। उनको प्रश्नमा सहभागीसमेत छटपटिए। सहभागीले उनको प्रश्नमा समर्थनको ताली बजाए र जबाफको प्रतीक्षामा रहे। रोहिणीको प्रश्नमा मेयर थापाले नगरले सञ्चालन गरिरहेका विकासे योजना, ती योजनामा युवा रोजगारी लगायत विषय जोडेर जबाफ दिने कोसिस गरे। तर, रोहिणी मात्र होइन, स्वदेशमै रोजगारी नपाएर विदेश भौँतारिन बाध्य हजारौँ नेपाली युवाको साझा पीडा अधिकतर प्रश्नकर्ताले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा पोखिरहे।

अहिले इलामका गाउँ–गाउँमा वैदेशिक रोजगारीमा नगएका युवाको परिवार बिरलै भेटिन्छ। कृषिले समुन्नत, पर्यटन र प्रकृतिमा धनी कहलिएको इलामका हजारौँ युवा खाडी र अन्य मुलुकमा रोजगारीका लागि गइरहेका छन्। कोरियन भाषा र सिप सिकेर वैदेशिक रोजगारीमा जान खोज्ने युवाको हुल इलाम बजारमा बिहानदेखि बेलुकासम्म थामिनसक्नुको देखिन्छ।

वैदेशिक रोजगारीमा जान राहदानी बनाउने भिड जिल्ला प्रशासनमा उस्तै छ। यही अवस्थाको प्रतिनिधित्व गर्दै रोहिणीले राखेको जिज्ञासामा मेयर थापाले दिएको जबाफ जबाफका लागि सन्तोषजनक भए पनि युवालाई गाउँमै टिकाउने ठोस योजना भने कुनै पनि तहका सरकारको देखिँदैन। तर, सबैजसो राजनीतिक दल र तिनका नेताको चुनावी घोषणापत्र हेर्ने हो भने अरू विषय छुटिहाले पनि छुट्दै नछुटेको विषय चाहिँ युवा रोजगारी नै हुन्छ।

रोहिणी र अधिकतर प्रश्नकर्ताको जिज्ञासाले युवामा भरिएको निराशा, बेरोजगारी, कुण्ठा र गन्तव्यहीन यात्राको प्रतिनिधित्व गरेको छ। उनीहरूले स्थानीय सरकार र उद्योग वाणिज्य संघले युवा रोजगारी तथा उनीहरूलाई दक्ष बनाउन, स्वदेशमै टिकाउन के–के योजना ल्याएको छ भन्नेसम्मका प्रश्न तेर्स्याए। कार्यक्रममा सहभागी अर्का युवक भन्छन्, ‘देशको राजनीतिक अवस्थाले युवालाई निराश बनाएको छ, तीनै तहका सरकारले युवालाई देशमै टिकाउने खालका कार्यक्रम ल्याउन ढिलो भइसकेको छ।’

जबाफमा संघ अध्यक्ष पौडेलले निजी क्षेत्रले पनि रोजगारी सिर्जनाका कार्यक्रम ल्याएको र नयाँ योजनासमेत ल्याउन खोजिरहेको बताए। ‘अहिले पनि कतिपय क्षेत्रमा काम गर्ने मान्छे अभाव छ तर सरकारी र निजी क्षेत्रले लगानी गरेर कुनै तालिम दियो भने दक्ष भएपछि पनि वैदेशिक रोजगारीमै पुगिहाल्ने अवस्था अहिले पनि छ,’ उनले भने, ‘आफूले सिकेको सिप युवाले स्वदेशमै प्रयोग गरौँ, यहीँ मेहनत गर्ने हो भने पनि हामीले भविष्य बनाउन सक्छौँ।’

त्यस अवसरमा चेतना नाट्य समूहका कलाकारले देशमा युवा र रोजगारीको अवस्था समेटेर सडक नाटकसमेत प्रस्तुत गरे। नाटकमा पनि राजनीतिदेखि कृषि क्षेत्रसम्ममा काम गर्ने युवा निराश भएर विकल्प खोज्न बाध्य भएको अवस्था उतार्न खोजिएको छ। समूह अध्यक्ष सुरेश पोर्तेलले देशको कृषि उपज विक्री नहुनु, उत्पादित वस्तुको बजार भारतको निगाहमा चल्नु, देशभित्र लगानीको वातावरण नबन्नुले युवालाई निराशा, कुलत र डिप्रेसन हुँदै आत्महत्यासमेतको अवस्थामा धकेलिरहेको बताए।

‘युवाका लागि सिर्जनात्मक र आकर्षक कार्यक्रम सञ्चालन नगर्ने हो भने केही वर्षभित्र देशमा युवाको संख्या शून्य हुने खतरा नहोला भन्न सकिन्न,’ उनले भने, ‘यो समस्या समाधानका लागि हामी युवाले पनि अरूको मुख मात्र ताक्ने होइन, आफैं पनि जागरूक हुनुपर्छ।’

सिडिओ पोख्रेलले युवा शारीरिक र मानसिक रूपमा स्वस्थ हुनु आवश्यक रहेको बताए।उनले विदेशको सपना नबोक्न र स्वदेशमै सफल हुने प्रयास गर्न युवालाई हौस्याए। 

प्रकाशित: ३० श्रावण २०८० १०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App