७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

किन आयो मुस्ताङमा बाढी ?

वर्षाका लागि छाया क्षेत्र मानिने मुस्ताङ र मनाङमा एकपछि अर्को गर्दै भारी वर्षा र बाढी आउन थालेपछि यसको कारण खोजी हुन थालेको छ। यो जलवायु संकटजन्य परिस्थिति हो वा अन्य भन्ने विषयमा केही विशेषज्ञका मत बाझिएका छन्। मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिर जाने बाटोमा पर्ने पर्यटकीय एवं महत्वपूर्ण धार्मिक क्षेत्र कागबेनीमा आइतबार राति आएको बाढीले वितण्डा मच्चाएपछि फेरि यो विषयले विशेषज्ञको ध्यान तानेको छ।

दुई दिन लगातार परेको वर्षाका कारण मुक्तिनाथ क्षेत्रबाट कागखोलामा आएको बाढीले घर, होटल, मन्दिर, आश्रम, विद्यालय तथा प्रहरी चौकीसमेत गरी ३१ संरचना नष्ट भएका छन्। यो घटनाले दुई वर्षअघि मेलम्चीमा आएको बाढीले हेलम्बुमा गरेको क्षतिको स्मरण गराएको छ। त्यसो त मेलम्चीमा अहिले पनि बाढी आइरहेको छ तर बाढीले यसअघि नै क्षति गरिसकेका कारण थप क्षति भएको छैन। ‘यो सानो खोला हो तर यही खोलाको बाढीले कागबेनी गाउँ बगर बनेको छ। यो दुःखद र असामान्य घटना हो,’ सोमबार बिहान टिकटकमा घटनास्थलको प्रत्यक्ष प्रसारण गरिरहेका स्थानीय विकल गुरुङले भनेका छन्।  

समयमै सूचना प्राप्त भएकाले मानवीय क्षति नभए पनि बाढीले गरेको आर्थिक क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ। उच्च हिमालले बादल छेक्दा हिमालपारिका जिल्ला मानिने मुस्ताङ र मनाङमा कम वर्षा हुने भएकाले यो क्षेत्रलाई वृष्टि छाया क्षेत्र (रेनस्याडो एरिया) मानिन्छ। यी जिल्लामा भीषण पानी र बाढी जाने घटना बिरलै र अनपेक्षित हुन्छन् तर पछिल्ला वर्षहरूमा यो क्षेत्रमा भीषण पानी पर्ने र बाढी जाने प्रवृत्ति (फिक्वेन्सी) बढेको छ। दुई वर्षअघि मुस्ताङको छिमेकी जिल्ला मनाङमा आएको भीषण वर्षाले ठुलो क्षति पु¥याएको थियो।  

जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार बाढी आउनुअघिको २४ घण्टामा त्यो क्षेत्रमा २५ मिलिमिटर पानी परेको थियो, जुन क्षेत्रमा पर्ने पानीको हिसाबमा यो सरदरभन्दा माथि हो। विभागको बाढी पूर्व सूचना महाशाखाले सोमबार जारी गरेको बुलेटिनमा माथिल्लो तटीय क्षेत्रमा पहिरोले कागखोला थुनिएर पानी जम्मा भई ताल भएपपछि त्यो फुटेको र त्यसले गर्दा एक्कासि गेग्रान बहाव (डेब्रिस फलो) भई लेदोसहितको बाढी आएको उल्लेख गरिएको छ।

यो प्रवृत्तिबारे अहिल्यै ठोकुवा गर्न सकिने स्थिति छैन। भौगर्भिक हिसाबमा कालीगण्डकी उपत्यका कसरी बन्यो भन्ने विषयमा विद्यावारिधि गरेका विपद् विज्ञ डा. वसन्त अधिकारी यो घटनालाई जलवायु परिवर्तनको कारण नै हो भनेर यकिनका साथ भन्न त्यति सजिलो नभए पनि यो स्तरमा पानी पर्नु र बाढी आउनु ‘बिरलै किसिमको घटना’ भएको ठान्छन्। घना वर्षालाई मुस्ताङको फुसफुसे माटोले थेग्न नसक्ने, वर्षाको मात्रा बढ्दा यो बगेर जाने र यसले प्रवाह गर्ने गेग्रानले क्षति गर्ने उनको तर्क छ। इसिमोडको जलवायु वैज्ञानिक अरूणभक्त श्रेष्ठ पनि यसलाई असामान्य घटना मान्छन्। ‘वृष्टि छाया क्षेत्रमा यति ठुलो स्तरमा पानी पर्नुलाई सामान्य मान्न सकिँदैन’, उनी भन्छन्।

उता, जलवायुविज्ञ नमिन्द्र दाहाल यसका लािग विश्व तापमान बढ्नु प्रमुख कारण रहेको मान्छन्। पछिल्ला वर्षहरूमा ट्रान्स–हिमालयन क्षेत्रमा इतिहासमै पहिलोपटक अनपेक्षित वर्षा हुन थालेको चर्चा गर्दै उनी भन्छन्, ‘वायुमण्डलमा तातोपना बढ्दा यसले मनसुनी हावालाई माथि धकेलेका कारण हिमालपारि पुगेको बादलले यस प्रकारको अतिवृष्टि गराएको हो।

औद्योगिक क्रान्तिअघिको तुलनामा पृथ्वीको तापक्रम १.२ डिग्रीले बढिसकेको छ। यसको प्रभाव हिमाली क्षेत्रमा झन् बढी पर्ने गरेको वैज्ञानिक आकलन छ। दाहालले तर्क गरेझैं वैज्ञानिक जर्नल नेचरमा प्रकाशित एक अध्ययनले हरेक डिग्री सेल्सियस तापमान वृद्धिले उच्च हिमाली क्षेत्रमा १५ प्रतिशतले अत्यधिक वर्षाको सम्भावना बढ्ने देखाएको थियो। सन् १९५० यताको वर्षा र हिउँ मापनका आधारमा कम्प्युटर सिमुलेसन गरेर भविष्यमा हुन सक्ने जलवायु परिवर्तनको समीक्षा गर्दा वैज्ञानिकहरूले त्यस्तो सम्भावना देखेका हुन्। हिउँको ठुलो मात्राभन्दा उच्च पहाडी भूभागमा हुने भारी वर्षाले बाढी, पहिरो र भूक्षय निम्त्याउने वैज्ञानिक ठहर छ। ‘यो दूर भविष्यमा आउन सक्ने समस्या होइन, पछिल्ला दशकका तथ्यांकले यो तत्काल भइरहेको घटना प्रमाणित गरेका छन्,’ नेचर जर्नलमा वैज्ञानिकहरूले भनेका छन्।

अब के गर्ने ?

उच्च हिमाली क्षेत्रमा अत्यधिक वर्षा र बाढीले प्रवाह गर्ने थेग्रानका कारण कुनकुन क्षेत्रमा असर पर्न सक्छ भन्ने विषयमा अध्ययन हुन आवश्यक रहेको डा. अधिकारी ठान्छन्। सरकारले राष्ट्रिय भूउपयोग नीति र तदनुरूप जारी नक्सांकन (म्यापिङ) लाई कडाइका साथ कार्यान्वयन नभएको प्रसंग उधृत गर्दै उनले भने, ‘बाढीको जोखिम रहेका नदीकिनारमा घर बनाउन तत्काल रोक लगाउनुपर्छ।’ यसैगरी नेपाल सरकारले जारी गरेको जलवायुजन्य हानि–नोक्सानीसम्बन्धी राष्ट्रिय ढाँचा–२०२१ ले पनि विकास परियोजना, सहरी योजना तथा बस्ती विकासमा भविष्यमा पर्ने विपत्को सम्भावना र जोखिमलाई मध्यनजरमा राख्नुपर्नेमा जोड दिएको छ। ‘भविष्यमा आइपर्ने सम्भावित भवितव्यलाई सम्बोधन गर्ने कार्य तथा परिवर्तनकारी एवं सक्रिय अनुकुलनमार्फत मानवीय तथा पूर्वाधार क्षेत्रको रक्षा हुन सक्छ। मुख्य रूपमा जोखिम नक्सांकन नगरीकन कुनै पनि संचरना बनाउन दिनुहुँदैन,’ जलवायु विज्ञ डा. विमल रेग्मी भन्छन्।

कृष्णसागर, झोङखोला मुक्तिनाथ खोलाको नामले चिनिने कागखोलामा आएको बाढीले गरेको क्षतिले ठूलो पाठ पढाएको ठान्छन् जोमसोमकै वासिन्दा एवं वातावरणविद् डा. शैलेन्द्र थकाली। ‘भन्दा क्लाइमेट स्मार्ट नीति, विकास, जलवायु उत्थानशील विकास भन्ने गरिएको छ, तर स्थानीय स्तरमा यसको कार्यान्वयन हुन सकेको छैन’, थकाली भन्छन्, ‘यस्तो हेलचक्र्याइँ भइरहेसम्म यस्ता दुखद अवस्था दोहोरिरहन्छन्।’

प्रकाशित: ३० श्रावण २०८० ०१:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App