१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

अवरुद्ध बेसीशहर-चामे सडक खुल्यो

बाढी पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध बेसीशहर–चामे सडक सञ्चालन भएको छ। 

बेसीशहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै आज बिहान १० बजेदेखि सवारीसाधन सञ्चालनमा आएको डुम्रे बेसीशहर चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ।

केही दिनको निरन्तर वर्षाले आइतबार बिहान यस सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिकामा पर्ने राम बजार, घोप्टे, च्याम्चे, रैदुखोला लगायतका स्थानमा अवरुद्ध भए पनि साँझ नै सडक खुलाइएको थियो। 

खरखरेमा पानीसहित ठूलाठूला ढुङ्गासहितको पहिरो आएको र डोजरले खोतल्दा झन् पहिरो जान थालेपछि सडक खुलाउन सकिएको थिएन। तर आज बिहान पानी रोकिएपछि सडक खुलाइएको कार्यालयका इन्जिनियर पुरुषोत्तम अधिकारीले जानकारी दिए।

उनले पहिरोको जोखिम भने अझै रहेको बताए। यस सडकमा दैनिक ३० देखि ४० वटा सवारी साधन आवतजावत हुने गरेका छन्। लमजुङ र मनाङ जोड्ने एक मात्र सडक अवरुद्ध हुँदा बढी मर्का मनाङवासीलाई पर्दै आएका छन्।

प्रकाशित: २९ श्रावण २०८० ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App