२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

लागुऔषधको प्रयोग चिन्ताजनक रुपमा बढ्दै

जुम्लामा लागु औषधको प्रयोग चिन्ताजनक रूपले बढ्दै गएको छ। पछिल्लो समय सडक सञ्जालको सहजताका कारण लागु औषध सहजै जुम्ला भित्रिने गरेको छ।

ब्राउन सुगर लगायतका लागूपदार्थ प्रयोग गर्ने कलिलो उमेरका किशोर किशोरीदेखि युवाहरूको संख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ।

पछिल्लो समय सुर्खेत नेपालगन्ज बजारबाट ब्राउन सुगर लगायतका लागु पदार्थ ल्याएर बिक्री गर्ने गिरोह सक्रिय देखिन्छन्। उक्त गिरोहका सिकार यहाँका किशोर किशोरी हुने गरेका छन् 

लागु पदार्थको कारोबारमा संलग्न गिरोहमा बढी युवा विद्यार्थीहरूको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालयको तथ्ङकले देखाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यमबहादुर बुढामगर सुर्खेत र नेपालगन्जबाट बढी मात्रामा लागु औषध भित्रिने गरेको बताउँछन्।

आर्थिक वर्षको तथ्याङ्क हेर्दा जुम्लामा लागु औषध सेवनकर्ता तथा कारोबार गर्नेको संख्या बढेको देखिन्छ। विगत दुई आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा दोब्बरले लागु औषध सेवन तथा बिक्री गर्नेको संख्या बढेको देखिएको हो।

आर्थिक वर्ष २०७७/०७८ मा ५ र २०७८/०७९ मा ७ वटा मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष २०७९/०८० मा १२ वटा मुद्दा दर्ता भएका छन्। विगत दुई आर्थिक वर्षको तथ्याङ्कलाई तुलना गर्दा गत आर्थिक वर्षमा उक्त संख्या दोब्बरले बढेको छ।

आर्थिक वर्ष २०७७/०७८ मा जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषधका ५ वटा मुद्दा दर्ता गरेको छ। पाँच वटा मुद्दा मध्ये ब्राउन सुगरका ४ र १ वटा चरेशको मुद्दा दर्ता भएको सूचना अधिकारी बुढामगरले बताए।

६ सय ८० मिलि ग्राम ब्राउन सुगर र १ सय ४ ग्राम चरेश बरामद भएको उनको भनाइ छ। २ जना महिला र २ जना पुरुष अहिले पनि फरार अवस्थामा छन्। लागु औषध सेवन तथा कारोबार गर्ने १८ देखि ४० वर्ष उमेर समूहका बढी रहेका छन्। १८ वर्ष मुनिका १ जना र बाँकी १५ जना १८ देखि ४० वर्ष उमेर समूहका बढी छन्।

यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ७ वटा मुद्दा दर्ता भएको उनले बताए। उक्त मुद्दामा १८ वर्ष मुनिका २ जना र १८ देखि ४० वर्ष सम्मका १२ जना छन्। उनले चरेश ७६.६ सय २० ग्राम, ब्राउन सुगर १ सय ५ मिलिग्राम र ट्रमाडोल र कोलोनोजेपाम २ सय ४१ पिस बरामद गरिएको बताए।

यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा १२ वटा मुद्दा दर्ता भएका छन्। १२ वटा मुद्दाका ३० जना मध्ये महिला १ जना छन्। अरू सबै पुरुष हुन। ७ जना फरार रहेका छन्। ३० जना मध्येबाट चरेश २ ग्राम १ सय ९० मिलिग्राम, ब्राउन सुगर १३ ग्राम ९३ मिलिग्राम, गाँजा १५ ग्राम ८२ मिलि ग्राम र नाईट्राभेट ट्याब्लेट ३४ वटा बरामद भएको छ।

हालसम्म लागु औषधको मुद्दामा एक जना मात्रै दोहोरिएको सूचना अधिकारी बुढामगरले जनाए। उनका अनुसार पछिल्लो समयमा ट्रमाडोल नामक ट्याब्लेट प्रयोग गर्नेको संख्या बढी छ। भारतको रुपडिया नाकाबाट सहजै उक्त ट्याब्लेट आउने भएकाले नेपाली बजारमा रहेको मेडिकहरुबाट किनेर सेवन गर्नेको संख्या बढी रहेको पाइन्छ।

जुम्लामा पनि यो ट्याब्लेट प्रयोग गर्नेहरुको संख्या बढ्दो अवस्थामा छ। लागु औषधको बढ्दो प्रयोग समाज र सबैका लागि ठूलो चुनौती र चिन्ताको विषय बनिसकेको महत बताउँछन्।

कर्णाली राजमार्ग अन्तर्गतका विभिन्न नाकामा व्यापक रुपमा लागु पदार्थ भित्रिरहेकोले प्रहरीले सीमामा निगरानी राख्नु पर्ने देखिन्छ। लागु औषध नियन्त्रण ऐन, २०३३ को परिच्छेद ३ मा भएको व्यवस्था अनुसार गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजारसम्म जरिवानाको व्यवस्था गरेको छ।

२५ वटा बोटसम्म गाँजा खेती गर्ने व्यक्तिलाई तिन महिना कैद वा तिन हजारसम्म जरिवाना र पच्चीस बोट भन्दा बढी गाँजा खेती गर्ने व्यक्तिलाई तिन वर्षसम्म कैद वा पाँच हजार देखि पच्चीस हजार सम्म जरिवाना हुने उल्लेख छ।

यस्तै बारम्बार अपराध गर्नेलाई थप सजाय हुने पनि उक्त ऐनमा व्यवस्था छ। एक पटक सजाय पाईसकेको व्यक्तिले पुन अपराध गरेमा थप पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने लेखिएको छ। 

प्रकाशित: २८ श्रावण २०८० १६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App