पर्यटकीय नगरी सौराहा हात्ती सफारीका लागि परिचित छ। यहाँ हात्ती चढ्नकै लागि पर्यटकहरू आउने गर्दथे। आजभोलि विगत जस्तो छैन। हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या क्रमशः घट्दै गएको छ।
कोभिड-१९ महामारीपछि सौराहा आउने ३० प्रतिशत पर्यटक मात्र हात्ती सफारी गर्ने गरेको रेवान सौराहाका पूर्व अध्यक्ष गोकर्ण गिरीले बताए।
‘विगतमा हात्ती चढ्नकै लागि पर्यटक सौराहा आउँथे। ९० प्रतिशत विदेशी पर्यटकले हात्ती सफारी गर्दथे। हिजोआज सौराहा आएकामध्ये २५ प्रतिशत मात्र हात्ती चढ्छन्। स्वदेशी पर्यटक पनि घट्दै छन्।
विगतमा ८० प्रतिशतले हात्तीमा चढेर जंगल सफारी गर्दथे, अहिले ३० प्रतिशतमा झरेको छ’, गिरीले हात्ती सफारीको भविष्य सुनाउँदै भने, ‘विश्वमा पशु अधिकारका कुरा पनि उठेकाले यसको असर सौराहामा देखिएको छ।’
हात्ती सफारी गर्ने पर्यटक घटेसँगै हात्तीको संख्या पनि गिरीले घटाएका छन्। उनका २ हात्ती थिए। एउटा हात्ती भारतमा फिर्ता गरिसकेका छन्।
सौराहाका व्यवसायीले व्यापार हुन छाडेपछि हात्ती घटाउँदै लगेका छन्। नगेन्द्र चापागाईले हात्ती पाल्न नसकेपछि तीनवटाबाट एउटामा झारेको बताए। ‘गाडी राखेपछि पेट्रोल लाग्दैन तर हात्ती पालेपछि व्यापार नभए पनि खुवाउनै पर्यो’, हात्ती पाल्दाका समस्या सुनाउँदै उनले भने, ‘मासिक खर्च धान्न नसकेपछि भारतबाट ल्याइएका २ वटा हात्ती फिर्ता गरें।’
उनका अनुसार एउटा हात्ती पाल्न मासिक डेढ लाखदेखि २ लाखसम्म खर्च हुन्छ। एउटा हात्तीका लागि २ जना कामदार राख्नुपर्छ तर आम्दानी भने १ लाख पनि नहुने बताए।
तीन वर्ष अघिसम्म यहाँ हात्ती पनि थुप्रै देखिन्थे, तर पछिल्लो समयमा सौराहामा विगत जस्तो हात्तीको चाप छैन। २०७७ सालसम्म निजी हात्ती सयभन्दा बढी रहेकोमा अहिले ५० वटामा सीमित छ।
‘सौराहाबाट हात्ती विस्थापित हुने चर्चा भइरहेको छ’, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले भने, ‘प्रत्येक वर्ष यहाँ हात्ती घटिरहेका छन्।’
कोरोनापछि हात्तीको संख्या ह्वात्तै घटेको उनी बताउँछन्। चितवनमा सरकारी र निजी हात्ती गरी १ सय १० हात्ती छन्। त्यसमध्ये जिल्लामा सरकारी ६० वटा हात्ती छन्। युनाइटेड हात्ती सञ्चालन सहकारीमा ३०, सपना भिलेजमा ८, ओम रिजालका ८ र विदेशी नागरिकका ४ हात्ती रहेको खतिवडाले बताए, तर सन् २०२० सम्म युनाइटेड सहकारीको मात्रै ५६ हात्ती थिए। त्यसयता २७ हात्ती भारत फिर्ता भएको उनले बताए।
व्यवसायीले भारतमा बिक्री गरे पनि कानुनले नपाइने हुँदा फिर्ता गरेको भन्ने गर्दछन्। हात्तीको चहलपहल नहुँदा सौराहाको पर्यटनमा समेत असर गरेको उनले बताए। ‘सौराहा आउने ९० प्रतिशत हात्तीको गतिविधि अवलोकन गर्न आउँछन्। कोही छावासँग खेल्छन्। कोही सफारीमा जान्छन्’, उनले भने, ‘तर हात्ती घट्दै गएपछि पर्यटनमा ठूलो घाटा छ।’ कोभिडपछि यहाँका व्यवसायीले हात्ती थपेका छैनन्।
हात्ती सफारीबाट सामुदायिक वनहरूले आम्दानी गरेका थिए। यहाँका व्यवसायीलाई फाइदा पुगेको थियो। हात्तीलाई दैनिक ३ क्विन्टलको हाराहारीमा खाद्यान्न आवश्यक पर्छ।
त्यसैगरी २ सय लिटर पानी खान्छ। हात्तीको लागत घटाउन निकुञ्जले घाँस ल्याउन दिनुपर्ने व्यवसायीले बताउँदै आएका छन्।
हात्ती लोपोन्मुख जनावर हो। सरकारले यसलाई किनबेच गर्न रोक लगाएको छ। यद्यपि व्यवसायी ८० देखि १ करोडसम्ममा यसको किनबेच गर्दछन्। पर्यटन क्षेत्रको विकासका लागि हात्तीको धेरै महत्व छ। विस्थापित हुन लागेका हात्तीको संरक्षण गर्न राज्यसँग उनले आग्रह गरे। ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली २०७६ समेत आइसकेको छ। यसले हात्ती ओसारपसार र बिक्रीमा रोक लगाइदिएको छ’, उनले भने, ‘निजी हात्तीको संरक्षणमा राज्यले पनि सहयोग गर्नुपर्छ।’
उनले हात्ती दर्ता प्रक्रियामा लैजानुपर्ने बताए। चितवनमा २०३६ सालदेखि व्यावसायिक रूपमा हात्ती सफारी हुँदै आएको थियो। त्यतिखेर यहाँका व्यवयासीले भारतबाट हात्ती भाडामा लिएर सफारी गर्दै आएका थिए। पछि विस्तारै व्यवसायीले हात्ती नै खरिद गरेका थिए, तर पछिल्लो समय सौराहामा पर्यटन गतिविधि कम हुँदा हात्तीको संख्या कम हुँदै गएको हो।
यहाँका व्यवसायीले पाल्न नसकेपछि भारतमा लगेर हात्ती बेच्ने काम समेत गरे। तीनवटा हात्ती भारत बेच्दै गर्दा सरकारले फिर्ता समेत गरेको थियो। नेपालमा जंगली र घर पालुवा गरेर ७ सयको हाराहारीमा हात्ती रहेको अनुमान छ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन हात्ती संरक्षणमा चुनौती रहेको बताउँछन्। मानव र हात्तीबीचको द्वन्द्व न्यूनीकरण आवश्यक रहेको उनी बताउँछन्। अहिले नेपालमा हात्ती दर्ता गरेर पाल्ने चलन छैन। उनीहरूलाई दर्ता गरेर सञ्चालन गर्ने वातावरण मिलाउन लागेको उनले बताए।
प्रकाशित: २८ श्रावण २०८० ०८:०७ आइतबार