२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सडक भासिंदा पौवादुङवासीको दैनिकी कष्टकर

वर्षात्का कारण पहिराले सडक भासिंदा तिवारीभञ्याङ-मानेडाँडा-अँधेरीघाट सडक अवरुद्ध बनेको छ। मध्यपहाडी लोकमार्गको भोजपुर–लेगुवा सडकखण्डअन्तर्गत तिवारीभञ्याङबाट अँधेरीघाट छुट्ने शून्य विन्दुमा सडक भासिएका कारण यातायात सञ्चालनमा समस्या भएको हो।

मध्यपहाडी लोकमार्गसहित अँधेरीघाटतर्फ छुट्ने स्थानमा करिब दुई सय मिटर सडक भासिएको पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए।

प्रवेशद्धारमै सडक भासिंदा गाउँपालिकावासीको दैनिकी कष्टकर बनेको उनको भनाइ छ। पहिराका कारण सडक भासिंदा दुई करोड रुपैयाँ बढीको क्षति भएको उनले बताए।

‘सडक भासिंदा यातायात सञ्चालनमा समस्या भएको छ’, उनले भने, ‘अँधेरीघाट प्रवेश गर्ने मुख्य स्थानमा करिब दुई सय मिटर सडक भासिएको छ। सडक भासिंदा यातयात सञ्चालनमा समस्यासँगै स्थानीयमा जोमिख बढेको अवस्था छ। पहिराले यहाँ दुई करोड रुपैयाँ बढीको क्षति भएको देखिन्छ।’

सरोकारवाला पक्षको उपस्थितिमा यहाँको स्थलगत अनुगमन गरेर क्षतिको विवरण सम्बन्धित निकाय पठाउने काम गरिएको प्रशासकीय अधिकृत भट्टराईले बताए।

तिवारीभञ्याङ-मानेडाँडा-अँधेरीघाट सडकमा क्षति भएको विषयमा कार्यकापालिका बैठक बसेर पुनःनिर्माणका लागि संघीय र प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय गरिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए।

गाउँपालिका केन्द्र हुँदै अँधेरीघाट जोड्ने मुख्य सडक अवरोध भएकाले संघीय सरकारको पनि यसमा ध्यान जानुपर्ने अध्यक्ष राईको भनाइ छ।

‘क्षतिका विषयमा संघीय सरकारलाई जानकारी गराएका छौं’, उनले भने, ‘यहाँको क्षतिलाई स्थानीय सरकारको बजेटले गर्न सक्ने अवस्था छैन। पहिराका कारण सडक अवरोधले स्थानीयको दैनिकी कष्टकर बन्दै गएको अवस्था छ।यसमा राज्यले ध्यान दिन आवश्यक छ।’

सडक अवरोध हुँदा पौवादुङमा गाउँपालिकाका छमध्ये पाँच वडामा यातायात सञ्चालनमा समस्या भएको उनको भनाइ छ।

सडकका कारण यहाँका वडा नं २ तिवारीभञ्याङ, वडा नं ३ च्याङ्ग्रे, वडा नं ४ बास्तिम, वडा नं ५ सानोदुम्मा र वडा नं ६ ठूलोदुम्माका नागरिक प्रत्यक्ष समस्यामा परेको अध्यक्ष राईले बताए।

‘सडक अवरोध हुँदा गाउँपालिकाका अधिकांश क्षेत्रमा यातायात सेवामा समस्या भएको छ’, अध्यक्ष राईले भने, ‘पहिरो जाने क्रम जारी छ। यसले अझ बढी क्षति गर्ने अवस्था छ। यो सडकका लागि हालसम्म केन्द्र र प्रदेश सरकारबाट पनि कुनै सहयोग आएको अवस्था छैन।’

सडक भासिएको स्थानको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्थलगत अनुगमन गरेका छन्।

यातायात सञ्चालनमा समस्या रहेकाले भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयमा सडक चाँडो मर्मत गर्न जानकारी समेत गराएका छन्।

सडक भासिएको ठाउँको भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेसहितको टोलीले पनि स्थलगत अनुगमन गरेको छ।

उक्त ठाउँमा थप क्षति हुनबाट बँचाउन सडक डिभिजन कार्यालय तुम्लिङटार र पूर्वाधार विकास कार्यालय भोजपुरलाई आवश्यक पहल गर्न पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ। तिवारीभञ्याङ-मानेडाँडा-अधेँरीबाट पञ्चकन्या कृषि सडकको दूरी करिब ३५ किलोमिटर रहेको छ।  

प्रकाशित: २८ श्रावण २०८० ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App